काठमाडौंं– कालीमाटी चोकको फुटपाथमा एकाबिहानै तरकारी किन्ने र बेच्नेहरूको भीड थियो। अझ तरकारी किन्नेभन्दा बेच्नेहरू दोब्बर देखिन्थे। कोही तरकारी बेच्नेहरू ‘२० रुपैयाँ भाग, २० रुपैयाँ भाग’ भन्दै कराउँदै थिए।
तरकारी व्यापारीहरूको भीडमा थिइन् कपाल सेतै फुलेकी मैयाँ तामाङ। जसले निलो प्लास्टिक बिच्छ्याएर भिन्डी, खुर्सानी, भिँडेखुर्सानी र कागती भाग लगाइरहेकी थिइन्। सानो स्वरमा गीत गाउँदै घरिघरि नाच्थिन् पनि।
‘बुढीआमा हामी भन्दा तरुनी छन्। हेर न नाचेको बीच बजारमा?’, छेउमा काँक्रो बेच्न बसेकी एक महिला बोलिन्।
‘यसो रमाइलो गरेको नि छोरी,’ मैयाँ बोलिन्।

धादिङकी ८१ वर्षीय मैयाँले कालीमाटी तरकारी तथा फलफूल बजार अगाडिको फुटपाथमा तरकारी बेच्न थालेको ५० वर्ष भयो। उनी वयस्क भन्दा कम छैनन्। बिहान ४ बजे नै उठ्छिन। पूजाआजा गरेर आफ्नो दैनिक कामको सुरुवातमा लाग्छिन्।
बिहान ५ बजे कालीमाटी चोकमा निस्किन्छिन्। कालीमाटी तरकारी बजारभित्र तरकारी किन्न जान्छिन्। होलसेल मूल्यमा भिन्डी, खुर्सानी, कागती, भिँडेखुर्सानी जस्ता थरीथरीका पाँच–पाँच केजी किन्छिन्। तरकारी किन्दा १५ सयदेखि दुई हजार खर्च हुन्छ।
कालीमाटी चोकको फुटपाथमा प्लास्टिक फिँजाएर भाग लगाउँछिन्। सबै तरकारी भागको २० रुपैयाँमा बेच्छिन्। ८ बजेसम्म बेचेर डेरा फर्कन्छिन्। दिनभरी डेरामा एक्लै समय बिताउँछिन्।
उनलाई बिहान बाँकी रहेको तरकारी बेच्न साँझ कालीमाटी चोक नपुगी सुखै छैन। ६ बजे आएर सडकपेटीको एकछेउमा प्लास्टिक फिँजाएर उसैगरी तरकारी भाग लगाउन थाल्छिन्। जब अध्यारो बढ्दै जान्छ, मैयाँ सानो टर्च बालेर आफ्नो ‘पसल’मा उज्यालो पार्छिन्। सँधैजसो राति ८ बजेसम्म तरकारी बेचेर मात्र फर्कन्छिन्।
मैयाँले यसरी तरकारी बेचेरै आफूलाई खर्च पुर्याएकी छन्। आम्दानीको स्रोत भनेको नै यही व्यापार हो। यति नगरे हात मुख जोड्ने अरु कुनै बाटो नभएको उनी सुनाउँछिन्।
‘एकपटक किनेको तरकारी सबै एकै दिनमा बिक्री हुन्छ भन्ने हुँदैन। त्यो भोलिपल्टलाई पनि रहन्छ। कहिले बिक्छ, कहिले बिक्दैन’, व्यापारको दैनिकी सुनाउँछिन् उनी।

तरकारी बेचेर दिनमा ६ सय देखि ८ सय रुपैयाँसम्म कमाई हुन्छ। डेराभाडा मासिक तीन हजार रुपैयाँ छ। ‘बत्ती पानी जोडेर चार हजार पुग्छ। थोरै कमाइ छ। हुन त म एउटीलाई खान लाउन पुगेकै छ,’ उनले भनिन्।
मैयाँ धादिङमा हुँदा मेलापात, घाँसदाउरा, गोठाला गरेर दिन बिताउँथिन्। साथीसँग अर्मपर्म गरेर खेतबारीका काम गर्थिन्। मेलापात गर्न जाँदा गीत गाउने, नाच्ने गर्थिन्।
‘काम गर्न पाउँदा खुशी लाग्छ। पहिलादेखि आफैं कमाएर खाने बानी लाग्यो। मलाई केही दुःख छैन। काम गर्दै गीत गाउन, नाँच्न, रमाइलो गर्न मन लाग्छ। रमाइलो गर्नुपर्छ, जिन्दगीमा मरिलानु के छ र?’ सुन्तुष्ट सुनिइन् मैयाँ।
२१ वर्षको उमेरमा मैयाँ काठमाडौं छिरेकी थिइन्। मैयाँका बुवाआमा र भाइ गाउँमै थिए। केही काम गरेर बस्ने उद्देश्य लिएर काठमाडौं आएको उनी बताउँछिन्।
काठमाडौं आएपछि केही समय आफन्तको डेरामा बसिन्। केही समयपछि उनी कालीमाटीमा डेरा गरेर बस्न थालिन्। काम खोजिन्। तर, सजिलो काम भेट्टाउन सकिनन्।
‘पढे लेखेको थिइनँ। केही काम पाइनँ। काम नपाएपछि के गर्ने के गर्ने भयो। केही सीप नलागेपछि डोकोमा बोकेर डुलाउँदै तरकारी बेचेँ,’ सम्झनाको एल्बम पल्टाउँछिन् मैयाँ।
सुरुका दुई वर्षसम्म डोकोमा तरकारी बोकेर काठमाडौंका टोलटोल पुगेर बेचिन्। त्यसपछि कालीमाटी चोकमा बसेर तरकारी बेच्न सुरु गरिन्।
‘अहिलेजस्तो महंगो थिएन ऊ बेला। सबै तरकारी मोहोर, सुकाको भाउमा किनबेच हुन्थ्यो। तरकारी बेचेर दिनमा २/४ रुपैयाँ कमाइन्थ्यो। तरकारी मात्र हो र! त्यतिबेला सबै कुरा सस्तो थियो नि नानी,’ मैयाँ पुराना दिन सम्झिने कोसिस गर्छिन्।

मैयाँ तरकारी बेचेर कमाएको केही रकम आफू खर्च गर्थिन्। कोठाभाडा मासिक ५० रुपैयाँ बुझाउँथिन्। बचेको केही पैसा घर गएको बेला आमालाई दिन्थिन्। जीवनमा खै कता अल्झिइन् कता। उनलाई बिहेप्रति रहरै जागेन। वा भनौं मेसै पाइनन्। बिहे नगरेको कुनै असपोच पनि छैन उनलाई।
उनका बाआमा बितेको पनि तीन दशक नाघिसक्यो। अहिले घरमा भाइ, बुहारी र दुई जना भदै अनि भदैका पनि छोरा छन्।
‘चाड पर्वमा धादिङ जान्छु। केही समय बसेर फेरि काठमाडौं आउँछु। घरमा सबैले माया गर्छन्। मेरो माइती असल छन्। भदैहरू पनि माया गर्छन्। खुशी लाग्छ,’ सन्तोषको श्वास फेर्दै मैयाँ डेरातिर लागिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।