काठमाडौं- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमाले प्रहरीले लिएको डिएनए निर्मलाकै भएकोमा शंका व्यक्त गरेकी छन्।
पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा प्रहरीका अनेक कमजोरी खुल्दै गइरहेका बेला आमा दुर्गादेवीले निर्मलाको भनेर प्रहरीले राखेको डिएनएमा पनि प्रश्न उठाएकी हुन्। ‘प्रहरीले नै निर्मलाको कपडा धुने, प्रमाण मेटाउने काम गरे,’ नेपाल लाइभसँगको कुराकानीमा उनले भनिन्, ‘उनीहरुले निर्मलाको डिएनए राखेको भन्छन्। तर, हामीलाई निर्मलाको साँचो डिएनए राखेको भन्ने प्रहरीको भनाइमा शंका छ।’
निर्मलाको हत्यामा संलग्न भएको भन्दै प्रहरीले धेरैलाई पक्राउ गरेको थियो र उनीहरुको डिएन नमिलेको भन्दै छाडेको थियो।
निर्मलाकै डिएनए हो/होइन भनेर विश्ववस्त हुन दुर्गादेवीले रगत दिएकी छन्। तर, उनका श्रीमान् यज्ञराजको त्यसमा असहमति छ।
‘निर्मलाका आमाबुवाको रगत लिएर डिएन म्याच गराउन चाहन्छौं भन्ने सबै अधिकारकर्मी र नागरिक समाजको पहिलेदेखिकै माग थियो,’ दुर्गादेवी ले भनिन्, ‘हाम्रो पनि त्यही माग हो। निर्मलाको डिएनए म्याच गराउन मैले रगत दिएकी हुँ। त्यसै अनुसार मैले श्रीमान्लाई पनि रगत दिऊँ भनेकी थिएँ, उनले मानेनन्।’
निर्मलाका बुवा यज्ञराज भने रगत दिएको र निर्मलका नाममा राहत बुझ्न लागेको भन्दै असन्तुष्ट छन्।
राहतले परिवारमै कलह
सरकारले दिने भनेको राहत आफूले बुझ्ने बताएपछि निर्मलाको परिवारमै कलह सुरु भएको छ।
संघीय सरकार, सुदूरपश्चिम सरकार र स्थानीय तहले छुट्टाछुट्टै राहत घोषणा गरेका थिए। तीनवटै सरकारले जम्मा १८ लाख राहत दिने निर्णय गरेका हुन्।
सुरुमा पन्त परिवारले त्यसलाई अस्विकार गरे पनि दुर्गादेवी सहमत भएपछि यज्ञराज असन्तुष्ट भएका हुन्।
छोरीको हत्यापछि मानसकि सन्तुलन समेत गुमाएका भनिएका उनले न्याय नपाई राहत बुझ्न खोजेको भन्दै दुर्गादेवीमाथि हातपात गरेको घटनासमेत सार्वजनिक भएको छ।
‘तैंले अहिले किन राहत बुझ्नुपर्यो? तँलाई के पुगेन? भन्दै मलाई हातपात गर्न आए,’ उनले भनिन्, ‘कि तलाईं मार्छु कि म मर्छु भने। त्यसमपछि म भित्र जान नै डराएँ।’
दुर्गादेवी भने निर्मलाको मुद्दा कमजोर पार्न नभई आफूले अरु छोरीको पनि भविष्य हेरेर राहत लिन तयार भएको बताउँछिन्। उनका निर्मलासहित तीन छोरी छन्।
‘अपराधी छिटो पत्ता लगोस् भनेर मैले अहिलेसम्म राहत नबुझ्ने भनेकी थिएँ,’ उनको भनाइ छ, ‘तर धर्ना बसेको पनि दुई महिना भइसक्यो। अपराधी पत्ता लगाएको छैन। कत्तिन्जेल भौंतारिएर बसिरहने? मैले अरु छोरीको भविष्य हेर्नुपरेन?’
निर्मलाको मुद्दाको अन्तर्राष्ट्रियकरण भइसकेको भन्दै उनले राहत लिँदैमा सरकारले मुद्दा थाती राखेर बस्न नसक्ने दाबी गर्छिन्। ‘‘राज्यलाई दाग लागेको छ। न्याय दिएर दाग मेटाउनुपर्छ,' उनले भनिन्।
गत साउन १० गते कञ्चनपुर उल्टाखामस्थित घरबाट साथीको घरमा हिँडेकी निर्मला बेपत्ता भएकी थिएन्। भोलिपल्ट उनको शव बलात्कार गरेर हत्या गरिएको अवस्थामा नजिकै उखुबारीमा फेला पारेको प्रहरीको भनाइ छ।
स्थानीय बासिन्दाका साथै देशभरबाट अपराधी पत्ता लगाउन आन्दोलन भएका थिए। प्रहरीविरूद्ध कञ्चनपुरमा भएको प्रदर्शनमा गोली लागी एक युवकको मृत्युसमेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।