काठमाडौं– साताको अन्तिम कारोबार दिन सेयर सामान्य अंकले बढेर बन्द भएको छ।
बुधबार ३४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार ९ अंकले बढ्दै बन्द भएको हो। योसँगै आज सेयर बजार २७०३ विन्दुमा पुगेर बन्द भएको छ।
बिहीबार साढे ९ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ। बुधबार कुल ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो। आज फाइनान्समा आकर्षण देखिएको छ। बजार घट्दा यहीं सेक्टर सबैभन्दा धेरै घटेको थियो। गत आइतबारदेखि बजार बढे पनि फाइनान्सको प्रदर्शन कमजोर रहँदै आएको थियो।
आज बिहीबार भने एकै दिन यो समूह ४.०९ प्रतिशत बढेको छ। त्यस्तै जीवन बीमा २.६२, निर्जीवन बीमा २.२४ प्रतिशत बढे। बैंकिङ ०.३१, विकास बैंक १.२०, उत्पादन तथा प्रशोधन ०.३९ र अन्य समूह ०.०३ प्रतिशत बढे।
व्यापार १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशत घटे। नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो। त्यस्तै खानीखोला हाइड्रोपावरको ७.१७, समृद्धि फाइनान्सको ७.०८, भूगोल इनर्जीको ६.७८ तथा सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशत मूल्य बढ्यो।
सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो। धौलागिरि लघुवित्तको ५.५५ तथा पाँचथर पावरको ३.७९ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।