विराटनगर– नेकपा एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर प्यानल नै निर्वाचित भएको छ।
जिल्लाको नेतृत्वको लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए।
पूर्वराष्ट्रपति भण्डारी पक्ष प्यानलको नेतृत्व विनोद ढकालले गरेका थिए भने ओली समूहको नेतृत्व उपाध्यक्ष गुरु बरालले गरेका थिए।
भण्डारी समूहबाट अध्यक्षका लागि अजम्बर राई र ओली समूहबाट राजकुमार ओझा अध्यक्षका उम्मेदवार थिए।
अध्यक्षमा राईसहित भण्डारी पक्षका नेताहरूको प्यानल नै निर्वाचित भएको हो।
राईले ४ सय ४६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा सागर थापा ४ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३ सय ९१ मत प्राप्त गरिन्। थापा भण्डारी पक्षको प्यानलमा थिए भने भूजेल ओली पक्षीय प्यानमा थिइन्।
सचिवमा सोमराज थापा निर्वाचित भएका छन्। उनले ४ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरिन्।
उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन्। वान्तवाले ४ सय ९० र झाले ४ सय १८ मत प्राप्त गरिन्।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।