वासिङटन डिसी– मेरिल्याण्ड राज्य अन्तर्गत बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को बोर्ड अफ ट्रस्टीको अध्यक्षमा प्रभुराम थापा निर्वाचित भएका छन्।
मेरिल्याण्ड राज्यमा बस्ने नेपालीहरुको छाता संगठन तथा अमेरिकामा रहेका बिभिन्न संघ÷संस्थाहरु मध्ये शीर्ष स्थानको मानिने बानाको बोर्ड अफ ट्रष्टीको नेतृत्वका लागि मतदान भएको थियो।
११६ मतदातामा ९७ मत ल्याएर प्रभुराम थापा बिजयी भएका हुन्। उनीसँग प्रतिस्पर्धा गरेका महेन्द्र देशारले १९ मत ल्याएका थिए। बाल्टिमोरमा व्यवसाय गर्ने थापा सामाजिक तथा राजनीतिकरुपमा क्रियाशील गैरआवासीय नेपाली हुन्।
संस्थाको उपाध्यक्षमा कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त, सचिवमा सुर्योदया तिम्सिना निर्विरोध निर्वाचित भएका छन्। रिना केसी, जनक पौडेल, र सुशिला महत सदस्यमा निर्वाचित भएका छन्।
ट्रष्टी निर्वाचन समितीको संयोजक सुबोध बिलास पन्तले अध्यक्षबाहेक सबै पदमा निर्विरोध भएको बताए। नवनिर्वाचित अध्यक्ष थापाले संस्थाको गरिमा कायम राख्दै समुदायको सेवामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बानाको स्थापना सन् २००५ मा स्थापना भएको थियो। अमेरिकामा सबैभन्दा धेरै नेपालीहरु सदस्य रहेको संस्था बानामा ५ हजारभन्दा बढी सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।