काठमाडौं– एकातिर फुटपाथमा हिँड्नेहरुको भिड। अर्कातिर गाडीको चर्को आवाज। त्यसमाथि फुटपाथमा व्यापार गर्दै ‘लौ सस्तो सामान! सस्तो सामान!’ भन्दै कराइरहेका फुटपाथे व्यापारीहरु। सार्वजनिक सवारीका सहचालक बीच्बीचमा चर्को सुनिन्छन्– आउनोस्, ठमेल–ठमेल, लैनचौर…, बानेश्वर, कोटेश्वर, जडिबुटी! एऽऽ दाई अलि पर सर्नु न… दिदी तपाईं त्याँ उभिनोस् न!
सूर्यका किरणले जमिन छाडेर आकाशमा बैजनी रङ छर्दा काठमाडौंको सुन्धारा (एनएसी) क्षेत्र हरेक साँझ यसैगरी चर्को सुनिन्छ।
आफ्नै जिन्दगीसँग प्रतिस्पर्धा गरिरहेकाहरुको ठेलमठेल भिडमा, कपाल फुलेर टाउको सेतै भएका एक वृद्ध फुटपाथको कुनामा बोरा औछ्याएर सामान फिजाउँदै थिए। नैनी, कांगियो, कर्ननो, अगरबत्ती, मास्क, दाँत कोट्याउने सिन्का, जुत्तामा लगाउने पालिस (पोलिस), कैँची, लुगा च्याप्ने क्लिप लगायत सामग्री लहरै राखेर उनी पनि कराउन थाले, ‘मास्क एक प्याकेट, सयमा लैजानोस्, मास्क एक प्याकेट…।’

उनी रहेछन् नुवाकोटको तारुकाका ८१ वर्षीय चेतनाथ ढकाल। साँझको घामजस्तै, उनको जीवनले पनि डाँडा काटिसकेको छ। तर, दैनिकी भने थन्किएर बस्न मिल्ने खालको छैन। विगत ५ वर्षदेखि हरेक दिन सुन्धारा पुग्ने, र फुटपाथमा सामान फिँजाएर ग्राहक पुकार्ने उनको अनिवार्य दैनिकी बनिसकेको रहेछ।
चेतनाथ काठमाडौंको चमतीमा बस्छन्। बिहान सबेरै चमतीबाट हिँडेर सुन्धारासम्म पुग्छन्। सडकपेटीमा ठूलो बोरा फिजाउँछन्। त्यसमा आफूले बिक्री गर्ने सामग्री फिँजाउँछन्। दिनभरी बिक्री गरेर बेलुका ८ बजे डेरा फर्किन्छन्।
उनले नैनी होलसेलमा ३० रुपैयाँमा किनेर ल्याउँछन्। जुन ४५ देखि ६० रुपैयाँसम्ममा बिक्री गर्छन्। मास्क प्रतिप्याकेट ८० रुपैयाँमा किनेर १०० रुपैयाँमा बिक्री गर्दा रहेछन्। अन्य सामग्रीबाट पनि धेरथोर पैसा बचाएर दिनभरी हजारदेखि १२ सयसम्मको ‘व्यापार’ गर्दा रहेछन्।
‘व्यापार सधैं एकैनास हुँदैन। दिनमा २/३ सय फाइदा हुन्छ। कहिले घटी त कहिले बढी भइरहन्छ। म काम गर्न बानी परिसकेको छु। एकदिन नभए अर्को दिन हुन्छ,’ सन्तुष्टिको भावमा उनी भन्छन्।

फुटपाथको व्यापारले दैनिकी चलाएका छन्। उमेरले ८० कटिसकेपनि कसैसँग मागेर खानु परेको छैन। साँझविहानको छाक टार्ने, मासिक ४ हजार कोठाभाडा तिर्ने लगायत सबै खर्च त्यही फुटपाथको व्यापारबाट जुटाएका छन्।
‘बिहान भने बाहिरै रोटी–तरकारी खान्छु। कहिलेकाहीँ भोकै पनि बस्नुपर्छ। बेलुका भने आफैँ पकाएर खान्छु,’ चेतनाथ भन्छन्।
उनको उमेरका धेरैजना सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) थापेर पनि गुजारा चलाउँछन्। तर, उनीभने हातखुट्टा चलुञ्जेल काम गरेरै खाने बताउँछन्।
उमेर हुँदा पनि उनी व्यापार नै गर्थे। गाउँमा खेतीकिसानीसँगै पसल पनि चलाएका थिए। परिवार राम्रै चलेको थियो, श्रीमतीलाई दमको रोगले च्याप्यो। ३५ वर्ष अगाडि श्रीमतीले संसार छाडिन्।
तरपनि पारिवारिक जिम्मेवारीमा सक्रिय भए। एक्लैको बलमा १ छोरा र ४ छोरी हुर्काए। विवाह भएपछि सबै आ–आफ्नै ‘दुनिया’मा व्यस्त भए। चेतनाथ भने एक्लै परे।
‘उनी (श्रीमती) भएको भए अहिले मेरो सहारा हुन्थिन् होला। छोराछोरी सबै छन्। तर मलाई कसैले हेर्दैनन्। आफ्नो पेट पाल्न त काम गर्नै पर्यो। पेट पाल्नका लागि नै यहाँ आएर फुटपाथमा कराउनु परिरहेको छ,’ आँसुले भरिएका आँखा मिच्दै चेतनाथले भने।
‘छोरीहरु आफ्नै घर गरेर खाएका छन्। छोराछोरी न कहिले भेट्न आउँछन् न बोलाउन नै,’ उनी भन्छन्, ‘नाति त यहि बाटो मोटरसाइकल हुँइक्याउँदै हिड्छ रे।’

वृद्धावस्थामा फुटपाथमा व्यापार गरिरहेको देखेर प्रहरीको टोलीले केही समय अगाडि उनको उद्धार गरेर वृद्धाश्रम पुर्याएको थियो। तर, वृद्धाश्रमको उदेकलाग्दो बसाइ उनलाई चित्त बुझेन। त्यसपछि फेरि फुटपाथमै फर्किए।
‘मलाई त त्यहाँ केही खान पनि मन लागेन। त्याँ कोही बिमारी छन्। कोही हातखुट्टा नचल्ने छन्। र्यालसिँगान चुहाएका हुन्छन्। सरसफाइ गर्ने कोही छैनन्,’ उनी भन्छन्, ‘कतिबेला खाना दिन्छन् भनेर आशा गरेर बस्नुपर्ने, म काम गरेर खाइराखेको मान्छे, कसरी बस्न सक्छु त?’
चेतनाथलाई फुटपाथमा ब्यापार गर्दा पाँच पटकसम्म नगरप्रहरीले नियन्त्रणमा लियो। पटक–पटक लखेट्यो। उनी भागे पनि। कतिपटक लुकिलुकी व्यापार गरे। कतिपटक त लखेट्दा पनि टेरेनन्।
‘एकताका लखेट्या लेखेट्यै गर्थे। त्यतिबेला केपी ओली प्रधानमन्त्री थिए। उनले भनेको पनि सुनेको थिएँ– कसैलाई फुटपाथमा बस्न दिइनेछैन भनेर। मैले पुलिसलाई नागरिकता थमाइदिएं केपी ओलीभन्दा म जेठो हो भनेर। त्यसपछि भने मलाई खासै लखेटेको छैन,’ चेतनाथले हाँस्दै सुनाए।
अहिले भने उनलाई न प्रहरीले लखेट्छ, न नगर प्रहरीले नै। ‘अहिले सबैले दया गर्छन्। यो बुढाले गरिखाओस् भनेर सोच्दाहुन्,’ चेतनाथले सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।