धनगढी– निर्वाचन मतपरिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका दलबाट संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका आंकाक्षी पनि बढी रहेका छन् भने दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा खगराज भट्टबाहेक अन्य आकांक्षी देखिएका छैनन्।
प्रदेश सभामा तेस्रो ठूलो दल रहेको नेकपा एमालेमा दुई जना संसदीय दलको नेताको दौडमा रहेका छन् भने चौंथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीमा तीन आकांक्षी छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ जना र समानुपातिकतर्फबाट २१ जना निर्वाचित भएका छन्। प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस १२ र समानुपातिकमा सात गरि १९, नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ तीन गरि ११, नेकपा एमालेबाट प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ सात गरि १०, नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई गरि सात जना सांसद छन्।
यस्तै, एकीकृत समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ तीन र समानुपातिक तर्फ एक गरि चार तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ एक जना प्रदेश सभा सदस्य छन् भने एक स्वतन्त्र उम्मेदवार प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य रहेका छन्।
एकीकृत समाजवादी पार्टीबाट कैलाली–४ (१) बाट निर्वाचित दीर्घबहादुर सोडारी संसदीय दलको नेताको दौडमा छन्।
कांग्रेसमा छ जना आकांक्षी
नेपाली कांग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवासहित बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह, प्रकाश बम र मेघराज खड्का संसदीय दलको नेता बन्ने दौडमा छन्।
पार्टीभित्रको योगदान, उमेर हद लगायतका आधारमा संसदीय दलको नेता बहादुर सिंह थापा र दीवानसिंह विष्टमध्ये एक जना हुन सक्ने आकलन रहेको।
बहादुरसिंह र दिवानसिंह प्रदेशको संसदीय दलको नेताको बलियो दावेदार हुन। संसदीय दलको नेताका विषयमा औपचारिक छलफल भने अहिलेसम्म अघि बढ्न सकेको छैन। संविधान सभा सदस्य समेत भइसकेका बहादुरसिंहले भने ‘संसदीय दलको नेता चयनका सम्बन्धमा पार्टीभित्र छलफल भइसकेको अवस्था छैन। तर, प्रक्रियागत रुपमा पार्टीमा हुने सहमतिका आधारमा सर्वसम्मत पनि हुनसक्छ।’
उनी प्रदेश सभामा निर्वाचित नेतामध्ये अरुभन्दा आफू सिनियर भएको दाबी गर्छन्।
एमालेमा दुई जना आंकाक्षी
नेकपा एमालेबाट संसदीय दलको नेताका लागि दुई जना आंकाक्षी रहेका छन्। दलको नेता बनाउनेबारे छलफल अघि नबढे पनि प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित दुई जना दलको नेता बन्न इच्छुक छन्।
एमालेबाट समानुपातिकतर्फ बैतडीबाट निर्वाचित राजेन्द्रसिंह रावल र कैलालीबाट निर्वाचित धर्मराज पाठक दलको नेतामा इच्छुक छन्। संसदीय दलको नेताका इच्छुक रहेका पाठकले भने, ‘अहिलेसम्म संसदीय दलको नेता को बन्छ भनेर छलफल भएको छैन। हामी दुई जना आंकाक्षी छौं। एक हप्तामै बैठक बसेर टुङ्गो लाग्छ।’
पार्टीभित्र पदीय हिसाबले रावल पोल्टिब्यूरो सदस्य भएकाले संसदीय दलको नेता बन्ने सम्भावना बढी रहेको छ। पाठक एमालेको प्रदेश सचिव हुन्।
नागरिक उन्मुक्तिबाट तीन जना
प्रदेशमा चौंथो दल बनेको रेशम चौधरी संरक्षक र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा पनि प्रदेशमा संसदीय दलको नेताका लागि तीन जना दौडधुपमा रहेका छन्।
सात प्रदेश सभा सदस्यमध्ये संसदीय दलको नेताका लागि तीन जना इच्छुक रहेको पार्टीले जनाएको छ। सो दलबाट प्रत्यक्ष निर्वाचित रामेश्वर चौधरी, लक्ष्मणकिशोर चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेताका आंकाक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।