काठमाडाैं- नयाँ वर्षकाे अवसरमा राष्ट्रकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई शुभकामना दिएका छन्। शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले पुरानो वर्षलाई बिदाई र नयाँ वर्षको स्वागत गरिरहँदा समयलाई हेक्का राख्न सुझाए।
'हाम्रा सामु अनगिन्ती कामहरु छन्। मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ। जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छुु', उनले भने, 'आउँदो १०/११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ। हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन्।'
उनले समयको गति समाउन आफू पनि तीब्र गतिको दौडमा सामेल भइरहेकाे बताए। प्रत्येक परिश्रमी नेपालीझैं आफूलाई हरेक दिन सामान्यतः बिहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको प्रधानमन्त्रीकाे भनाइ थियाे। उनले गएकाे एक वर्षमा आफू ३ सय १४ वटा औपचारिक कार्यक्रममा सहभागि भएको जानकारी दिए।
सम्बाेधनकाे लामाे समय गएकाे एक वर्षलाई स्मरण गरेका प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट समृद्धिकाे यात्रामा राम्रा कामकाे संकेत मिलेकाे बताउँदै आगामी दिनमा आधार तयार भएका विभिन्न याेजनाहरुले पूर्णता पाउने ठाेकुवा गरे।
भ्रष्टाचार र बेथितिका सवालमा आफू सँधै विरुद्धमा रहिआएकाे बताउँदै उनले जुनसुकै मूल्य चुकाएर भएपनि भ्रष्टाचारलाई उन्मुलन गरिछाड्ने प्रतिबद्धता जनाए। 'भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण छ। तर, जुनसुकै मूल्य चुकाएर भएपनि भ्रष्टाचारलाई उन्मुलन गरिछाड्ने अभियानमा प्रतिबद्ध छुुु', उनले भने, 'यस अभियानमा सघाउने सबै पक्ष, अभियन्ता तथा जागरुक जनतालाई आभार प्रकट गर्दछु। यस अभियानलाई थप उपलब्धीमुलक बनाउन लागिपर्ने संकल्पसमेत जाहेर गर्दछु।'
उनले गएको वर्ष चुनौतीलाई चिर्दै, आशा र उत्साहका साथ बिदा भएको औंल्याउँदै गएको वर्षले सरकारमा आत्मविश्वास थप सुदृढ बनाएको जिकिर गरे।
साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचीसहित नयाँ वर्ष स्वागत गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, 'प्राकृतिक नियममा चलेर आउने वसन्तका लागि हामीले एक वर्ष प्रतिक्षा गर्नुपर्छ। तर, सामाजिक विकासका नियम भने जटिल हुन्छन्। प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफै आउँदैन, यसलाई हासिल गर्नुपर्छ। मानव समाजमा वसन्त आगमन विभिन्न शक्ति र प्रवृत्तिद्वारा प्रभावित हुन्छ। तर, नेपाली समाजमा पनि दीगो शान्तिको, सामाजिक न्यायसहितको समृद्धिको, लोकतन्त्र सहितको विकासको र सुखसहितको खुसीको वसन्त आउने कुरामा हामी ढुक्क छौं।'
सम्बाेधनकाे पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।