काठमाडौं – सत्तारुढ नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी आर्थिक वर्षको बजेटमा खोट देखाउने ठाउँ नपाएपछि कतिपयलाई पीर–सुर्ता परेको टिप्पणी गरेका छन्।
उनले सामाजिक संजालमा पोस्ट गर्दै बजेटबारे केही कुरा थाहा नहुनेले पनि अर्तिबुद्धि दिएको भन्दै कटाक्ष गरेका हुन्।
विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएकाहरू पनि ‘नराम्रो भन्ने नसक्ने र राम्रो भन्न पनि मन नलाग्ने’ द्विविधामा परेको रिमालको बुझाइ छ। उनले बजेट मात्रै सबै विषय नभएको भन्दै गुण–दोष, तथ्य र तर्कका आधारमा टिप्पणी गर्नुपर्ने बताएका छन्।
नेता रिमालले लेखेका छन्, ‘नयाँ बजेटमा सबै पक्षको सकारात्मक प्रतिक्रिया आयो । यसले सरकारमा रहनेहरूलाई थप काम गर्न निश्चय नै प्रोत्साहन मिल्नेछ । दुःखको कुरा—विभिन्न दल र सार्वजनिक जीवनमा चिनिएका केही व्यक्तित्वहरूमा ‘नराम्रो भन्न नसक्ने – राम्रो भन्न मन नलाग्ने’ अनौठो द्विविधा देखियो। झन अचम्म त केही केहीहरूबाट—यो बजेटले “नराम्रै गर्छ” भन्ने कसरी देखाउने भन्ने ‘पीर–सुर्ता’ समेत देखियो । बजेट कुन चराको नाम हो थाहा पत्तो नहुनेको अर्तिबुद्धि त झनै उदेक लाग्दो रह्यो । यस्तो प्रवृत्ति राम्रो त हुँदै होइन है ! बजेट मात्रै हैन सबै विषय—गुण(दोष तथा तथ्य र तर्कमा “राम्रो(नराम्रो” भन्न सके कति राम्रो हुन्थ्यो होला हगि ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।