काठमाडौं– श्रमजीवी–पत्रकार संघले चाडवाडको समय नजिकिँदै गर्दा मिडिया सञ्चालकसँग कामदारको पारिश्रिमक प्रदान गर्न माग गरेको छ। घटस्थापनाका अवसरमा शुभकामना दिँदै संघले मिडिया मालिकसँग दशैं भत्ता तथा पारिश्रमिक भुक्तानी गर्न माग गरेको हो।
लामो समयदेखि कैयौं श्रमजीवी पत्रकारले आफूले काम गरेको मिडिया हाउसले तलब तथा सुविधा नदिएको भन्ने गुनासो आएकाले तत्काल पारिश्रमिक उपलब्ध गराउन मिडिया मालिकसँग संघका अध्यक्ष जन्मदेव जैशीले माग गरेका छन्।
अध्यक्ष जैशीले विज्ञप्ति जारी गर्दै महिनौंदेखिको बाँकी बक्यौता तत्काल भुक्तान गरेर श्रमजीवी पत्रकारलाई पनि दशैं मान्ने वातावरण बनाउन माग गरेका हुन्।
उनले भने, ‘दशैं अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराइ दशैं मनाउने वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग हाम्रो आग्रह छ।’
विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराइ पत्रकारका समस्या समाधान गर्नेबारे, स्वरोजगार मिडियाको प्रवर्द्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान नपुग्नुका साथै सञ्चार गृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत् सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान हुनु दु:खद् रहेको अध्यक्ष जैशीले बताएका छन्।
जैशीले केही मिडिया सञ्चालकले कैयौं महिनादेखि पारिश्रमिक नपाएको गुनासो आएकाले तत्काल उपलब्ध नगराए संघ आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।