काठमाडौं- सरकारले २२ वटा ठुला आयोजनालाई प्रमुख प्राथमिकतामा राखी राष्ट्रिय गौरवका आयोजनाको रूपमा अगाडि बढाइरहेको छ।
२२ आयोजनामध्ये सबैभन्दा पहिले निर्माण सकिने आयोजना भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएको छ। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा समय थप भएपनि राष्ट्रिय गौरवको आयोजनमध्ये सबैभन्दा पहिला काम सकिने आयोजना हुन्छ,' नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना कार्यालयका निर्देशक प्रदीप अधिकारीले भने, ‘प्राधिकण र आयोजना कार्यालयको ठुलो सफलता हो।’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण भइरहेको ३ किलोमिटर रनवे निर्माणको काम अबको केही दिनमै सकिने अधिकारी बताउँछन्।

त्यति मात्रै नभई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम पनि सम्पन्न हुन लागेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि राष्ट्रिय गौरवको आयोजना हो।
‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम असारभित्रै सम्पन्न हुन्छ,' अधिकारीले भने, ‘विमानस्थल निर्माणको काम सपन्न भएसँगै छिट्टोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ।’
प्राधिकरण अन्तर्गतको अर्को विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणका लागि तोकिएको म्यादभन्दा ६ महिना अगाडि नै निर्माण सम्पन्न हुने अधिकारीको दाबी छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन'सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।
सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी-जिरो एक’अन्तर्गतका सबै काम सक्नुपर्ने थियो।
सरकारले ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी-जिरो एक’ अन्तर्गत विमानस्थलको ३ किलोमिटरको रनवे, ट्याक्सी-वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।
सम्झौतालगत्तै चिनियाँ ठकेदारले काम थालनी गरेको थियो। तर, निर्माण कम्पनीले तोकिएको समयसम्ममा २७ प्रतिशत मात्रै काम गरेको थियो। निर्माण कम्पनीले २०७२ बैशाख १२ मा आएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माणमा ढिलाइ भएको बताउँदै आएको थियो।
सन् २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थल निर्माण सम्पन्न हुनुपर्ने सम्झौता थियो। सम्झौता समय सकिनै लाग्दा सरकारले विमानस्थल निर्माणमा चिनियाँ ठेकदारको समय थपको तयारी गरिरहेको थियो।
तत्कालीन सयममा सरोकारवालासँगको छलफलबाट तत्काल निर्माण कम्पनीको ठेक्का रद्द गर्नुभन्दा समय थप गर्नु नै उचित रहेको ठहर भएको अधिकारी बताउँछन्। सबै सरोकारवालाको छलफलपछि सन् २०१७ डिसेम्बेर ३१ सम्मको सयम अवधि बढाएर सन् २०१९ जुन २८ सम्मको समय थप गरेर विमानस्थल निर्माणको काम सक्ने निर्णय भएको थियो।
यो पनि पढ्नुहोस् : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: लगानीकर्ताको घुर्कीपछि निर्माणमा छलाङ
विमानस्थल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। विमानस्थल सञ्चालनका लागि चाहिने पूर्वाधार र उपकरण हो। आइसिबी जिरो १ (पूर्वाधार निर्माण)को काम ७० प्रतिशत सम्पन्न भइसकेको छ।
आइसिबी जिरो-२ (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)को लागि मार्चको पहिलो साता खरिद तथा जडानका लागि पनि कम्पनी छनोट भएर काम सुरु भइसकेको छ।
यो काम सम्झौता भएको ६ देखि ७ महिनामा सम्पन्न गर्ने तयारीका साथ अगाडि बढेको अधिकारीको भनाइ छ। पूर्वाधार निर्माणतर्फ फिनिसिङको काम मात्रै बाँकी छ।
‘अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनका लागि कस्टम, अध्यागमन, क्वारेन्टाइन, एयरलाइन्सलाई उडान अनुमति लगायतका थुप्रै काम हुन्छ। विमानस्थल निर्माण सम्पन्न हुने बित्तिकै सञ्चालन हुने होइन। हामीले आउँदो भदौ/असोजसम्म सक्ने गरी कामलाई तीव्रता दिएका छौं,’ अधिकारीले भने।
‘विमानस्थल निर्माणअन्तर्गत रन-वेको पिच गर्ने काम पनि अबको १५ दिनभित्रै सकिन्छ,’ उनले भने, ‘त्यसपछि नयाँ रनवेमा परीक्षण उडान गर्न सकिन्छ। अझै भिएफआरमा पनि हामीले प्रक्रिया मिलाउन सके अन्तर्रा्ष्ट्रिय उडान पनि गर्न सक्छौं।’
विमानस्थल निर्माणभन्दा जग्गामा बढी रकम खर्च भएको छ। जग्गा मुआब्जामा मात्रै २३ अर्ब खर्च भएको छ। अहिले प्राधिकरणले कार्गो भवन निर्माण गर्न समेत थालिसकेको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सयम सिमा तोकिएको छ।
तर, यो विमानस्थल ६ महिना अगाडि नै काम सकिने अधिकारी बताउँछन्। अहिले विमानस्थल निर्माणको ३५ प्रतिशत भन्दा बढी काम भइसकेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवे निर्माण सम्पन्न भएसँगै निरीक्षणमा पुगेका प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम (बायाँ) र आयोजना कार्यालयका निर्देशक इन्जिनियर प्रदीप अधिकारी।
पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए। झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिने सहमतिसँगै विमानस्थल निर्माणको काम सुरु भएको थियो।
यो पनि पढ्नुहोस् : पोखरा विमानस्थल : रन-वे निर्माण १५ दिनभित्रै सकिने
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवतरण गर्न सकिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।