काठमाडौं: शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय ‘चियर्सलिडर्स’ ल्याइएको छ।
अघिल्लो सिजनमा स्वदेशी युवतीले ‘चियर्सलिडर्स’ रुपमा काम गरेकोमा यसपटकदेखि विदेशी युवातीलाई ‘चियर्सलिडर्स’ रुपमा ल्याइएको हो। आयोजक इपिएलले ६ जना ब्रिटिस युवतीले ‘चियर्सलिडर्स’ रुपमा काम गर्ने बिहीबार होटल सांग्रिलामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
उनीहरुले प्रत्येक खेलका दौरान टिमको सफलतामा नाचेर मनोरन्जन प्रदान गर्नेछन्। हरेक टिमका लागि ३–३ जना युवाती मैदानमा हुनेछन्। युवतीले विकेट, चौका र छक्कामा नाच्नेछन्।
इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरका अनुसार ‘चियर्सलिडर्स’ का लागि खाने, बस्ने र पकेट खर्च प्रदान गरिएको छ। ‘हामीले ‘चियर्सलिडर्स’ लाई पारिश्रमिक भन्दा पनि ‘होलिडे प्याकेज’ दिएर ल्याएका हौं, ‘ अख्तरले भने, ‘उनीहरुलाई हामीले साइड सिनको पनि व्यवस्थान गरेका छौं। उनीहरु ट्रेकिङको रुपमा नेपाल आएको भन्न पनि मिल्छ।‘
नेपाल आएका ६ ‘चियर्सलिडर्स’ले इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्स (दिल्ली क्यापिटल्स्) का लागि काम गरिसकेका छन्। गत सिजनको आइपिएलको खेल हेर्न गएको बेला दिल्लीसँग ‘चियर्सलिडर्स‘ नेपाल ल्याउन कुरा भएको अख्तरले बताए। अख्तरले भने, ‘हामीले ‘चियर्सलिडर्स‘को कुरा गरेका थियौं। फलस्वरुपमा अहिले इपिएलमा हामीले पाएका छौं।‘
नेपाल आएका ‘चियर्सलिडर्स’ले भारतमा भइरहेको हकी विश्वकपको उद्घाटन खेलमा पनि आफ्नो प्रस्तुति दिएका थिए। नेपालमा काम गर्न पाउदा उत्साहित भएको ‘चियर्सलिडर्स’ जेसिकाले बताइन्। उनले भनिन्, ‘नेपाली क्रिकेट फ्यानका लागि मनोरन्जन प्रदान गर्न हामी उत्साहित छौं।‘





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।