काठमाडौं– टोखा नगरपालिका–८ ग्रीनल्यान्डमा निर्मित विनायक अन्नपूर्ण पुष्पवाटिकाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरेका छन्। स्थानीय टोल सुधार समितिको पहलमा करिब २ रोपनी सार्वजनिक जग्गामा बनाइएको उक्त पुष्पवाटिकाको सोमबार उद्घाटन गर्दै मेयर अधिकारीले स्थानीय समुदाय तथा टोल सुधार समितिलाई धन्यवाद दिए। उनले विनायक अन्नपूर्ण पुष्पवाटिकालाई नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने वाचा पनि गरे।
मेयर अधिकारीले टोखा नगरपालिकाका अन्य क्षेत्रमा कब्जा गरिएका सरकारी सम्पत्ति पनि स्थानीय र नगरपालिकाको पहलमा फिर्ता ल्याइने बताए। उनले नगरपालिकाले ३५ दिने सूचना सार्वजनिक गरिसकेको जनाउँदै उक्त समयभित्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेकालाई जग्गा छाड्न आग्रह गरे। मेयर अधिकारीले नगरपालिकाको सूचनालाई अमान्य गरिएमा बल प्रयोग गरेर पनि अतिक्रमण भएको सार्वजनिक जग्गा सरकारी मातहतमा लिई छाड्ने दाबी गरे।
कार्यक्रममा मेयर अधिकारीले नगरपालिकाको प्रत्येक वार्डमा एउटा पुष्पवाटिका बनाउने योजना रहेको जनाउँदै स्थानीय समुदायसँग सहकार्य गरेर विकास निर्माणको काम गर्ने आफ्नो योजना रहेको बताए।
कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ्गले स्थानीय वासिन्दाको उक्त कार्यको प्रशंसा गर्दै नगरपालिकाले विनायक अन्नपूर्ण पुष्पवाटिकाको लागी जस्तो प्रकारको सहयोग पनि गर्ने बताए।
कार्यक्रममा टोखा नगरपालिका–८ का वडाध्यक्ष रमेश खत्रीले मिचिएका सार्वजनिक जग्गा छिट्टै नगरपालिका मातहतमा ल्याइने बताए। कार्यक्रममा सदस्य कबिन्द्र थापाले पार्क निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे।
उक्त कार्यक्रममा अन्नपूर्ण टोल सुधार समितिका कोषाध्यक्ष रामप्रसाद श्रेष्ठले नगरपालिकाले यस्ता सार्वजनिक जग्गा नियन्त्रणमा लिनुपर्ने बताए भने टोखा नगरपालिका–८ का वडा सदस्य अनुप राईले टोलवासीलाई धन्यवाद दिए।
उक्त कार्यक्रमकी सभापती एवम् विनायक अन्नपूर्ण पुष्पवाटिकाकी अध्यक्ष हरिमाया अधिकारीले पार्क निर्माण गरेर आफ्नो सपना पुरा भएको बताइन्। अध्यक्ष अधिकारीले पार्क निर्माणमा अहोरात्र खटिने टोलवासी र सहयोग गर्ने नगरपालिकालाई धन्यवाद ब्यक्त गर्दै यो पार्क आफूहरुले नमूनाको रुपमा निर्माण गरेकाले यसलाई शिक्षाको रुपमा लिँदै नगरपालिकाले अन्य क्षेत्रका सार्वजनिक जग्गालाई पनि नगरपालिका मातहत ल्याउनुपर्ने बताइन्। कार्यक्रममा टोलवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।