काठमाडौ – नेपाल सरकारले हालै परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ।
आयोगको सोमबार बसेको बैठकले संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी सच्याउन सरकारसँग आग्रह गरेको छ। अख्तियारले आजै एक विज्ञप्ती जारी गरी नयाँ मर्यादाक्रमले संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा राखेकाले कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यतासमेत प्रभावित भएको भन्दै असन्तुष्टि जनाएको हो।
अख्तियारले नयाँ मर्यादाक्रमले पदाधिकारीको मनोबलमासमेत असर पर्ने देखिएको भन्दै यस अघिकै व्यवस्था कायम राख्न आग्रह गरेको हो। ‘संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यतासमेत प्रभावित हुने अवस्था सिर्जना भएकोे छ,’ अख्तियार प्रवक्ता रामेश्वर दंगालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मान्न आयोग नेपाल सरकार समक्ष आग्रह गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।