काठमाडौं– सोमबार राति इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत किंग्स–११ पञ्जाव र राजस्थान रोयल्सबीचको खेल चलिरहेको थियो। पहिले ब्याटिङ गरेको पञ्जावले ४ विकेटको क्षतिमा १ सय ८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको राजस्थानले उत्कृष्ट सुरुवात गर्यो। उसले १३ ओभर चल्दा १ सय रन कटइसकेको थियो भने १ विकेट मात्र गुमाएको थियो। ओपनिङ ब्याट्सम्यान जोश बलटरले अर्धशतक प्रहार गरेका थिए भने उनलाई सन्जु सामसनले साथ दिइरहेका थिए।
१३औं ओभरको पाँचौ बलमा बटलर ६९ रनमा रनआउट हुन पुगे। पञ्जावका कप्तान रविचन्द्रन आस्विनले बलिङ गर्ने क्रममा बटलरलाई रनआउट गरेका थिए। ननस्ट्राइकमा रहेका बटलरले क्रिज छोडेपछि आस्विनले बलिङ गर्नुको सट्टा रनआउट गरे।
नियमअनुसार बलिङका दौरान ननस्ट्राइकमा रहेका ब्याट्सम्यानलाई रनआउट गर्न पाइन्छ। तर बलरले बलिङका लागि तयार भइसकेको हुनु पर्नेछ। अथवा बलर कुदेर हात घुमाइसकेको अवस्थामा ब्याट्सम्यानले क्रिज छाडे रनआउट गर्न पाइने नियम छ।
उत्कृष्ट खेलिरहेका बटलर आउट भएपछि खेल राजस्थानले पञ्जावलाई १४ रनले सुम्पिएको थियो।
आस्विनले पनि सोमबार बटलरले क्रिज छोडेको अवस्थामा रनआउट गरेका थिए। भिडियो रिभ्यूमार्फत बटलर आउट भएको निर्णय सुनाइएको थियो।
यद्यपी आस्विनले खेल भावना विपरित काम गरेको भन्दै व्यापक आलोचना भएको छ। यद्यपी कतिपयले नियमअनुसार आस्विनले रनआउट गरेको भन्दै समर्थन गरेका छन्।
क्रिकेटरहरु इयान मोर्गान, डेल स्टेयन, सेन वान लगायतले ट्विटरमार्फत विरोध गरेका छन्। धेरैले आस्विनको गल्ति औंल्याएका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।