काठमाडौं- आज विक्रम संवत् २०७६ को पहिलो दिन। नयाँ वर्ष २०७६ साल आजबाट सुरु भएको छ। सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् बैसाख संक्रान्ति भनिन्छ।
नयाँ वर्षकाे अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीले हर्षौल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आजकाे दिन अघिल्लाे वर्ष पुरा नभएका संकल्पकाे समिक्षा तथा नयाँ वर्षमा नयाँ संकल्पसमेत गरिन्छ। आफूले गरेका नयाँ संकल्पमा सफलता मिलाेस् भन्दै एकअर्कामा शुभकामना व्यक्त गर्ने र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज वर्षकाे पहिलाे दिनलाई स्वागत गरिन्छ।
आजको दिन नयाँ कामको थालनिसमेत गर्ने परम्परा रहिआएकाे छ।
नयाँ वर्षकै दिन आज बिहानै विभिन्न नदी, ताल, कुण्ड तथा पाेखरीमा गई स्नात गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ। आजकै दिन काठमाडौंको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा पर्ने बाग्द्वार, टोखा चण्डेश्वरी नगरपालिकाको सपनतीर्थ र कीर्तिपुर नगरपालिकाको चम्पादेवीमा विशेष मेला लाग्छ।
काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठरोग एवम् लुलोलङ्गडोपना हटी पुनः शारीरिकरुपमा तन्दुरुस्त भइने जनविश्वास छ।
विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो। मल्लकालदेखि नेपालमा मौलिक संवत्का रुपमा विक्रम संवत् चलिआएकाे हो। याे संवत् नेपालमा मात्र मानिने संवत् हाे।
विक्रम संवत् १३५ देखि शक संवत् (जाे हाल भारतकाे राष्ट्रिय संवत् रहिआएकाे छ), संवत् ६३३ देखि मानदेव संवत्, विक्रम संवत् ९३६ देखि नेपाल संवत् चलेको हो। यी संवत्मध्ये अहिले मानदेव संवत्को चलन हराइसकेको छ। विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवत्को प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरु बताउँछन्।
नयाँ वर्षकाे पहिलाे दिन आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा छ। विदेशी कुटनीतिक नियाेग तथा विदेशस्थित नेपाली सरकारी कार्यालयहरुमा समेत बिदा दिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।