काठमाडौं– नेपाली चलचित्र क्षेत्रमा परिचित नाम हो रिम विश्वकर्मा । उनका चलचित्रहरुको छाप नेपाली समाजमा स्थापित नै छ । तर उनी चलचित्र उद्योगमा चित परिचित छन् त्यति परिचित मनोञ्जनका लागि सिनेमाघरसम्म जाने दर्शकमाझ कमै छन् । किनकी कथाको मुख्य पात्र नायकको छाप आम दर्शकमाझ परेको हुन्छ । सायद नेपालमा निर्देशक र कथावस्तु हेरेर फिल्म हेर्न हलसम्म जान थालेको धेरै भएको छैन ।
अधिकांश दर्शक सिनेमामा को मुख्य भूमिकामा छ र त्यो भूमिका कित दमदार छ भन्ने नै मुख्य ध्यानमा राख्छन् । तर त्यो नायकलाई ‘नायक’का रुपमा प्रस्तुत गर्ने र कथालाई जीवन्त बनाउने काम निर्देशककै हुन्छ ।
भलै आम दर्शकलाई फिल्म कसले बनायो भन्ने त्यतिधेरै चासो हुँदैन । तर फिल्म उद्योगमा कसले निर्देशन गरेको चलचित्र प्रभावकारी रह्यो भन्ने महत्व भने अवश्य हुन्छ ।
यस्तै फिल्ममार्फत् समाजलाई कथा देखाउने निर्देशक हुन् रिम विश्वकर्मा । पहिलोपटक एक निर्देशकका रुपमा भेट्दा र भेटिसकेपछि उनले बनाएका नाम सुन्दा म पनि आश्चर्यमा परेँ । गाउँमा भिसिडिमा सीडी ल्याएर उतिबेला पालो कुर्दै हेरिएका फिल्मध्ये उनको पनि फिल्म थियो ‘नेपाली वीर’ । उतिबेला फिल्ममा जो मुख्य पात्र हुन्थ्यो उही नै हर्ताकर्ता हो भन्ने लाग्थ्यो । तर बुझ्दै जाँदा त्यो मुख्य पात्रलाई जीवन्त बनाउने काम त निर्देशकको पो हुँदो रहेछ भन्ने पत्तो पाएँ ।
‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभाई माथिल्लो कक्षामा गए । तर आफू उही कक्षामा बस्नुपर्दा उनमा नैराश्यता आयो । उही कक्षा दोहोरिँदा उनलाई पढ्न मन लागेन । त्यसको साटो उनले साहित्यिक पुस्तकहरुमा ध्यान लगाए । पढ्दै जाँदा सृजना गर्ने रहर त्यतिबेलाबाट जाग्यो ।
उनले किताब अध्ययन मात्र होइन, प्रयास गरे अन्य विधामा पनि सक्नेरहेछु भन्ने पहिल्याए । त्यसपछि विद्यालयमा निबन्ध, कविता, गीत तथा गजल लेख्दै कैयौं प्रतियोगितामा भागसमेत लिए । अध्ययन र मनन मात्र होइन, कैयौं कथाका पात्रहरुमा उनले आफैंलाई उभ्याएर अनुभव गरे ।
जसकारण उनमा साहित्य, संगीत र सिनेमामा लगाव बढ्दै गयो । पहिलोपटक मुनामदन अध्ययन गरेपछि उनले त्यसलाई बुझे र यस्तो त आफू पनि लेख्न सकिने रहेछ भन्ने महसुस गरे । जसको फलस्वरुप उनले एउटा खण्डकाव्य नै लेखे । तर त्यो हालसम्म उनको कापीमै छ । प्रकाशनको तयारी नगरेका पनि होइनन् । भारतमा रहेका दाजुलाई प्रकाशनका लागि पठाए । तर त्यहाँ नछापिएपछि उनले आफ्नो पहिलो रचनालाई अझै संगालेर राखेका छन् ।
स्याङ्जाको चापाकोट खिलुङ दउराली–९ बलमाटामा जन्मिएका रिम विश्वकर्माले त्यहिँकै कालिका निमावि सम्म अध्ययन गरे । अहिले फिल्म निर्देशकका रुपमा परिचय बनाएका उनले पहिलोपल्ट हेरेको फिल्म हो ‘द ग्याम्बलर’ हो । उक्त फिल्मको कथा याद नभए पनि त्यसबेलाको बुझाइमा उनले समाजको ऐना चलचित्रमा देखे । र त्यहिँबाट कता कता फिल्म क्षेत्रप्रति उनको चाहना पलायो ।
२०५० मा एसएलसी दिएका उनी बीचको समय बिताउन दाजु भएको ठाउँमा इन्डिया गए । गाउँमै हुँदा गीत गाउन र अलिअलि बाजा बजाउन सिकेका उनले भारतमा हुँदा पियानो किनेर सिके । ‘पढाइ पनि राम्रै थियो । घरबाट सरकारी जागिरे भइदियोस भन्ने चाहना थियो । तर मेरो लगाव भने संगीतिर बढ्दै गयो’, फिल्म क्षेत्रमा जोडिनुअघिको चाहना राखे ।

त्यहाँ हुने स्थानीय शोहरुमा उनले सक्रियताका साथ सहभागिता जनाए । र आफू पनि सिक्दै गए । साउनमा रिजल्ट आयो । प्रथम श्रेणीमा पास भएका उनी फर्किए । पोखरा गएर उनले विन्ध्याबासिनी मन्दिरमा संगीत पाठशालामा भर्ना भए । त्यहाँ पृथ्वी नारायण क्याम्पसबाट प्रवीणतापत्र तह पास गरे ।
त्यहाँ अध्ययनसँगै संगीत सिकेका उनी स्नातक अध्ययनका लागि काठमाडौं आए । काठमाडौं आएपछि पनि उनले संगीत छोडेनन् । गुरुदेव कामतको छत्रछाउयाँमा उनले आफूलाई संगीतमा अव्यस्त बनाए ।
उनले भारतमा हुँदै कम्प्यूटर सिकिसकेका थिए । यहाँ आएपछि उनलाई सामान्य कामकाजका लागि सहज बन्यो । साथै उनले भिडियो सम्पादनमा पनि आफूलाई संलग्न गराए । काठमाडौं आएपछि संगीत मात्र नभइ चलचित्र क्षेत्रसँग पनि उनी जोडिइसकेका थिए । सोही कारण उनी बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनीमा आवद्ध भए ।
त्यहाँ उनले भिडियो सम्पादन कसरी हुँदो रहेछ भन्ने थाहा पाए र आफूले सिके पनि । केही खर्च पनि आउँथ्यो । उनले त्यहिँ हो फिल्मका बारेमा धेरै कुरा सिकेको । फिल्मका भिडियो सम्पादन मात्र होइन, उनी छायांकन हुने ठाउँमा पनि जान्थे । यो उनको रहर थिएन, भविष्यमा उनलाई फिल्म निर्देशन गर्नुथियो ।
फिल्म निर्देशनको यात्रा
यति सहज छैन फिल्म निर्देशन । झन फिल्म क्षेत्रभन्दा बाहिरका लागि त फलामको चिउरा चपाएजति नै हो । त्यसमा पनि भर्खर भर्खर अध्ययन गर्दै गरेका रिमका लागि सहज हुने कुरै भएन ।
उनले आफ्नो पहिलो निर्देशनको यात्रा सुरु गरे ‘नेपाली वीर’ बाट । रमित ढुंगाना र उषा पौडेल मुख्य भूमिकामा रहेको यो फिल्म ठिकै चल्यो । तर सोचेजति आम्दानी र चर्चा भएन । ‘अहिलेको जस्तो सामाजिक सञ्जाल र फिल्मबारे चर्चा हुने भए सायद राम्रै छाप छाड्थ्यो होला । तर त्यसबेला हलसम्म जति पुग्थे उनीहरु मात्रले थाहा पाए’ उनी भन्छन् । २०६५ सालमा रिलिज भएको नेपाली वीरमा ४५ लाख रुपैयाँ खर्च भयो । तर प्रदर्शनमा लगानीभन्दा अलिक कम नै संकलन भयो ।
पहिलो फिल्ममै घाटा लाग्दा पनि उनले आफ्नो कामलाई विश्राम दिएनन् । बरु अझ राम्रो गर्ने अठोटका साथ लगाव बढाइरहे । त्यसपछि उनले ‘एक पलको जीवन’, बन्धन यो मायाको फिल्म बनाए । उनी केवल निर्देशक मात्र होइनन् । उनी आफैं पनि स्टन्टका लागि कराँते, मार्सलआर्ट, छायांकन र सम्पादनका साथै संगीतमा पनि पारंगत छन् ।
उनले निर्देशन गरेका फिल्मका स्क्रिप्ट पनि आफैं लेखेका छन् । साथै लगानी पनि आफैं जुटाउँदै आएका छन् । बीचका केही समय उनले फिल्ममा हात हालेनन् । ‘आफ्नो रुचि त्यसैमाथि त्यसैका लागि यतिका दु:ख मिहेनत गरेको कुराबाट टाढा जान नसकिने रहेछ । फेरि म निर्देशनमै लागेँ’ उनी बताउँछन् ।
२०६८ मा उनले राष्ट्रियताभन्दा फरक मायाँ प्रेमको कथामा आधारित फिल्म ‘सम्झिराख है’ फिल्म निर्देशन गरे । लेखन पनि रिमकै थियो । सुमन सिंह र अस्मिता कँडेल फिचर्स थिए । उत्साहजनक व्यापार नगरे पनि यसले सन्तोष भने दियो र उनलाई ऊर्जासमेत दियो ।
२०७३ मा फेरि ‘रेलीमाई’ फिल्म बनाए । यसमा पनि आर्थिक रुपमा सन्तोष दिनेगरी उनी सफल भने भएनन् । तर कथाले राम्रै छाप छाड्यो । उनले नेपाली फिल्म मात्र निर्देशन गरेनन् । उनको निर्देशनको यात्रा भोजपुरी सिनेमासम्म पनि छ । ‘स्वर्ग जैसन घर हमार’ र याक्सन जनराको ‘छोरा अगती छोरी भगवती’ फिल्म निर्देशन गरे ।
उनका केही प्रोजेक्ट तयार भए पनि रलिज भएका छनन् । आर्ट बेसमा बनेको ‘द लेडी विथ द ल्याम्प’ फिल्मको ट्रेलर, गीत रिलिज भए पनि फिल्म भने रिलिज हुन सकेको छैन ।
अहिले उनी नयाँ फिल्ममार्फत् निर्देशनमा सक्रिय छन् । हेल्लो काँशीराम मार्फत् फिल्म क्षेत्रमा उनले आफ्ना पाइला मजबुद बनाउँदैछन् । ‘विगतमा गरेका कामहरुको सीप यो फिल्ममा देख्नुहुनेछ । मैले अहिलेसम्म निर्देशनमा जति ज्ञान, सीप र दक्षता हासिल गरेँ । त्यो यस फिल्ममा लगाएको छु । रिलिजपछि कस्तो प्रतिक्रिया आउँछ सोही अनुसार अघि बढ्छु । तर परिस्थिति जस्तो सुकै भए पनि यो यात्रा भने रोकिने छैन ।’
हेल्लो काँशीराममा निर्देशन मात्र होइन, लेखन पनि उनकै छ । फिल्म तयार भएर पनि जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ । यतिबेला यस फिल्मको सेन्सरसमेत पास भएको छ । अब यस फिल्मलाई हरेक वर्गका दर्शकले सजिलै हेर्न पाउनेछन् ।

शनिबार गरिएको सेन्सरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक विश्वकर्माले जानकारी दिए । ‘कमेडी शैलीमा निर्माण भएको फिल्म भित्रको कथाको रहस्य भने दर्शकले प्रदर्शन भएपछि थाहा पाउनेछन्, निर्देशक विश्वकर्माले भने, –‘तर, सेन्सर वोर्डका सदस्यहरुले समग्रमा फिल्मलाई राम्रो रेटिङ दिनुभयो । निकै खुसी बनाएको छ ।’
फिल्मको यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकहरुमा छुट्टै किसिमको कौतुहलता सिर्जना गरेको छ । विशेष गरेर दीलिप रायमाझीले बोको बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ ।
रेडलाइन फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । रिम निकै पुराना निर्देशक हुन् । यस फिल्मलाई पी.बी. थापाले लगानी गरेका हुन् । यम आलेले खिचेको फिल्मको लगानी डेढ करोड पुगेको बुझिएको छ । फिल्मलाई मित्र डी. गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन् ।
फिल्ममा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् । त्यस्तै, हालका चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरु पनि फिल्ममा देख्न पाइनेछ ।

यस फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भुमिका रहेको निर्माण टिमले जनाएको छ । प्रियंका नेपाली फिल्म उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने विश्वकर्माको भनाइ छ ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् ।
चलचित्रका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले फिल्मको संगीत पक्षलाई थप आकर्षक बनेको निर्माण पक्षको भनाइ छ ।
निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ लगायतका फिल्महरू निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन् । फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।