काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुर्खेत पुग्दा सडक खाली गराएर जनतालाई दुःख दिने काम गरेको भन्दै हर्न बजाएर विरोध गरिएको छ ।
शुक्रबार ओली आउँदा सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । करिब २० मिनेट यातायात बन्दका साथै बाटो हिँड्ने यात्रुलाई समेत कडाइ गरिएको स्थानीयले बताए ।
गणतन्त्रमा पनि प्रधानमन्त्री आएकै कारण सडक खाली गराउने काम गलत भएको भन्दै विरोधमा सवारी चालकहरूले हर्न बजाएर विरोध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले अहिले अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री अहिले मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागि छन् भने त्यसपछि उनले कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।