काठमाडौं– ‘हाम्रो देशका कैयौं भाषा बोलिन्छ। तर सामाजिक एकता स्थापित गर्नका लागि जो क्षमता संस्कृतमा छ त्यो अरु कुनै भाषामा छैद्द। जब उद्देश्य देश विकासको हो भने संस्कृतको प्रयोगबिना सम्भव छैन। संस्कृतलाई हिन्दीका साथै राष्ट्रभाषा बनाइयोस्’ १२ डिसम्बर सोमबार यो माग लोकसभामा गरिएको थियो। यस्तो माग गर्ने व्यक्ति थिए–भाजपा सांसद कुँवर पुष्पेन्द्र सिंह चन्देल।
उनले संस्कृत भाषा मात्र नभएर विज्ञान भएको बताए। यस्तै कर्नाटकको एक गाउँ छ जहाँ सबै मानिस संस्कृत बोल्छन्। उक्त गाउँको नाम हो मत्तूरु। बाहिरबाट हेर्दा कुनै सामान्य गाउँजस्तो देखिन्छ। तर भित्र जाँदा मात्र थाहा हुन्छ यो गाउँ सामान्य छैन।
मानिसहरु ठूला–ठूला घरहरुमा बस्छन्। भुइँमा बसेर खाना खान्छन् र भुइँमै सुत्छन्। यो भारतको एक मात्र संस्कृतभाषी गाउँ हो। ४ हजार जनसंख्या रहेको यो गाउँमा बालबालिकादेखि बृद्धसम्म संस्कृत नै बोल्छन्।
सडकमा हिँड्दै गरेका मानिस तपाईंलाई ‘नमस्कार:, भवान् कथमसि? (तपाईं आराम हुनुहुन्छ), किं त्वं अस्माभि: सह भोजनं करिष्यसि (के तपाईं हामीसँगै खाना खानुहुन्छ), कुत आगच्छसि (कहाँबाट आउनुभयो) र कुत्र गच्छसी अर्थात कहाँ जाँदै हुनुहुन्छ’ बोल्दै गरेको देख्न सक्नुहुन्छ।
हर धर्म र जाति सबै बराबर
यहाँका स्थानीय मात्र होइन, बाहिरबाट कोही बसाई सरेर आउनुपर्दा संस्कृत सिक्नु अनिवार्य गरिएको छ। गाउँमा मदिरा र मासुजन्य पदार्थका कुनै पसल छैनन्। यहाँ हिन्दूका साथै मुस्लिम पनि बस्छन्। उनीहरु पनि संस्कृत नै बोल्छन्। गाउँको चारैतिर मन्दिर बनेका छन्। यहाँका मानिसहरु वर्ण व्यवस्थालाई मान्दैनन्। उनीहरुका लागि हर धर्म र जाति सबै बराबर हुन्।
शिमोगा जिल्लामा रहेको मत्तूरु गाउँ जिल्ला मुख्यालयभन्दा करिब १० किलोमिटरको दूरीमा बसेको छ। यहाँका अधिकांश मानिस सुपारी खेती गर्छन्। गाउँमा वाईफाई इन्टरनेट, लग्जरी गाडी र शानदार बंगला छन्। तर माहोल भने कुनै गुरुकुल जस्तो छ।
अझ विशेष कुरा त के हो भन्दा यस गाउँका करिब हर घरमा एउटा इन्जिनयर छन्। यति मात्र होइन केही घरका युवाहरु मेडिकल अध्ययनका लागि अमेरिका र जर्मनी गएका छन्। गाउँका मानिसलाई संस्कृतको मात्र ज्ञान भएको भन्ने पनि छैन। यहाँका मानिस अंग्रेजी र कन्नड पनि बोल्छन्। हर साता गाउँमा चौपाल लगाइन्छ। जहाँ अगुवाहरु हातमा माला लिएर मन्त्रोच्चारण गर्छन्।
मत्तूरुमा तरकारी बेच्नेदेखि पसलवालासम्म संस्कृत बोल्छन् र बुझ्छन् पनि। गाउँका पर्खालहरुमा संस्कृतमा नारा, अफिसमा संस्कृत भाषामा बोर्ड र नेमप्लेट छन्। गाउँबाट ३० भन्दा बढी संस्कृतका प्रोफसर छन्। जझ कुवेम्फू, बैंगलुरु, मैसूर र मंगलुरुका विश्वविद्यालयमा अध्यापन गराइरहेका छन्।
भारतीय विद्या भवन, बैंगलुरुको डाइरेक्टर र कन्नड राइटर माथुर कृष्णमूर्ति, भ्वाइलिन वादक भेंकटराम र गामाका गायक पद्मश्री एचार केशवमूर्ति पनि यसै गाउँका हुन्।
गाउँमा पस्नेबित्तिकै ठूला–ठूला बंगला देख्न सकिन्छ। गाउँबाहिर भेटिएका किरण अवधानी सेतो रंगको वैदिक पहिरनमा मन्त्र उच्चारण गरिरहेका थिए। उनले हामीलाई देख्नेबित्तिकै संस्कृतमा अभिवादन गरे। पछि कुराकानी सुरु भयो। गाउँमा संस्कृतको प्रयोगबारे उनी भन्छन्, ‘हाम्रा लागि संस्कृत एक भाषा मात्र होइन। पिता–पुत्र, गुरु–शिष्यजस्तै एक परम्परा हो। यो ज्ञान ऋषिमुनिबाट मिलेको वरदान हो।’
गाउँको अन्तिम छेउतिर ग्राम पञ्चायतको कार्यालय छ। यहाँ सिनियर क्लर्क सुषमा भेटिइन्। उनले सरकारी कामकाज नियम अनुसार कन्नड भाषामा हुने गरेको बताइन्। तर अफिसमा बोलचाल भने संस्कृतमै हुने गरेको छ। उनका तीन सन्तान छन्। उनीहरुलाई पनि सानैदेखि संस्कृत सिकाएको उनी बताउँछिन्।
मत्तूरु गाउँमा शारदा संस्कृत विद्यालय छ। विद्यालयका प्रधानान्यापक गिरीश कुलश्रेष्ठ संस्कृतमा मात्रै कुरा गर्छन्। उनले भने, ‘४० वर्षअघि गाउँमा वेद संस्कृत यज्ञ सुरु भएको थियो। जसमा देश विदेशका कैयौं विद्वान आएका थिए।’ उनीहरूले नै मत्तूरुलाई ‘संस्कृत ग्राम’को दर्जा दिएका थिए। गाउँको मूल भाषा संकेथी हो। जसको जन्म संस्कृतबाट नै भएको हो। यो भाषा तमिल र मलयालमको मिश्रण हो।
गिरीशका अनुसार संस्कृत भारती नामको संस्थाले यो भाषाको विकास र प्रचारको काम गरिरहेको छ। अंग्रेजी भाषा कक्षा जस्तै संस्कृत स्पिकिङको कक्षा पनि चलाइन्छ। संस्कृतबाहेक यहाँ कन्नड पनि बोलिन्छ। गाउँ बाहिरबाट आएका पाहुनाका लागि व्यवहारिक रुपमा संस्कृत प्रयोग गरिँदैन। यही कारण युवाहरुमा केही जटिलता रहेको उनी बताउँछन्।
संस्कृतमै कुराकानी
विद्यालय अवलोकनका क्रममा एक कक्षाबाट संस्कृतको श्लोक सुनिँदै थियो। हामी कक्षामा पुग्यौं। त्यहाँ गुरु अनन्त कृष्णनसँग भेट भयो। अनन्तले १० वर्षका बालबालिका र गाउँका अन्य मानिसलाई संस्कृत सिकाउँछन्। वेद पुराणका अध्यापन गराउँछन्। गाउँमा हिन्दू या मुस्लिम जोसुकै भए पनि संस्कृतमै कुराकानी गर्छन्।
अन्तले भने, ‘मानिसहरु संस्कृत पढ्नाले जागिर पाइँदैन भन्ने सोच्छन्। तर संस्कृतको प्रयोग हर तरिकाले हुन्छ। हिन्दी, मलयालम, तमिल र मराठीमा ७० प्रतिशत भन्दा धैरै शब्दहरु संस्कृतबाट लिइएका हुन्।’
अनन्तले पहिलो कक्षादेखि नै बालबालिकालाई संस्कृत सिकाउने गरेको बताए। साथै योग र वेदको शिक्षा पनि दिइन्छ। संस्कृत श्लोक बोल्दाबोल्दै उच्चारण शुद्द हुने उनको भनाइ छ। ‘हाम्रो देशमा मात्र होइन। विदेशका अन्य क्षेत्रबाट पनि संस्कृत सिक्न आउँछन्। जसमा जर्मनी, अस्ट्रेलिया, अमेरिका र जापान विद्यार्थी पनि सहभागी छन्।
यहाँ २० दिन, एक महिना या तीन वर्षसम्म रहेर मानिसहरु संस्कृत सिक्छन्। कैयौं मानिस अनुसन्धानका लागि पनि आउँछन्। ‘धरैभन्दा धेरै मानिस संस्कृत जानुन्। यसका लागि हामीले आसपासका गाउँ, मन्दिर र सार्वजनिक स्थलमा संस्कृत बोलचालको कक्षा चलाउँछौं’, अनन्तले भने।
यस्तै स्थानीय दीपक शास्त्री भन्छन्, ‘हाम्रो प्राथमिकता संस्कृत भाषा हो। हामी बच्चादेखि नै यसैमा कुराकानी गरिरहेका छौं। यो त सनातनको भाषा हो। मैले आफ्नो स्कूलमा नै संस्कृत सिकेँ।’
विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र अनन्तराम भेटिए। संस्कृत किन सिक्न लाग्नुभएको भन्ने प्रश्नमा उनी भन्छन्, ‘जब अन्य देशका मानिसहरु हाम्रो देशमा आएर संस्कृत सिक्छन्। फेरि हामी त यहीँकै हौं। मेडिकल र इन्जिनियरिङजस्तै संस्कृतमा पनि हाम्रो स्लेबस चाहिन्छ। मलाई लाग्छ आउने समयमा यो हुनसक्छ।
गाउँका बृद्ध र शिक्षकले अघिल्लो पुस्तालाई संस्कृत सिकाइरहेको स्थानीय सुब्रमण्यम अवधानीले बताए। उनले भने, ‘मेरा तीन बालबालिकालाई पनि संस्कृत सिकाइरहेको छु। उनीहरु सबै वेद, उपनिषद र पुराण अध्ययन गर्छन्। मेरो ठूलो छोरा संस्कृतको विद्वान बनिसक्यो। हामी चाहन्छौं कि सबै बालबालिका संस्कृतमै करिअर बनाउन्। यहाँ १५ विद्यार्थी बाहिरबाट आएका छन्। उनीहरुको बस्न र खानका लागि सबै व्यवस्था हामीले नै गरेका छौं।’
दैनिक भास्करका लागि आशीष रायले तयार पारेको विशेष रिपोर्टको नेपाली अनुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।