काठमाडौं– महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ।
वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो।
वृत्तका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर खोजतलास गर्दा सुन र नगदसहित अधिकारीलाई पक्राउ गरेको जानकारी दिए।
‘अधिकारीलाई सोधपुछ गर्दा आफूले सुन र नगद चोरी गरेर ल्याएको स्वीकारेका थिए’, प्रसाईंले भने।
पक्राउ परेका अधिकारीबाट प्रहरीले २३ हजार ६ सय ५० नगद रुपैयाँ, पोतेसहित तिलहरी एक थान, मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान, मोबाइल एक थान, रातो हाते ब्याग एक थान, सुनको बिल एक थान बरामद गरेको छ।
अधिकारीलाई चोरी सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको वृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।