डडेल्धुरा- स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँगाउँमा नेता तथा जनप्रतिनिधि मतदाता भेटघाटमा व्यस्त छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि चुनावी सरगर्मी बढेको छ। यहाँ सात स्थानीय तह र ५२ वडा छन्। यहाँका अधिकांश जनप्रतिनिधि यसपटकको स्थानीय चुनावमा पुनः लड्ने सोचका साथ गाउँघरमै चुनावी अभियानमा केन्द्रीत छन्।
२०७४ सालको स्थानीय तह चुनावमा सातमध्ये चार स्थानीय तहमा जित हात पारेको कांग्रेसले अहिले ती तहमा आफ्नो उम्मेदवार बलिया रहेको दाबी गरेको छ। कांग्रेसले जितेको सबैभन्दा ठूलो स्थानीय तह परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउद कांग्रेस डडेल्धुराको सभापति भएका छन्। आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सार्वजनिक रुपमा उनले केही बताएका छैनन्। तर, उनी निकट नेताहरुले साउद पुनः दोहोरिने पक्षमा रहेको बताउँछन्।
‘क’ वर्गका निमार्ण व्यवसायी साउदले मेयर हुने इच्छा व्यक्त गरे पनि उनीमाथि नगरको विकासमा समय नदिएको आरोप लाग्ने गरेको छ। यस्तो आरोपकाबीच उनी उम्मेदवार बन्न नलाग्ने अन्य आकांक्षीहरुको अनुमान छ। तर, अझै पनि परशुराममा उनी कांग्रेसका तर्फबाट बलिया उम्मेदवार रहेको स्रोत बताउँछ। टिकट उनले अरुको तुलनामा सहज रुपमा लिन सक्ने कांग्रेसका स्थानीय नेताहरुको अनुमान छ।
त्यस्तै अर्को स्थानीय तह गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्ल पनि दोहरिने पक्षमा छन्। कांग्रेसबाट निर्वाचित उनी स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँ केन्द्रीत कार्यक्रमहरुमा व्यस्त छन्। प्रधानमन्त्री देउवाको गृहपालिका समेत रहेको गन्यापधुरामा फेरि निर्वाचन लड्ने पक्षमा आफू रहेको उनले बताए। ‘म फेरि एक पटक अध्यक्ष लड्ने हो, गाउँमै छु’ उनले भने। तर, उनलाई डडेल्धुरा कांग्रेसको विवादको असर पर्ने देखिन्छ।
आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ पनि एक पटक फेरि पालिका अध्यक्ष बन्ने प्रयासमा रहेको स्रोतले बताएको छ। तर, उनले यसबारे केही बोलेका छैनन्। बिरामी भएकाले अहिले आफू केही नबाल्ने बताउँदै आएका छन्। गाउँ केन्द्रीत कार्यक्रममा व्यस्त रहेकै समयमा उनी काठमाडौंमा छन्। उनी टिकटकै लागि काठमाडौ गएको उनी निकट नेताको दाबी छ।
पूर्वजिल्ला सभापति रघुवर भट्टकी छोरी भागेश्वर गाउँपालिका अध्यक्ष कौशीला भट्ट भने अहिले चुनाव लड्ने पक्षमा आफू नरहेको बताउँछिन्।गाउँपालिका अध्यक्षमा कांग्रेसबाट भट्ट विजयी भए पनि एमालेले गाउँपालिका चलाएको आरोप कांग्रेसका अन्य नेताहरुले लगाउँदै आएका छन्।पार्टी भित्रको विवादले यस पटक उक्त स्थानीय तहमा कांग्रेसका उम्मेदवारलाई सहज भने छैन।
एमालेले जितेको दुई स्थानीय तहः अध्यक्ष र उपमेयर समाजवादीमा
जिल्ला सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकासहित २०७४ सालको निर्वाचनमा एमालेले दुई स्थानीय तहमा जित हासिल गरेको थियो।एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा जितेको थियो।
अमरगढी नगरपालिकाका मेयरमा विजयी विशेश्वरप्रसाद ओझा र उपमेयर संगीता भण्डारी दुवै एमालेका हुन्। मेयर ओझा फेरि निर्वाचन लड्ने पक्षमा छन्। उनले पार्टी भित्र टिकटका लागि लबिङ थालेका छन्। उपमेयर भण्डारीले भने एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी रोजेकी छन्।
एमालेबाट निर्वाचत बहुमत वडा अध्यक्ष तथा सदस्य भने एमालेमै छन्। मेयर ओझा पनि एमालेका बलिया उम्मेदवारका रुपमा छन्।
त्यस्तै नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट पनि एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन्। उनी पनि फेरि गाउँपालिका अध्यक्षको दौडमा छन्। विष्टलाई बलिया उम्मेदवारको रुपमा लिइएको छ। यस क्षेत्रमा एमालेले जितेको वडाका अध्यक्षहरुले एकीकृत समाजवादी रोजेका छन्।
अजयमेरुमा माओवादी
२०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले ६ वडामध्ये ५ वडा अध्यक्षसहित अजयमेरु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो। अध्यक्ष उमेशप्रसाद भट्ट र उपाध्यक्ष कलावती भाण निर्वाचित भएका थिए। अध्यक्ष तथा अहिलेका माओवादी केन्द्र डडेल्धुरा संयोजक भट्ट फेरि गाउँपालिका अध्यक्ष लड्ने तयारीमा छन्।
कार्यसम्पादनमा देशकै पहिलो बनेको अजयमेरु गाउँपालिकाको नेतृत्वमा दोहोरिन उनले केही समय पहिलेबाटै घरदैलो गरिरहेका छन्। माओवादीबाट उक्त गाउँपालिका अध्यक्षको आकांक्षा राखिएका गाउँपालिका प्रवक्ता शिवराज भट्टले फेरि वडा नम्बर–२ कै अध्यक्षको उम्मेदवार बन्ने समाजिक सञ्जालमार्फत घोषणा गरेपछि भट्ट नै गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चितजस्तै देखिएको माओवादी केन्द्रका नेताहरुको भनाइ छ।
तर, सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएकाले कुनै पनि दलले उम्मेदवार टुंगो लगाउने अवस्था भने बनिसकेको छैन। केन्द्रले तालमेलको निर्णय गरेकाले त्यसविरुद्ध अभिव्यक्ति नदिन यहाँका गठबन्धनका दलहरुले निर्णय नै गरेका छन्।
डडेल्धुराका ५२ वडा अध्यक्षहरुमध्ये धेरै जसो फेरि दोहोरिने मुडमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।