काठमाडौं– लगानी बोर्ड नेपालको ६४ औं बैठकले १ खर्ब १७ अर्ब ४० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्ड बैठकले मुक्तिनाथ केबलकार र माथिल्लो सेती जलविद्युत् आयोजनाको प्रस्तावक कम्पनीसँग पीडीए गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार ४३ दशमलव २ मेगावाटको छिलुङखोला जलविद्युत् आयोजना, २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजना र ४४ मेगावाटको बकान खोला जलविद्युत् परियोजनाको ५९ अर्ब ७६ करोड रुपैयाँ र मुक्तिानाथ केबलकारका लागि ५७ अर्ब ६४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो ।
पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँपुल) देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेसनसहित ८१ दशमलव ४१ किलोमिटरको लामो केबलकार निर्माण गर्न लागिएको छ । परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो ।
बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको सर्त आदि विषयमा वार्ता गर्न बोर्डका सीईओ ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केबलकार सञ्चालनमा आए स्थानीयस्तरमा ठूलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।
बैठकले ७ सय ५० मेगावाट क्षमताको १ खर्ब ६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत प्रतिवेदन थप अध्ययन गर्ने भएको छ । नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए ।
बैठकले जनकपुरमा रिफाइन इडिबल ओयल (खाने तेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरू अघि बढाउने निर्णय पनि गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।