काठमाडौं– शनिबारदेखि लगातार परेको झरी सोमबारसम्म रोकिएको थिएन। सोमबार बिहानै कलंकी मन्दिरमा शिवजीको पूजा गर्न व्रतालु महिलाहरुको भीड देखिन्थ्यो।
त्यहि मन्दिर छेउमै झरीमा निथ्रुक्क भिज्दै सुनसरी इटहराकी नेत्रकुमारी बेलपाती र फूल बेचिरहेकी भेटिइन्। झरीमा भिज्नु उनको रहर होइन, बाध्यता हो।
‘साउनको सोमबार बेलपाती धेरै बिक्री हुन्छ। त्यहि भएर आज हरियो मकैसँगै बेलपाती पनि बेच्न राखेकी छु,’ उनले सुनाइन्।
क्यारेटमा १५ घोगा जति हरीया मकै राखेकी थिइन्। चार मुठा निगुरो, अलिकति फूल र बेलपाती राखिएको थियो।
५८ वर्षीया नेत्रकुमारी अधिकारी विगत एक दशकदेखि कलंकीको फुटपाथमा हरियो मकैसँगै तरकारी बिक्री गर्दै आएकी छन्। चाडपर्वको समयमा फूल पनि बिक्री गर्छिन्।
काम गर्न उनलाई कति पनि झिझो लाग्दैन। भन्छिन्, ‘बिहान चारै बजे उठ्छु। खाने बाटो यहि भएपछि अल्छी गरेर पनि के गर्नु र?’
कालीमाटीदेखि कलंकीसम्म
सधैं उनी सबेरै उठेर कालीमाटी जान्छिन्। तरकारी र हरिया मकै ल्याएर कलंकी मन्दिरको नजिकै सडकमा राखेर बेच्छिन्।
सिजनमा कलंकी नजिकै स्यूचाटारबाट लोकल हरिया मकै र सागसब्जी ल्याएर बेच्छिन्।
‘कालीमाटीमा एउटा घोगो मकै किन्दा कहिले १३ रुपैयाँ पर्छ। कहिले १५ रुपैयाँ पनि तिर्नुपर्छ। स्यूचाटारबाट लोकल किन्दा पनि भाउ त उही पर्छ,’ उनी भन्छिन्।
लोकल तरकारी र मकै ग्राहकले रुचाउने हुँदा उनी भेटेसम्म लोकल नै ल्याउँछिन्। नपाएको अवस्थामा मात्रै कालीमाटी पुग्ने उनी बताउँछिन्।
उनले हरियो मकै प्रतिघोगा २० रुपैयाँमा बिक्री गर्छिन्। फर्सीको मुन्टा प्रतिमुठा ४० रुपैयाँसम्म बिक्री हुन्छ। रायोको साग र निगुरो प्रतिमुठा ३० देखि ४० रुपैयाँसम्ममा पनि बिक्री हुन्छ।
‘तरकारीको मूल्य सधैं एकनाश भइरहँदैन,’ उनी भन्छिन्, ‘कहिले धेरै बढ्छ। कहिले घट्छ। किलोमा पाँच दश रुपैयाँ नाफा खाएर बिक्री गर्ने हो।’
उनी बिहानको समयमा ६ बजेदेखि ११ बजेसम्म बिक्री गर्छिन्। साँझ पनि उनी मौका छोप्छिन्।
‘६ बजेदेखि महानगरपालिकाले राख्न दिन्छ। ८ बजेसम्म बस्छु। थोरै बिक्छ। मलाई त व्यापार पनि फाप्दैन कि क्या हो। अरुको भन्दा कम बिक्छ,’ निधार खुम्च्याउँदै उनले सुनाइन्।
राम्रो बिक्री हुँदा दिनमा मुस्किलले ५०० रुपैयाँ कमाइ हुने नेत्रकुमारी बताउँछिन्। ‘धेरै कमाई हुँदैन। एक्लो ज्यान छ। मुस्किलले आफूलाई मात्र त खान लाउन खर्च पुगेको छ,’ उनले भनिन्।
उनी कलंकी चोक नजिकै डेरा गरेर बस्छिन्। भाडा महिनाको चार हजार बुझाउनुपर्छ।
‘कमाई गरेको पैसा घरबेटीलाई तिर्दै सकिन्छ,’ उनी भन्छिन्, ‘न डेरा गतिलो छ। टिनको छाप्रो छ पानी चुहिन्छ, दुःख छ मलाई।’
नेत्रकुमारी काठमाडौं छिरेको १२ वर्ष भयो। यो समयमा उनले धेरै संघर्ष गरिन्। तर, जति परिश्रम गरे पनि खान पनि जोहो नहुने उनी बताउँछिन्।
‘केही छैनभन्दा सहकारीमा दिनको सय रुपैयाँ राख्छु। त्यहि पनि बेला–बेला बिरामी भइन्छ। कहिले के पर्छ यसै खाँचो पर्छ। टार्नै सकिन्न,’ उनले भनिन्।
बढ्दो महंगीका कारण खर्च टार्नै धौ–धौ
दैनिक बढ्दो महंगीका कारण पनि आफूलाई खर्च टार्नै धौ–धौ पर्ने उनी बताउँछिन्। कहिले काँही त मन्दिरमा चढाएको पुरीले छाक टार्ने गर्छिन्।
‘अहिलेसम्म त हातखुट्टा लाग्दैछन्। थोरै कमाइ भए सुख–दुख एक छाक भए पनि टर्छ। बिमार भएर थला पर्दा पानी खुवाउने पनि कोहि हुँदैन,’ उनका आँखा भरिए।
नेत्रकुमारी पूर्वी नेपालको खोटाङमा जन्मिएकी हुन्। २७ वर्षको उमेरमा उनको इटहरामा विवाह भयो। विवाहपछि श्रीमान् र परिवारको साथमा इटहरामै बस्थिन्। जीवन हाँसिखुसी थियो। ३ वर्षपछि छोरी पनि जन्माइन्।
तर अचानक उनको जीवनमा बज्रपात आइलाग्यो। गाउँमै श्रीमान्को हत्या भयो।
‘त्यो बेला छोरी ९ महिनाकी मात्र थिइ। शोक थियो। उहाँ बितेपछि सासू–ससुराले पनि राम्रो नजरले हेर्नु भएन। घरमा बस्न समस्या भयो। ११ महिनाकी छोरी लिएर म माइतीमा गएँ,’ उनी सम्झिन्छिन्।
माइतीमा पनि उनी धेरै बसिनन्। आफैं केही गरेर खाने सोच बनाएर उनी इटहरा नै फर्किइन्।
‘त्यहाँ मैले अरुको घरमा भाँडा माझ्ने, गोबर सोहोर्नेदेखि खेतबारीमा मल बोक्ने, झार उखल्ने जस्ता काम गर्थेँ। घाँस पनि काटिदिन्थेँ’, उनले सुनाइन्।
दिनभरी काम गर्दा ७० रुपैयाँ कमाइ हुन्थ्यो। त्यहि काम गरेर उनले छोरीलाई पनि प्राथमिक तहसम्म पढाउन थालिन्।
तर, नेत्रकुमारीले विस्तारै काम पाउन छाडिन्।
भन्छिन्,‘पछिपछि त तराईमा भटाभट मेसिनहरु जान थाले। खेतबारीको काम प्राय: मेसिनले नै हुन थाल्यो। मैले पहिलेजस्तो काम नै पाइनँ।’
एकातिर बेरोजगारीको समस्या त अर्कातिर छोरी र आफ्नो पेटको चिन्ता। नेत्रकुमारी निकै समस्यामा परिन्।
‘दिनभरी काम गरेर बिहान–बेलुका हातमुख जोर्ने मान्छेलाई कामै नभए त कसरी बाँच्नू?,’ उनी भन्छिन्।
सोही क्रममा चिनजानका मानिसहरुले काठमाडौंमा काम पाइने सुनाए। छोरी हुर्किसकेकी थिइन्। छोरीसहित २०६७ सालमा आफू काठमाडौं छिरेको उनी बताउँछिन्।
काठमाडौं आएर केहि दिन नाताले बहिनी पर्नेको डेरा काँडाघारीमा बसिन्। तिनै बहिनीले एउटा घरभित्रको काम खोजेर लगाइदिएकी थिइन्।
काम पाएपछि उनी कलंकीमा बेग्लै डेरा लिएर बसिन्।
एउटा घरको काम थियो। खाना पकाउने, लुगा धुने, भाँडा माझ्ने सबै काम गर्नुपर्थ्यो। एउटा घरकै कामले दिन बित्थ्यो।
महिनामा चार हजार कमाउँथिन्। त्यतिबेला उनकी छोरी पनि बसपार्कस्थित टिकट काउन्टरमा काम गर्न थालिन्।
उनकी छोरीले महिनामा ६ हजार कमाउँथिन्।
‘कोठाभाडा ३ हजार थियो। जे पनि महंगो थिएन। त्यति कमाइले खर्च पुग्थ्यो,’ उनले सम्झिइन्, ‘तर छोरीको जात सधैँ सँगै नहुने रहेछ। दुई वर्षपछि त बिहे गरिदिएँ।’
त्यसपछि नेत्रकुमारी एक्लिएकी हुन्। केही समय त एक्लै बस्ने बानी पार्न पनि उनलाई मुस्किल पर्यो। एक्लैको कमाईले खान र कोठाभाडा तिर्न पनि मुस्किल भयो। नेत्रकुमारी अलि बढी कमाई हुने खालको काम बुझ्न थालिन्। उनकी एकजना साथीले फुटपाथमा तरकारी बिक्री गर्दा बरु राम्रो कमाई हुने सुनाइन्।
त्यसपछि उनले साथीको सल्लाहअनुसार तरकारी बिक्री गर्न थालिन्।
आफूले पहिलोपटक कालीमाटी तरकारी बजारबाट रायोको साग र हरीयो मकै ल्याएर कलङ्की मन्दिर नजिकै फुटपाथमा राखेको उनी सम्झिन्छिन्।
चार सयमा तरकारी र मकै किनेर ल्याएकी थिइन्। त्यो दिन उनले एक हजारको व्यापार गरिन्। ६ सय आम्दानी भयो। सुरुकै दिनमा राम्रो आम्दानी भएपछि नेत्रकुमारी फुरुङ्ग भइन्। यसले व्यापारमा जाँगर चल्यो।
भोलिपल्टदेखि उनी सबेरै उठेर त्यहि काममा लागिन्।
सात रुपैयाँ घोगो मकै
‘त्यतिबेला कालीमाटीमा सात रुपैयाँ घोगो मकै आउँथ्यो। मैले १५ रुपैयाँमा बेच्थेँ। गाडीभाडा सबै जोड्दा झण्डै आधा त फाइदा थियो,’ उनी भन्छिन्।
सागमा पनि राम्रै फाइदा आउँथो। ४० रुपैयाँ प्रतिकेजी किनेर उनी धेरै मुठा बनाउँथिन् र २० रुपैयाँ मुठो बिक्री गर्थिन्।
तर, अहिले पहिलेजस्तो राम्रो नाफा नबस्ने उनी बताउँछिन्।
‘अहिले त उतै महंगो छ। धेरै फाइदै लिन सकिँदैन। मान्छे मूल्य सुनेरै फर्किन्छन्,’ उनले भनिन्।
श्रीमान् बितेपछि एक्लिएकी उनले सरकारबाट एकल महिला भत्ता पनि पाउनुपर्ने हो। तर, अहिलेसम्म आफूले भत्ता नपाएको उनको गुनासो छ।
‘ (श्रीमानको) मृत्यु दर्ता कि के गरेको छैन भन्छन्। इटहरा जाँदा मिल्दैन भनेर पठाए। मैले त केही पाएको छैन,’ उनले सुनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।