काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन भएका छन्।
आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित उनलाई अनुमोदन गरेको हो।
राणालाई मंसिर २७ गते बसेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसअघि न्याय परिषद्ले राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो।
जोशी भने यसअघि नै प्रधानन्यायाधीशमा सिफारिस भई संसदीय सुनुवाइ विशेष समितिबाट अस्विकृत भएका थिए।
नियुक्तिदेखि नै विवादमा तानिएका राणाको नाममा ९ वटा उजुरी संसदीय समितिमा परेका थिए। आइतबारको बैठकमा उनले आफूमाथि लागेका उजुरीहरुको जवाफ दिएका थिए।
सर्वोच्च अदालतको स्थायी न्यायाधीशको रुपमा ३ वर्ष काम गरेको व्यक्ति हुनुपर्ने र जबराबाहेक त्यस्ता व्यक्ति नभएकाले उनको नाम स्वतः स्वीकृत हुने पूर्व आकलन गरिएको थियो।
राष्ट्रपतिबाट सपथ लिएसँगै उनी ६७ वर्षे इतिहास भएको न्यायालयको २८औं नेतृत्वकर्ता बन्नेछन्। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रधानन्यायाधीशले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।