काठमाडौं– लडेर देब्रे खुट्टा भाँचिएकी ६५ वर्षीया हजुरआमालाई झापाका २५ वर्षीय मुकेश लम्सालले राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याए।
अस्पतालले उनलाई ल्याएकै दिन सुन्निएको खुट्टा केही घटेमा दुई दिनपछि शल्यक्रिया गर्ने भनेको थियो। दुई दिन राख्दा पनि उनको हजुरआमाको सुनिएको खुट्टा नघटेकाले शल्यक्रिया बिहिबारको लागि सारियो। तर, बिहिबार पनि विभिन्न कारण देखाई शल्यक्रिया भएन।
अस्पतालले सोमबार (हिजो) नै शल्यक्रिया गर्ने भनेको थियो। शल्यक्रिया गर्ने भनेर चिकित्सकको सल्लाहअनुसार हजुरआमालाई आइतबार राति १२ बजेदेखि केही पनि नखुवाउन भनेको मुकेश बताउँछन्।
हजुरआमाको १० दिनपछि शल्यक्रिया हुने भएर उनी खुसी भएका थिए। तर, त्यो खुसी धेरैबेर टिक्न पाएन। बिहानै अस्पतालले चिकित्सकहरुको आन्दोलनको कारण देखाउँदै हिजो हुने भनिएको शल्यक्रिया हुन नसक्ने सूचना दिएको थियो।
मुकेशले अस्पताल प्रशासनलाई सोधे, ‘अब कहिले हुन्छ शल्यक्रिया?’ अस्पतालले डाक्टरहरु आन्दोलनमा भएकाले उनीहरुको माग पूरा नभएसम्म अप्रेसन हुन नसक्ने जवाफ दियो।

उनी निराश हुँदै भन्छन्, ‘अब कति दिन चल्ने हो यो आन्दोलन? झापादेखि आउनुभएकी हजुरआमालाई खाना खुवाउनै सास्ती भइसक्यो। जहाँ पायो त्यहीँको खाना खानुहुन्न।’
हजुरआमालाई शौचालय ल्याउन र लैजान पनि निकै सास्ती भएको मुकेश बताउँछन्। उनलाई लाग्छ, ‘सम्बन्धित पक्षले समस्या वार्ताबाट समाधान गर्नुपर्ने हो, यसरी अस्पताल नै बन्द गरेर त बिरामीले झनै सास्ती पाउँछन्।’
चिकित्सकको आन्दोलनका कारण शल्यक्रिया अनिश्चित हुँदा सास्ती खेप्ने उनी मात्रै होइनन्।
-000-
प्रेम राना मेरुदण्डको रड निकाल्न भनेर सुर्खेतबाट काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर आएको ९ दिन भयो। रुखबाट लडेर मेरुदण्ड भाँचिएकोले अपरेसन गरेर राखेको रड निकाल्न नेपालगञ्ज अस्पतालले काठमाडौं पठाएपछि उनी त्यहाँ आएका हुन्।
९ दिनपछि बल्ल पालो आएको थियो, तर चिकित्सकको आन्दोलनले गर्दा शल्यक्रिया गरेर रड निकाल्न पाएनन् उनले। ‘हिजो राति १२ बजेदेखि केही नखानु, भोलि ९ बजे शल्यक्रिया हुनसक्छ भनेर अस्पतालले भने पनि शल्यक्रिया हुन सकेन।’
कुरुवा बसेकी उनकी श्रीमतीलाई झन् ठूलो सकस छ। भन्छिन्, ‘हामी सुर्खेतबाट आएका मान्छे, यहाँ त हाम्रो भाषा पनि मिल्दैन। बिरानो ठाउँ छ। बाहिर गएँ भने उतै हराउँछु।’
उनीहरु जस्तै ९ दिनदेखि नै कुरिरहेकी छिन्, गुरुजुधारकी सेती पौडेल। भान्सामा काम गर्दा लडेर खुट्टो भाँचिएर उनी यहाँ आइपुगेकी हुन्। सोमबार उनको शल्यक्रिया गर्ने पालो थियो तर आन्दोलनले गर्दा अनश्चित भयो। उनलाई आफूलाई कुर्ने मान्छे नभएकाले छिटो शल्यक्रिया गरेर घर जान पाए हुन्थ्यो भन्ने चिन्ता छ। तर अब शल्यक्रिया कहिले हुने हो, कुनै पत्तो नभएपछि निराश छिन्।
राष्ट्रिय ट्रमा सेन्टरले हरेक दिन माइनर र मेजर गरी १२ वटा शल्यक्रिया गर्ने गरेको रेकर्डमा उल्लेख छ। त्यस्तै वीर अस्पतामा करिब २० देखि २५ ओटा मेजर र माइनर शल्यक्रिया गरेको अस्पतालको रेकर्डमा उल्लेख छ।
रनभुल्लमा रिफर भएका बिरामी
प्रशासनिक संरचनाका हिसाबले देश संघीयताको अभ्यासमा छ। तर, औषधोपचारका लागि काठमाडौं वा केही ठूला सहर ताक्नुपर्ने बाध्यता अझै केही वर्ष यथावत् रहने छ। देशको कठिन भूगोल छिचोल्दै बिरामी पश्चिम–उत्तर मुगुदेखि पूर्व–उत्तर खोटाङबाट बिरामी काठमाडौं आइपुगेका छन्।
राजधानीसँग अपरिचित उनीहरु उपचारका लागि सिधै अस्पताल पुगे। तर, अस्पतालका ओपिडीहरुमा ताला देखेपछि उनीहरु रनभुल्लमा परेका छन्।
कर्णाली प्रदेशको मुगुबाट श्रीमानको उपचारका लागि वीर अस्पताल आइपुगेकी सुनकोशा शाही निन्याउरो अनुहार लगाएर जनरल मेडिसिनको ओपिडिअघि उभिरहेकी थिइन्। सँगै उनका श्रीमान् राजकृष्ण र सानो छोरा थिए। स्थानीय अस्पतालले ठूला अस्पतालमा उपचार गराउनुपर्ने बताएपछि उनीहरु यहाँ आइपुगेका हुन्।
उपचारकै लागि कर्णालीदेखि काठमाडौं पुगेको उनको परिवार दुई हप्तादेखि अस्पताल धाइरहेको छ। ‘ढाड दुख्ने, पेट दुख्ने, पिसाबमा रगत देखिने समस्या छ,’ कर्णालीमा बोलिने खस भाषाको लवज मिसाउँदै उनले भनिन्, ‘पिसाब गर्न गाह्रो हुने र केही काम गर्न नसक्ने भएको पाँच–छ महिना भइसक्यो।’
उनलाई डाक्टरले सोमबार २ बजे बोलाएका थिए। उनीहरु १२ बजे नै अस्पताल पुगेर पालो कुरिरहेका थिए। तर, अस्पताल सुनसान देखियो। कुर्दा पनि डाक्टर नआएपछि सोधीखोजी गरे। त्यसपछि थाहा पाए, डाक्टरको त हड्ताल रहेछ। उनीहरुलाई लाग्छ, ‘डाक्टरका आफ्नै समस्या होलान्। तर, हाम्रा जस्ता दुःख छैनन् होला। उपचार चाहिँ नछाडेको भए हुन्थ्यो।’
कहिले हड्ताल सकिएला, कहिले फेरि पालो आउला र कहिले उपचार होला भन्ने अनगिन्ती जिज्ञासाले उनीहरुलाई बेचैन बनाएको थियो। त्यसैमाथि महँगो काठमाडौं बसाइका दिन बढ्दै जाँदा थपिने आर्थिक भारको पीर थपिएको छ उनीहरुलाई।
हड्डीको क्यान्सर भएका २० वर्षीय आनन्द चौधरी ज्यान जोगिने झिनो आशा बोकेर वीर अस्पताल आइपुगेका छन्। ह्विलचियरमा बसिरहेका थिए उनी। उनीसँग आएका पिता भने उपचार गराउने उपाय खोज्दै कति भौंतारिरहेका थिए सायद। केही समयअघि भरतपुर क्यान्सर अस्पतालमा हड्डीको क्यान्सरको अपरेसन भएको थियो। तर, अपरेसन सफल नभएपछि वीर अस्पताल रिफर गरिएको उनी बताउँछन्। उनले भने, ‘उहाँले वीर अस्पताल जानु भनेर पठाउनुभयो, यहाँ आएको बन्द रहेछ।’
जसोतसो ६ लाख रुपैयाँको जोहो गरेर अपरेसन गराएपनि सफल नभएपछि उनलाई आर्थिक पिरलो पनि थपिएको छ। उनी भावुक भए, ‘एकपल्ट डाक्टरलाई देखाउन पाए हुन्थ्यो। हामीजस्ता गरिबले कसरी उपचार गर्ने?’
१० कक्षामा पढ्दै गर्दा बिरामी परेपछि उनले एसइई पनि दिन पाएनन्। दुई दिनदेखि वीर अस्पताल धाइरहेका उनी आफूलाई खानबस्न समेत समस्या भएको बताउँछन्। आँसु झार्दै भन्छन्, ‘आफू यसरी थलिएको छु। बुवाको अनुहारमा चिन्तैचिन्ता छ। उहाँका दुःख देखेर साह्रै चित्त दुख्छ।’
-000-
शिक्षण अस्पतालमा उपचार गराइरहेका खोटाङका पूर्णबहादुर निरौलालाई सोमबार २ बजे वीर अस्पतालमा चेकजाँचका लागि जान भनिएको थियो। एक महिनाअघि मात्रै छातीमा पलाएको मासुको शिक्षण अस्पतालले शल्यक्रिया गरेको हो। भनेकै समयमा अस्पताल आइपुगे पनि त्यहाँ डाक्टर नदेख्दा निराश भए।
एक महिनादेखि काठमाडौंमै उपचार गराइरहेका उनी सकेसम्म चाँडो गाउँ फर्किन पाए हुन्थ्यो भन्छन्। त्यसैले उनी जसरी पनि सोमबार जाँच गरेरै फर्किने योजनामा आएका थिए। उनले भने, ‘बिहानै आएको हुँ। अहिलेसम्म डाक्टर आएका छैनन्।’
हड्ताल भएकाले डाक्टर नआउने बताएपछि उनी निरास भए। भन्दै थिए, ‘श्रीमती गाउँमै छ। मलाई डाक्टरले ६ महिनादेखि एक वर्षसम्म काम नगर्न भनेको छ। निको भएर गाउँ फर्कन पाए हुन्थ्यो।’

गौशाला बस्ने कुसुम मगर श्रीमान् सञ्जय मगरको उपचारका लागि वीर अस्पताल आएकी रहिछन्। साथीहरुले खुकुरी हानेर घाइते बनाएपछि सुरुमा काठमाडौं मेडिकल कलेजको अस्पतालमा उपचार गराइन्। त्यसपछि एकपल्ट वीर अस्पतालका डाक्टरलाई देखाउन ल्याएकी रहिछन्। तर, यहाँ हड्तालका कारण समस्या भोगेकी छिन्। त्यससँगै अस्पतालमा टिकट मात्रै होइन, निःशुल्क भनिएका औषधि समेत नपाइने गरेको गुनासो उनले गरिन्।
डाक्टरको हड्तालबारे थाहा नपाई आइपुगेका बिरामीहरु अस्पतालमै यताउति चहारिरहेका थिए। डाक्टर आउने नआउनेबारे बुझ्दै निराश हुँदै फर्किदै थिए।
-000-
कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै आएका सरकारी चिकित्सकहरुले देशभरका सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेका सबै सेवा ठप्प पारेका छन्। चिकित्सकको आन्दोलनले गर्दा लामो समयदेखि लाइनमा बसेर शल्यक्रिया गर्ने पालो आएका बिरामीहरु मर्कामा परेका छन्।
ओपिडीमा खुट्टो हाल्ने ठाउँ नहुने राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय चिकित्सक विज्ञान प्रतिष्ठान ‘वीर’ अस्पतालमा पनि आन्दोललको कारणले गर्दा ओपिडी सुनसान देखिन्छन्। ट्रमा सेन्टरले ओपिडीमा दैनिक १२ सयभन्दा बढी बिरामीलाई सेवा दिन्थ्यो भने वीर अस्पतामा करिब १४ सयको हाराहारी बिरामीले ओपिडीमा सेवा दिने गरेको रेकर्डमा उल्लेख छ।
सरकारले खटाएको ठाउँमा नजानेलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने आफ्ना माग पूरा नभएसम्म पछि नहट्ने बताउँदै आइरहेका छन्। यसले उपचारको पालो पर्खिरहेका बिरामीमा झन् ठूलो अन्योल छाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।