काठमाडौं– सोमबार साँझ रत्नपार्क वरपर निकै भीड थियो। फुटपाथका व्यापारीहरु सामान फिँजाएर 'सस्तो सामान सस्तो' भन्दै चर्को स्वरले कराउँदै थिए। कोही रेकर्ड गरेर राखिएको अडियो बजाउँदै ग्राहक बोलाउँदै थिए। अर्कातिर 'पाँच सय रुपैयाँमा दुईवटा गुडिया' भन्दै ग्राहकलाई आफूतिर बोलाउँदै थिइन् दोलाखाकी गीता थापा।
गीताले १६ वर्षदेखि काठमाडौंका फुटपाथमा व्यापार गर्दै आएकी छन्। उनी दिउँसो ३ बजे सामान बोकेर सडकमा निस्किन्छिन्। सानो त्रिपाल फिँजाएर गुडिया, कपाल बाँध्ने रबरलगायतका सामान राख्छिन्। साँझ अध्यारो नहुन्जेलसम्म उनको व्यापार चल्छ। त्यसपछि उनी बाँकी रहेका सामान पोको पारेर डेरातिर लाग्छिन्।
गीताको श्रीमान्को घरपट्टि विवाह गर्दा २ लाख ऋण लागेको थियो। घरमै बसेर ऋण तिर्न सक्ने अवस्था थिएन। त्यही ऋण तिर्न श्रीमान् श्रीमती २०६३ सालमा काठमाडौं छिरेका थिए। काठमाडौंको बागबजारमा कोठा गरेर बस्न थाले। गीताले पहिला ठमेलको एक गार्मेन्टमा काम गरिन्। गार्मेन्टको मालिक गाउँकै चिनजानका मान्छे थिए। श्रीमान्ले पनि बागबजारको एक संस्थामा सुरक्षागार्ड भएर काम गर्थे।
‘त्यो बेला मेरो २६ सय तलब थियो। निकै ठूलो हो नि २६ सय भनेको त्यतिबेला, सबै कुरा सस्तो थियो। यति महँगो थिएन।' उनले भनिन्, 'श्रीमान्को चाहिँ १० हजार थियो। त्यतिबेला कोठाभाडा पनि २ हजारमात्र थियो। ग्याँस, चामल पनि सस्तो थियो।’
समय बित्दै गयो। गीता केही समयपछि गर्भवती भइन्। काम गर्न नसक्ने अवस्था भएपछि उनले काम छाडिन्। पहिलो सन्तानको रुपमा छोरी जन्मिइन्। छोरी बिरामी भइरहन्थिन्। छोरीको उपचार गर्न पैसाको अभावमा समस्या हुन थाल्यो। छोरी जन्मेको १६ दिनमात्र भएको थियो। गीताले पुरानो बसपार्कमा केरा बेच्न थालिन्। श्रीमान्ले बिहानै बल्खु गएर होलसेलबाट केरा किनेर ल्याईदिन्थे। कोक्रोमा नाबालिका छोरी बोकेर उनी केरा बेच्न जान्थिन्। उनले केरा बेचेर सरदर दैनिक ६ सय रुपैयाँसम्म कमाइ गर्थिन्।
केही वर्षको अन्तरालमा तीन छोराछोरी जन्मिए। अब यो दम्पतीलाई झन् ठूलो जिम्मेवारी थपियो। उनीहरुको कमाइले घर खर्चमात्रै धान्न थाल्यो। त्यसबाहेक अरु खर्च गर्न सक्ने अवस्था थिएन।
त्यो कमाइले ऋण तिर्न नसक्ने अवस्था भएपछि श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गए। श्रीमान् वैदेशिक रोजगारमा गएपछि घर व्यवहारको जिम्मा उनी एक्लैको काँधमा आइलाग्यो। गीताले एक्लै बसपार्कमै केरा बेचिरहिन्। छोराछोरीलाई हुर्काइन्। पढाइन्। उनले श्रीमान् आफूसँगै हुँदा जस्तो कमाइ गर्न त सकिनन्। तर पनि घर खर्च पुर्याउनु उनको बाध्यता थियो।
बिहान सबेरै उठेर केरा किन्न बल्खुस्थित होलसेल बजार पुग्थिन्। छोराछोरी उठेका हुँदैन थिए। केरा लिएर हतार-हतार डेरा आउँथिन्। हतारमै खाना बनाएर छोराछोरीलाई खुवाएर विद्यालय पठाउन भ्याउँथिन्। कहिले त बच्चा उठेर रोईराखेका हुन्थे। 'पहिले श्रीमान् हुँदा पो उहाँले ल्याईदिनुहुन्थ्यो। म बेच्न मात्र जान्थेँ। सजिलो थियो,’ उनले भनिन्।
यसरीनै व्यापार गरेर उनको गुजारा चल्दै थियो। यही व्यापारको कमाइले घरखर्च धानिएको थियो। उता श्रीमान्को कमाइले ऋण तिर्दै थिए। परिवार सुखी नै थियो।
जसोतसो जीविकापार्जन चलिरहेको अवस्थामा दैवको नियती २०७२ बैशाख १२ गतेको भूकम्पले उनको जीवनमा अर्को धक्का दियो। त्यस दिन उनी रत्नपार्कस्थित बसपार्कको एक छेउमा बसेर केरा बेच्दै थिइन्। उनी बसेकै छेउको पर्खाल भत्कियो। पर्खाल भत्किँदा अरु १९ जनासहित उनी पनि पुरिइन्। उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी मोडेल अस्पताल लगियो। उनको बायाँ खुट्टा र ढाडको एउटा हड्डी पनि भाँचिएको थियो। टाउकोमा समेत गहिरो चोट थियो।
भूकम्पमा परेर गम्भीर घाइते भएको बेला उनीसँग साना नाबालक छोराछोरीहरु मात्रै थिए। श्रीमान् मलेसियामै थिए। उपचारका लागि आवश्यक खर्च श्रीमान्ले उतैबाट पठाइ दिए।
‘उपचारमा त्यस्तै दुई लाख जति खर्च लाग्यो। खुट्टामा स्टिल हाल्नु पर्यो। ढाडमा पनि स्टिल हाल्नु पर्यो। टाउकोमा १६ टाँका लगाउनु पर्यो ।' उनले भनिन्, 'कत्तिमान्छे भूकम्पमा परेर मरे। मलाई बाँच्न लेखेको रहेछ, धन्न बाँचेँ। म मरेको भए मेरा छोराछोरीको बिचल्ली हुन्थ्यो।’
उनले महिनौँसम्म काम गर्न सकिनन्। ओछ्यानमै थन्किनु पर्यो। उपचार खर्चमा लागेको पैसा चाहिँ पछि सरकारले राहत स्वरुप दियो।
भूकम्पका चोटहरु निको भएपछि गीता फेरि बसपार्कमै केरा बेच्न फर्किइन्। तर, उपचारपछि उनले पहिले जस्तो तनदुरुस्त भएर काम गर्न सकिनन्। घाइते शरीरमै जसोतसो विस्तारै व्यापार गरिरहिन्।
यही क्रममा काठमाडौं महानगरले पुरानो बसपार्क हटायो। त्यहाँ अहिले गगनचुम्बी भ्यू टावर बन्दैछ। टावर बन्न लागेपछि उनी वीर अस्पताल नजिकैको फुटपाथ सरिन्। अहिले उनी त्यहाँ केही समय फलफूल बेच्छिन्। कोरोनाकालमा उनले फलफूल बेच्न छाडिन्। त्यसपछि उनले रत्नपार्कको फुटपाथमा गुडिया र कपाल बाँध्ने रब्बरलगायतका सामान बेच्न थालिन्।
‘भारी बोक्ने काम गर्न सक्दिनँ। खुट्टा भाँचिएको छ। ढाडले पनि बोक्न मिल्दैन। केही त गरेर खानै पर्यो। त्यही भएर फुटपाथमै भएपनि व्यापार गर्दै आएकी हुँ।’ उनले आफ्नो बाध्यता सुनाइन्।
गुडिया र रबर बालाजुको होलसेल पसलबाट ल्याउछिन्। अहिले यही सामान बेचेर गीताले दिनमा ३ देखि सात सय रुपैयाँसम्म कमाइ गर्छिन्। त्यही कमाइले उनले तीनै जना छोराछोरीलाई पढाउँदै आएकी छन्। कोठाभाडा मासिक १० हजार बुझाउँछिन्। अहिले उनका श्रीमान् नेपाल आइसकेका छन्। बेलाबेला श्रीमानले पनि व्यापारमा सहयोग गर्छन्।विवाह गर्दाको ऋण पनि तिरिसकेको छ यो दम्पत्तीले। तर पनि दु:खका दिन उस्तै छन्। फेरि उनको जीवनमा अर्को आपत आइपरेको छ। कारण उनले व्यापार गर्दै आइरहेको फुटपाथमा काठमाडौं महानगरले व्यापार गर्न रोक लगाएको छ। फुटपाथले धानेको उनको परिवार र जीवन यतिबेला अफ्ठ्यारोमा परेको छ। बिहान - बेलुकी हात मुख कसरी जोर्ने भन्ने चिन्ताले उनलाई सताइरहेको छ।
‘अहिले सटरमा व्यापार गर्नुपर्छ, फुटपाथमा गर्नहुँदैन भन्छन् काठमाडौंका मेयर बालेनले। हुन त यो राम्रो नै हो। तर हामी जस्ता गरिबले कसरी सटर लिन सक्ने? अहिले कमाएर भरै खानु पर्छ, हामी जस्ता भुइँमान्छेले कसरी सटर लिएर व्यापार गर्ने?’ उनले गुनासो सुनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।