काठमाडौं- यतिबेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका ७ वटा जहाज ग्राउन्डेड छन्। जसमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएको बोइङ ७५७ ग्राउन्डेड भएको मात्रै ५५ दिन पुगेको छ। बोइङ मात्र नेपाल वायुसेवा निगमले सातामा मलेसिया ३ र दिल्लीमा ३ उडान गर्दै आएको थियो।
यसैगरी ४ वटा चिनियाँ वाई–१२ जहाज पनि ग्राउन्डेड छन्। तीमध्ये एउटा ग्राउन्डेड भएको साढे एक वर्षभन्दा बढी भइसकेको छ। ३ वटा वाई–१२ जहाज भने उडानका लागि पाइलट तयार हुँदा पनि ४१ दिनदेखि थन्किएको छ। चिनियाँ एमए६० र एक ट्विनअटर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै थन्किएका छन्।
५५ दिनदेखि बोइङ किन ग्राउन्डेड?
२८ अक्टोबर, २०१८ मा निगमले मर्मतका लागि बोइङ मलेसिया पठाएको थियो। जहाज मर्मतपछि १६ जनवरी, २०१९ मा जहाज मलेसियबाट काठमाडौं आउँदै थियो। तर, आकाशमै उडिरहेको बेला 'विङ स्क्रिन' बिग्रन गयो। समस्या आए पनि जहाज काठमाडौं विमानस्थलमा अवतरण गरिएको थियो।
त्यसपछि केही दिन जहाज ग्राउन्डेड भयो। ग्राउन्डेड भएको जहाज प्राविधिक टोलीले मर्मत गरेर उडान योग्य बनाए। तर, जहाज उडान योग्य हुँदै गर्दा बोइङ उडान गरिरहेका पाइलटहरुको सिप परीक्षण प्रमाणपत्र (पिपिसी) म्याद सकिएको थियो।
पाइलटहरुले पनि जहाज नै नउडाई ४५ घन्टा बराबरको मासिक २ लाखभन्दा बढी तलब लिइरहेका छन्।
उनीहरुले जहाज उडाउन पाएनन्। बोइङ उडान गर्ने क्याप्टेनहरु ओमबहादुर गुरुङ, शुक्र शमशेर जंगबहादुर राणा, दिपाल शेरचन र रवीन्द्रबहादुर श्रेष्ठको पिपिसी म्याद सकिएको थियो। बोइङ उडान गर्ने चारैजना पाइलटको पिपिसी नवीकरण हुन नसक्दा अहिले पनि जहाज ग्राउन्डेड भएको छ।
तर, निगम व्यवस्थापनले अझैसम्म पाइलटलाई पिपिसी नवीकरण गर्न चीन पठाउने तयारी गरेको छैन। पाइलटहरुले पनि जहाज नै नउडाई ४५ घन्टा बराबरको मासिक २ लाखभन्दा बढी तलब लिइरहेका छन्।
पिपिसी परीक्षण प्रमाणपत्र नवीकरण नहुँदा जहाज कहिलेबाट उड्ने निश्चित हुन सकेको छैन। पाइटलको पिपिसी वर्षमा दुई पटक नवीकरण गर्नुपर्ने हुन्छ।
पिपिसीका लागि निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएर ट्रेनिङ सेन्टर रहेको देशमा जानुपर्छ। तर, बोइङ उडान गर्दै आएको चारैजना पाइलटको पिपिसी नवीकरणका लागि प्रक्रियासमेत थालनी नभएको एक वरिष्ठ पाइलटले जानकारी दिए।
तर, निगमका प्रवक्ता पाइलट विजय लामाले भने सो विमानको उडान गराउने वा नगराउने भन्ने अन्योल रहेकाले पिपिसी नवीकरणमा समस्या आएको बताए। उनले बोइङ जहाज उडानलाई पनि निरन्तरता दिइने बताए। यो विषयमा अध्ययन गर्न गठित कमिटीले प्रतिवेदन तयार पारिसकेको समेत उनको भनाइ छ। पिपिसी नवीकरण हुन बाँकी पाइलटको केही दिनभित्रै नवीकरण हुने र जहाज पनि उड्ने उनले बताए।
४१ दिन देखि वाई–१२ ग्राउन्डेड
निगमकै ३ वटा वाई–१२ जहाज ४१ दिनदेखि उडान योग्य भए पनि ग्राउन्डेड भएका छन्। एउटा वाई–१२ जहाज भने डेढ वर्षदेखि ग्राउन्डेड भएर बसेको छ। लामो सयमदेखि ग्राउन्डेड भएको जहाज भने तत्काल मर्मत हुने अवस्थामा पनि छैन।

३ वटा वाई–१२ जहाज भने निगमका कार्यकारी अध्यक्ष मदन खरेलकै मनपरीका कारण जहाज ग्राउन्डेड भएको छ। खरेलले वाई–१२ जहाज उडान गरिरहेका पाइलट उद्धव घिमिरेलाई ए–३२० जहाज उडानका लागि प्रशिक्षणमा पठाउने निर्णय गरेसँगै चारैवटा चिनियाँ जहाज वाई–१२ ग्राउन्डेड भएका हुन्।
मासिक १० लाख रुपैयाँभन्दा बढी तलब लिने आङनुरी शेर्पाको पनि पिपिसी नवीकरण हुन नसक्दा ३१ जनवरीबाट वाई-१२ जहाज ग्राउन्डेड भएको हो।
वाई–१२ जहाज उडान सन्जय बादे, नेपेन्द्र भट्टराई, उद्धव घिमिरे र आङनुरी शेर्पाले गर्दै आएका थिए।
तर, खरेलले गरेको सो निर्णयमा निगमका सिनियर पाइलट बादे र भट्टराई सन्तुष्ट हुन सकेनन्। आफूहरुलाई ए–३२० को प्रशिक्षणमा नपठाएको भन्दै उनीहरू बिरामी बिदामा बसे। यसपछि सबै चिनियाँ जहाज ग्राउन्डेड हुन पुगे। तर, भट्टराईले फेब्रुअरी २५ मा उडानका लागि तयारी भएको सूचना दिँदा पनि निगम व्यवस्थापनले १६ दिनदेखि जहाज उडान गर्न दिएको छैन।
निगमले भट्टराईलाई २७ फेब्रुअरीमा काठमाडौं–दाङ, दाङ–काठमाडौं उडान गर्ने सेड्युलमा राखेको थियो। तर, उक्त दिन मौसम प्रतिकूलताका कारण जहाजले उडान भर्न सकेन। त्यसपछि भने निगम व्यवस्थापनले भट्टराईसँग मेडिकल रिपोर्ट मागेर जहाज उडानका रोक लगाएको छ। तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको मेडिकल टेस्ट रिपोर्ट मार्च २०१९ सम्म छ।
यता २८ फेब्रुअरीमा बिरामी बिदामा बसेका पाइलट बादे पनि जहाज उडानका लागि निगम फर्केका थिए। तर, उनलाई पनि जहाज उडान गर्न दिइएन। फेरि केही दिनपछि उनी बिरामी बिदामा बसेको निगम स्रोतले बतायो।
यता मासिक १० लाख रुपैयाँभन्दा बढी तलब लिने आङनुरी शेर्पाको पनि पिपिसी नवीकरण हुन नसक्दा ३१ जनवरीबाट वाई-१२ जहाज ग्राउन्डेड भएको हो। शेर्पा चीन गए पनि पिपिसी नवीकरण नगरी फर्केका छन्।
अध्यक्ष खरेलले नियमविपरीत घिमिरेलाई ए–३२० जहाज उडान पाइलट प्रशिक्षणमा पठाउँदा सबै जहाज ग्राउन्डेड भएको निगमका एक वरिष्ठ पाइलटले बताए।
निगमको सेवा प्रवेश गर्दा जुन व्यक्ति पहिले प्रवेश गरेको हो, उसलाई नै पेसागत वृद्धि विकासमा पहिलो अवसर हुने व्यवस्था उल्लंघन गरेकाले जहाज ग्राउन्डेड भएको स्रोतको दाबी छ।
सिनियर पाइलटलाई प्रशिक्षणमा जान रोक लगाउँदै खरेलले म्यान्युअल परिवर्तन गरेपछि समस्या सिर्जना भएको स्रोत बताउँछ।
चिनियाँ एमए ६० पनि एउटा मात्रै उडानमा
निगमसँग रहेको दुई वटा एमए ६० जहाजमध्ये एउटा जहाज ग्राउन्डेड भएर बसेको छ। एमए ६० ले अहिले दैनिक दुई गन्तव्यमा उडान गरिरहेको छ। एमए ६० ले विराटनगर, भद्रपुर, नेपालगन्ज र धनगढीमा उडान गरिरहेको छ।
ग्राउन्डेड भएको एमए ६० जहाज पनि तत्काल मर्मत हुने अवस्थामा छैन। यी जहाज सम्राटबहादुर शाह र अर्पित श्रेष्ठले उडान गर्दै आएका छन्।
एक ट्विनअटर पनि ग्राउन्डेड

निगमसँग रहेको ३ वटा ट्विनअटर जहाजमध्ये एउटा ग्राउन्डेड भएर बसेको छ। ट्विनअटर उडानमा ४ जना पाइलट रहेका छन्। यसबाहेक थप एक जना पाइलटको लाइसेन्स छ। तर, मानबहादुर तुम्बाहाम्फेले नै उक्त लाइसेन्सका आधारमा पाइलटको सेवासुविधा लिइरहेका छन्। उनी भने को-पाइलटको भूमिकाका उडिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।