काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जायन्ट्स पनि प्ले अफ दौडबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा अभिषेक शर्माको उत्कृष्ट प्रदर्शन संगै सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले हराएको हो । उनले १८ बलमा अर्धशतक प्रहार गरेका थिए ।
२०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो । २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका अभिषेक ५९ रनमा आउट भए । हेन्रिक क्लासेनले २८ बलमा ४७ रन जोडे । लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले सात विकेटको क्षतिमा २०५ रन जोडेको थियो । सानदार सुरुवात गरेको लखनउका लागि मिचेल मार्स र आइडन म्याक्रमले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । मार्सले ३९ बलमा ६५ तथा म्याक्रमले ३८ बलमा ६१ रन जोडे । निकोलास पुरणले २६ बलमा ४५ रनको योगदान गरे ।
जारी आईपीएलमा अहिले सम्म पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र गुजरात टाइटन्स प्ले अफमा प्रवेश गरीसकेका छन् । अब मुम्बई इन्डियन र दिल्ली क्यापिटल प्ले अफ दौडको तीव्र प्रतिस्पर्धामा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।