काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा बिचौलियाहरुको लहैलहैमा लागेपछि अघि बढिसकेको नेपाल टेलिकमको फोरजी एलटिई सेवा विस्तारको टेन्डर प्रक्रिया विवादित भएको छ। मन्त्री बाँस्कोटाले चिनियाँ कम्पनी जेटिई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सिसिएसआई) ले प्राप्त गर्ने दुई फरक फरक जिम्मेवारीका ठेक्कालाई बाँडेर लिने प्रपञ्चमा चासो देखाएपछि दुरसञ्चार कर्मचारीहरु पनि रुष्ट देखिएका छन्।
‘नेपालको सार्वजनिक खरिद ऐन र नियमावली अनुसार नै टेन्डर प्रक्रिया अघि बढिसकेको छ, तर यसमा दुई ठेकेदारलाई मिलेर आऊ, बाँडफाँड गर भन्नु नियमावली विपरितको तर्क हो’, टेलिकमका उच्च ओहदाका एक कर्मचारीले नेपाल लाइभसँग भने, ‘अघिल्लो वर्ष नै फोरजी सेवा विस्तार हुनुपर्ने काम अझै सकिएको छैन, यदि मन्त्रीज्यूले भने अनुसार गर्ने हो भने ठेक्का प्रक्रिया फेरि अवरुद्ध हुने छ।’
नेपाल टेलिकमको प्रतिस्पर्धी निजी कम्पनी एनसेलले नेपाल टेलिकमले भन्दा ६ महिना पछाडि मात्र फोरजी सेवा विस्तारको काम शुरु गरेको थियो। अहिले उसको यो सेवा देशका मुख्य शहरमा विस्तार भईसकेको छ। तर नेपाल टेलिकमले काठमाडौं उपत्यका र पोखराका भन्दा अन्यत्र सेवा विस्तार गर्न सकेको छैन। यसबाट टेलिकमले करोडौं रुपियाँ गुमाउँदै आइरहेको छ।
टेलिकमको फोरजी विस्तारका लागि २०७४ कात्तिक २२ गते टेण्डर आव्हान भएको थियो। ठेक्का दुई भागमा गरिएको थियो। फोरजी/एलटीइ कोर नेटर्वक र रेडियो एक्सिस नेटवर्क ( आरएएन ) शिर्षकमा भएका ठेक्का आव्हानमा चीनको जेडटिइ कम्पनीले ‘कोर’ शिर्षकको प्रस्तावमा सबैभन्दा कम ‘विडिङ’ गरेको थियो।
उसले कोर शीर्षकाका लागि करिब १ अर्ब ५६ करोड ७३ लाख रुपियाँ प्रस्ताव गरेको छ। सो रकम उसको अनुमान लागतभन्दा करीब ५९.६१ प्रतिशत कम हो।
त्यसैगरी, आरएएन (आइ) शिर्षकामा चीनकै अर्को कम्पनी सीसीएसआइले करिब ८ अर्ब ७५ करिब २६ लाखको प्रस्ताव पेस गरेर सबैभन्दा कम प्रस्तावक बनेर छनोटको अन्तिम अवस्थामा पुगेको छ। यस्तै आरएएन (आइआइ) को लागि पनि सीसीएसआइले नै सबैभन्दा कम प्रस्ताव गरेको छ। जसको मूल्य ८ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ रहेको छ। यी दुबै प्रस्ताव अनुमान लागतभन्दा क्रमशः २५.०६ प्रतिशत र २४.८८ प्रतिशत कम हुन्।
सार्वजनिक खरिद ऐन नियमावली अनुसार अन्तिम चरणमा रहेका यी ठेक्का प्रक्रियामा कम रमकको एउटा शिर्षकमा ठेक्का पारेको जेडटीइका नेपालस्थित स्थानीय एजेन्टहरुले मन्त्रीलाई प्रभावित पार्न खोजेपछि प्रक्रियामा शंसय पैदा भएको स्रोतहरुको दाबी छ।
जेडटीइले ठूलो रकमको ठेक्कामा नियम विपरित आफ्नो पनि हिस्सेदारी चाहिरहेको छ। जेडटीइका लागि ठेकेदार दिपक भट्ट र नेता वामदेव गौतमका छोरा हरिश गौतमले लविङ गरिरहेको स्रोतको दाबी छ। ‘यस्तो भयो भने मन्त्री पनि विवादमा पर्नुहुन्छ र काम पनि अघि बढ्दैन’, टेलिकमका अर्का एक कर्मचारी भन्छन्, ‘हुँदै नहुने कामका लागि किन लविङ भइरहेको हो बुझ्न सकिएको छैन।’
त्यसै पनि टेलिकमका लागि जेडटीइको ‘पर्फमेन्स’ विवादित छ। जेडटीइले यसअघि नै टेलिकमलाई उपलव्ध गराएको स्वीचिङ राउटरमा समस्या औल्याएको छ। यही राउटरको कम गुणस्तरका कारण फोन आउँदा कल ड्रपको समस्या दोहोरिने गरेको बताइन्छ।
पछिल्लो ठेक्का प्रक्रिया अघि बढ्न अख्तियारको छानबिनका कारण ढिला भइसकेको थियो। फोरजी सेवा विस्तार गर्न नसकेको भन्दै यसअघि टेलिकम हाँकिरहेकी कामिनी राजभण्डारीलाई सरकारले घर पठायो पनि। ‘तर फेरि अनावश्यक विवाद र ऐन विपरित लविङले फोरजी विस्तार अवरुद्ध नहोस्’ ती कर्मचारीले भने, ‘यसबारे मन्त्रालय र प्राधिकरण सचेत हुन जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।