बीबीसी– अमेरिकाको लस भेगसको प्रहरीले बलात्कारको आरोप लागेका पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डीएनएको नमुना मागेको छ।
इटलीको युभेन्टस क्लबका एक वकिल पिटर क्रिस्टियान्सेनले बीबीसी स्पोर्टसँग कुरा गर्दै यो एकदमै स्वाभाविक माग भएको बताए।
हाल रोनाल्डो युभेन्टस क्लबसँग अनुबन्धित छन्।
रोनाल्डोले क्याथरिन मायोर्गा नामक महिलालाई सन् २००९ मा लस भेगसको होटलमा योन आक्रमण गरेको आरोप अस्वीकार गरेका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरण अनुसार मायोर्गाको वस्त्र परीक्षण गर्दा अर्को व्यक्तिको डीएनए पनि पाइएको थियो।
वाल स्ट्रीट जर्नलका अनुसार इटलीको अदालती प्रणालीसमक्ष अमेरिकी प्रहरीले उक्त मागसहितको निवेदन हालै दिएको थियो।
"रोनाल्डोले जहिले पनि र आज पनि के भन्दै आएका छन् भने लस भेगसमा सन् २००९ मा जे भएको थियो त्यो आपसी सहमतिमै भएको थियो। त्यसैले उनको डीएनए फेला पर्नु कुनै अनौठो होइन। साथै यस्ता मामिलामा प्रहरीले नमुना माग्नु पनि अनौठो होइन।"
जर्मन साप्ताहिक पत्रिका डेर स्पिगलले उक्त आरोप लागेको बारे अक्टोबरमा सबभन्दा पहिले रिपोर्ट प्रकाशन गरेको थियो।
सो पत्रिकाका अनुसार मायोर्गाले उक्त आरोपित घटनालगत्तै लस भेगसको प्रहरीसमक्ष उजुरी गरेकी थिइन्।
तर अर्को वर्ष उनले रोनाल्डोसँग छुट्टै सम्झौता गरेको बताइयो जस अनुसार उनलाई करिब पौने चार लाख डलरको भुक्तानी गरियो जसको बदलामा ती आरोप सार्वजनिक नगरिने शर्त राखियो।
तर उनका वकिलहरू अब त्यो सम्झौता रद्द गर्न चाहन्छन्।
रोनाल्डोका वकिलहरूले विगतमा त्यस्तो सम्झौता गरिएको रोनाल्डोले अस्वीकार नगरेको बताएका छन्।
तर त्यो कुनै पनि हालतमा 'दोषी भएको स्वीकारोक्ति' नभएको उनीहरूले जनाएका छन्।
आफ्नो उजुरीमा मायोर्गाले रोनाल्डोलाई पाल्म्स होटल एन्ड सिनोको रेन नाइटक्लबमा भेटेको र पछि रोनाल्डोको कोठामा उनको बलात्कार भएको उल्लेख गरेकी छन्।
गत जुलाई महिनामा रियल मड्रिड क्लबबाट करिब १३ करोड डलरमा रोनाल्डो युभेन्टसमा सरेका थिए।
उनले विश्वको सबभन्दा उत्कृष्ट फुटबल खेलाडीलाई दिइने ब्यालन डोर उपाधि सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।