चितवन- गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आइतबार सुरु भएको छ।
जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस सुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए।
कृष्णप्रसादको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो। घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो। मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारवाही गर्न माग गर्दै तत्काल जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए।
लामो समयसम्म कारबाही नभएपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए। अनशनमा बसेको लामो समयपछि प्रहरीले ०७० साउनमा सो उजुरीबारे अनुसन्धान सुरु गरेको थियो। उजुरीमा किटिएकामध्ये केहीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन।
नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई ०७० चैत ३० मा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। अनशनकै क्रममा ०७१ असोजमा नन्दप्रसादको निधन भएको थियो। गंगामायाले भने गत असार २९ मा सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडेकी छिन्।
सो घटनामा १३ प्रतिवादी छन्। सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नपुग्ने भन्दै अदालतले दुई जनालाई धरौटीमा छाडेको थियो।
सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्तले पनि फरक-फरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए। बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए। सो मुद्दाका एक अभियुक्त रुद्र आचार्य विदेशमा छन्। उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन्।
चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा समेत निवेदन पुगेपछि एक अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो। सोही आदेशानुसार गत असार २४ मा उनी सर्वाेच्च अदालतसमक्ष हाजिर भएका थिए। अदालतले सोही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको थियो।
सो मुद्दा हालसम्म पाँच न्यायाधीशले हेरिसकेका छन्। गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, रुद्र आचार्य, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, जानुका पौडेल र सुभद्रा तिवारीलाई विपक्षी बनाई चितवन अदालतमा मुद्दा दायर भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।