काठमाडौं- पूर्व अर्थमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेकोे दाबी गरेका छन्।
नेता महतले नेपालको समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेपनि त्यसका लागि सरकार सक्षम नभएको दाबी गरेका हुन्।
सरकारले वैदेशिक लगानी भित्र्याउन यही चैत्र १५ र १६ गते काठमाडौंमा ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्दैछ। तर काँग्रेस नेता महतले सो लगानी सम्मेलनबाट वैदेशिक लगानी भित्र्याउन सरकारले आवश्यक पूर्वाधार विकास नगरेको दाबी गरे।
'सडक, एयरपोर्टलगायतका भौतिक पूर्वाधार तयार नपारी आयोजना गर्न लागिएको लगानी सम्मेलनबाट वैदेशिक लगानी आउदैन,' बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले भने, 'नेपालमा जलस्रोत, उद्योग, पर्यटन, वन लगायतको क्षेत्रको विकासका लागि वैदेशिक लगानी अनिवार्य भएपनि त्यसलाई भित्र्याउन भौतिक पूर्वाधार विकास गर्नुपर्नेमा सरकारले त्यसो गर्न सकेको छैन।'
काँग्रेस नेता महतले सरकारले वैदेशिक लगानी भित्र्याउन कानुन निर्माणको काम गरेपनि भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिन नसकेको पनि स्मरण गराए।
नेपालको समग्र विकासका लागि निजी क्षेत्र र सरकारको लगानी पर्याप्त नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।