काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ।
साताभर बढ्ने संकेत देखाएको सेयर बजार साताको अन्तिम कारोबार दिन सबै सूचक घटेका हुन्।
बिहीबार सेयर बजार २५ अंकले गिरावट आएको हो। यसअघि बुधबार १ अंकले गिरावट हुँदै सेयर बजार बन्द भएको थियो। योसँगै आज सेयर बजार २६२८ विन्दुमा कायम भएको छ।
यस्तै, आज कारोबार रकम भने दुई अर्बले बढेको छ। बुधबार झण्डै ९ अर्ब कारोबार भएको सेयर बजारमा आज ११ अर्ब २३ करोड बराबरको कारोबार भएको हो।
सबै समूहगत सूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै २.४७ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ ०.५०, विकास बैंक १.१२, फाइनान्स ०.९३, होटल तथा पर्यटन ०.९६, हाइड्रोपावर १.३४, लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६, निर्जीवन बीमा ०.३४ तथा अन्य समूह १.१२ प्रतिशत घटे।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५.५५, शिवश्री हाइड्रोको ४.०४, पाँचथर पावरको ३.५९ र आँखुखोला जलविद्युत् कम्पनीको ३.२३ प्रतिशत बढ्यो।
तीन कम्पनीको मूल्य १० प्रतिशत घटेको छ। पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घटेको हो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.४४, सप्तकोशी विकास बैंकको ५.९० प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, बुटवल पावर, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।