काठमाडौं- नेपाल एयरलाइन्सलाई ४ मिनेट समय ढिला भयो भन्दै उडान प्रतिबन्ध लगाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १७ मिनेट ढिला हुँदा पनि विदेशी एयरलाइन्स फ्लाई दुबईलाई उडान भर्न दिएको छ।
मंगलबार राति फ्लाई दुबईको बोइङ७३७ विमानलाई भने विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि पनि उडान गर्न दिइएको हो।
फ्लाई दुबईले मंगलबार राति ८ बजेर ४० मिनेटको उडान तालिका भए पनि राति १० बजेर १७ मिनेटमा उडान भरेको हो।
विमानस्थल कार्यालयले धावनमार्ग मर्मतका लागि राति १० बजेपछि उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) उल्लंघन गर्दै फ्लाई दुबईलाई मंगलबार राति उडान अनुमति दिएको हो। तर, गत १९ गते भने नोटामकै कारण नेपाल एयरलाइन्सको जहाज रोकेर २ सय ७४ यात्रुलाई सास्ती दिने विमानस्थल कार्यालयले किन फ्लाई दुबईलाई १७ मिनेट पछि उडान दियो भन्ने प्रश्न उठेको छ।
१९ गते पनि विमानस्थलको टावर कन्ट्रोल रुमले विदेशी एयरलाइन्स ड्रागन एयरलाई उडान अनुमति दिँदै नेपाल एयरलाइन्सको उडान रोकेको थियो।
अन्तर्राष्ट्रिय उड्डयन नियममा नोटाम जारी भएको समयमा उडान तथा अवतरण गराउन नपाउने व्यवस्था छ।
नेपाल एयरलाइन्सको उडान रोकेको विषयमा छानबिन भइरहेको बेला फेरि विमानस्थल कार्यालयले अर्को गल्ती गरेको छ।
नेपाल एयरलाइन्सको जहाज रोकिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसगार लामिछानेको संयोजकत्वमा अध्ययन समति गठन भएको छ। अध्ययन समितिले प्रतिवेदनको काम अन्तिम चरणमा पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।