काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बोइङ जहाज उडान नगर्ने घोषणा गरेको छ। एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले अब बोइङ उडान नगर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राय माग गरेको बताएका छन्।
निगमसँग अहिले उडानयोग्य एउटा बोइङ जहाज छ। तर, जहाज उडान गर्दै आएका चार जना पाइलटकै सिप परीक्षण प्रमाणपत्र (पिपिसी) नवीकरण नहुँदा जहाज ३ महिनादेखि ग्राउन्डेड भएको थियो।
२८ अक्टोबर, २०१८ मा निगमले मर्मतका लागि बोइङ ७५७ मलेसिया पठाएको थियो। मर्मतपछि १६ जनवरी, २०१९ मा जहाज मलेसियबाट काठमाडौं आउँदै थियो। तर, उडिरहेको बेला ’विङ स्क्रिन’ बिग्रन गयो। समस्या आए पनि जहाज काठमाडौं विमानस्थलमा अवतरण गरिएको थियो। त्यसपछि केही दिन जहाज ग्राउन्डेड भयो। ग्राउन्डेड भएको जहाज प्राविधिक टोलीले मर्मत गरेर उडानयोग्य बनाए। तर, उडानयोग्य हुँदै गर्दा बोइङ उडान गरिरहेका पाइलटहरुको पिपिसी म्याद सकिएको थियो। पाइलटहरुले पनि जहाज नै नउडाई ४५ घन्टा बराबरको मासिक २ लाखभन्दा बढी तलब लिइरहेका छन्।
बोइङ उडान गर्ने क्याप्टेनहरु ओमबहादुर गुरुङ, शुक्र शमशेर जंगबहादुर राणा, दिपाल शेरचन र रवीन्द्रबहादुर श्रेष्ठको पिपिसी म्याद सकिएको थियो।
अन्ततः कार्यकारी अध्यक्ष खरेलले निगमले बोइङ जहाज बिक्री गर्ने बताएका छन्। ‘जहाज बिक्री गर्ने तयारी भएका कारण पाइलटहरुको पिपीसी नवीकरण नगरिएको हो’, खरलेले भने, ‘अब मन्त्रालयबाट जहाज बिक्रीका लागि सहमति भएर आएपछि बोइङ बिक्री गर्ने नै हो।’
यसअघि पनि निगमले २०७४ मंसिरमा एउटा बोइङ७५७ बिबी एयरवेजलाई १५ करोड रुपैयाँमा बिक्री गरेको थियो। बाँकी रहेका एउटा बोइङ बिक्रीका लागि पनि सिंगापुरको एउटा कम्पनीले न्यूनतम ४३ लाख ३३ हजार डलर र बढीमा ५२ लाख ९६ हजार डलरमा बिक्री गर्न सक्ने गरी नेपाल एयरलाइन्सलाई अध्ययन रिपोर्ट बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।