काठमाडौँ– इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा कांग्रेस नेता मोहम्मद आफ्ताब आलमले अदालतबाट सफाइ पाइसकेका छन्। तर, उच्च अदालतको फैसला भने विवादमुक्त हुन सकेको छेन्।
यसैबीच सो प्रकरणमा जोडिएका एक ‘पीडित’४३ वर्षीय गौरीशंकर राम चमार भारतको बिहार सीतामढीबाट बयान दिन काठमाडौं आएका हुन्। आज उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेका छन्।
पत्रकार सम्मेलनमा उनले आफू अब फेरी सर्वोच्च अदालतसम्म न्यायको लागि जाने बताएका छन्। ‘त्यहाँ बम विस्फोट भएर घाइते भएको म छु। प्रमाण म यहाँ छु। मलाई अन्याय भएको छ मैले भनिरहेको छु,’ उनले भने।
आलमले रौतहटको राजपुर फरहदवामा चलाएको राजा इँटाभट्टामा काम गर्थे चमार। त्यो दिन उनी पैसा लिन घरमा गएका थिए। उनले भनाइअनुसार त्यहाँ बम बनाउने काम भइरहेको थियो। त्यो क्रममा बम पड्किएपछि उनी घाइते भए।घटनामा उनले दुवै कान गुमाए। अनुहार, घाँटी र छातीमा गम्भीर चोट लागेको छ। घटना पछिका खतका कारण उनी कान, टाउको, अनुहार र घाँटी गम्छाले ढाकेर हिँड्छन् । आइतबारको पत्रकार सम्मेलनमा पनि उनी त्यही स्वरूपमा आएका थिए।
उक्त इँटाभट्टामा जिउँदै मान्छे जलाएको आरोप आलममाथि छ। उक्त घटनामा यथेष्ट प्रमाण नभेटिएको भन्दै उच्च अदालत वीरगन्ज इजलासले सफाइ दिएको हो। बम पड्किएकै पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ। गौरीशंकर आफू बम बिष्फोटको साक्षीमात्र नभएर घाइते समेत भएको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।