काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् व्यवस्थापनका लागि आवश्यक राष्ट्रिय नीति नै बनाएर काम गरिरहेको बताएका हुन्। विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४औं बैठकलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूकम्पले क्षति पु¥याएको संरचनाहरुको पुनस्र्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको स्मरण गराए।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको काममा अन्तर्राष्ट्रिय समूदायले गरेको सहयोगको प्रशंषा गरे। उनले प्राकृतिक विपत्तिको कुनै सीमा र पूर्वानुमान नहुने उल्लेख गर्दै सूचना, प्रविधि र विज्ञानमा आधारित भएर सरकारले विपद् व्यवस्थापनको कामलाई अघि बढाएको पनि स्पष्ट पारे।
एसिया प्रशान्त क्षेत्रका विपद् व्यवस्थापनसम्बन्धी २६ मुलुकका प्रतिनिधिहरु सहभागी रहेको सो बैठक ३ दिनसम्म चल्नेछ। बैठकमा दिगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।