काठमाडौं- काठमाडौं जिल्ला साविक स्युचाटार गाविस वडा नं. ४ मा रहेको स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा रहेका व्यक्तिहरू नै जालसाझी तथा किर्तेमा संलग्न देखिएका छन्।
उक्त सहकारी संस्थाको सञ्चालक समितिमा आबद्ध केही व्यक्तिहरुले खराब नियत राख्दै बचतकर्ताको लाखौं रुपैयाँ बराबर रकम हडप्न खोजेको देखिएको छ। सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेर राखेको रकम फिर्ता गर्नुको साँटो त्यसलाई आफै पचाउने मनसायले कागजातहरु किर्तेसम्म गरेको भेटिएको हो।
काठमाडौं स्युचाटार-७ बस्ने दीलिपबहादुर गौतम क्षेत्रीले २०६३ सालमा स्युचाटार बचत तथा ऋण सहकारी संस्थामा ३ लाख रुपैयाँ जम्मा गरी सहकारीको सदस्य बनेका थिए। यसपछि उनले सहकारीमा मासिक रुपमा बचत गर्न थाले।
२०६९ जेठ ३ गते उनको कालगतिले मृत्यु भयो। उनको मृत्यु भएसँगै सहकारी संस्थाका केही व्यक्तिले ७ लाख रुपैयाँ बराबरको उनको बचत रकम हडप्न प्रपञ्च रच्न सुरु गरेको खुलेको हो।
दीलिप बहादुर गौतम क्षेत्रीले उक्त सहकारी संस्थामा रकम बचत गरी कारोबार सुरु गर्दा इच्छाइको व्यक्तिमा उनका छोरा रवि क्षेत्रीलाई राखेको देखिन्छ।
तर, उनको मृत्युपछि सहकारी संस्थाकै सञ्चालक समितिमा रहेका केही व्यक्तिहरूको मिलेमतोमा मनोनित व्यक्तिको नाममा रबी क्षेत्रीको नाम काटेर रमा क्षेत्रीको नाम राखेको देखिन्छ।
दीलिप बहादुर पौडेलसँग सम्बन्धित हरेक कागजातलाई केरमेट गरेर सच्याइएको छ। सो रेकर्ड हेर्दा एउटै सदस्यता फारममा समेत पटक–पटक केरमेट गरी सच्याइको देखिन्छ।
हेरौं यी तस्वीरमा
किर्ते नम्बर-१. मनोनित व्यक्तिको नाममा पहिले रबी क्षेत्री रहेकोमा पछि त्यसलाई केरमेट गरेर रमा क्षेत्री बनाइएको।

किर्ते नम्बर-२. मनोनित हकवालासँगको नाता पहिले छोरा लेखिएकोमा पछि त्यसलाई केरमेट गरी श्रीमती बनाइएको।
रमा क्षेत्रीलाई दिलिप क्षेत्रीको पत्नी बनाउन खोजिएको छ। तर रमा क्षत्री दिलिप गौतम क्षेत्रीको पत्नी नभई दिल बहादुर बुढाथोकीकी पत्नी रहेको उनको नागरिकता प्रमाणपत्रले देखाउँछ। मनोनितमा राखिएकी भनिएकी रमा क्षेत्रीको नाम पनि वास्तविक नभई रमादेवी बुढाथोकी रहेको देखिन्छ।
किर्ते नम्बर- ३. मिति सच्याएर २०६१–९–९ लाई २०६३–९–९ बनाइएको।

किर्ते नम्बर-४. सदस्यता फारममा आजका मितिबाट कुनै एकबाट सञ्चालन हुने भन्दै पछि लेखिएको छ। तर त्यहाँ दिलिप बहादुर गौतम क्षेत्रीको हस्ताक्षर भेटिँदैन। रमा क्षेत्रीको मात्रै हस्ताक्षर छ।
किर्ते नम्बर-५. सदस्यता फारममा मिति कहीँ कतै उल्लेख भएको देखिँदैन।
किर्ते गर्न रमा क्षेत्रीको फोटो टाँस्दै उप्काउँदै
दिलिप बहादुर गौतम क्षेत्रीले आफ्नो ईच्छाइएको व्यक्तिका रुपमा रमा क्षेत्रीको नाम राखेको भनेर स्युचाटार सहकारी संस्थाले जिकिर गर्दै आएको छ। तर, रमा क्षेत्रीको नाम दिलिप क्षेत्रीले राखेको नभई उनको मृत्युपछि सहकारीकै केही व्यक्तिले मिलेमतोमा राखेको हुन सक्ने पर्याप्त आधार देखिन्छन्।
जस्तो कि निवेदनमा पहिले फोटो टाँसिएको थिएन। बीचमा केही समय फोटो टाँसेको देखिन्छ। अहिले फेरी उप्काएर फोटो नभएको सदस्यता फारम सहकारीसँग रहेको देखिन्छ। यस अर्थमा पनि दिलिप क्षेत्रीको नाममा रहेको पैसा हत्याउनकै लागि रमा क्षेत्री नाम भएकी महिलालाई सहकारीले बीचमा ल्याएर खडा गरेको देखिन्छ।
सदस्यता फारममा पहिले कसैको फोटो नभएकोमा अहिले त्यहाँ कसरी रमा क्षेत्रीको फोटो राखियो भनेर दिलिप क्षेत्रीका छोरा रबी क्षेत्रीले राष्ट्रिय सूचना आयोगमार्फत् स्युचाटार सहकारीबाट जानकारी लिँदा त्यहाँ कुनै फोटो नटाँसिएको भनेर संस्था आफैंले भनेको छ।
स्युचाटार बचत तथा ऋण सहकारी संस्थाले नै सदस्यता फारममा रमा क्षेत्रीको फोटो नटाँसिएको भन्दै राष्ट्रिय सूचना आयोगलाई पठाएको पत्रमा उल्लेख गरेको देखिन्छ।

तर नेपाल लाइभलाई प्राप्त तस्बीरमा भने दिलिप बहादुर क्षेत्रीले भरेको सदस्यता फारममा रमा क्षेत्रीको पनि फोटो देखिएको छ। दिलिपका छोरा रविका अनुसार त्यो फोटो सुरुमा त्यहाँ टाँसिएको थिएन। सहकारी सञ्चालकले दिलिपको मृत्युपछि पैसा हत्याउनकै लागि कीर्ते गरेर रमा क्षेत्री नाम गरेकी महिलाको फोटो आफैं टाँसेको देखिन्छ। तर अहिले त्यो फोटो सहकारीको रेकर्डमा उपलब्ध छैन। उप्काएर फालिएको छ। दिलिप क्षेत्रीको सदस्यता फारममा फोटो टाँसेर फेरी उप्काएको छाप भने प्रष्टै देखिन्छ।

दिलिप बहादुर क्षेत्रीले स्युचाटार बचत तथा ऋण सहकारी संस्थामा सदस्यता लिँदा भरेको फोटो भएको फारम।
यसरी, संस्थाभित्रकै केही व्यक्तिले बदमासी गरेर दिलिप बहादुर गौतम क्षेत्रीका नाममा रहेको रकम अर्कै व्यक्तिलाई दिन खोजेको देखिन्छ। यसरी गरिएको कीर्ते र जालसाझीमा संस्थाकै उच्च तहका कर्मचारी र सञ्चालक संलग्न देखिन्छन्।

न्यायका लागि ७ वर्षदेखि संघर्ष
दिलिपका छोरा रबी क्षेत्री भने आफ्ना बुबाको नाममा रहेको बचत रकम फिर्ता पाउन ७ वर्षदेखि सहकारी विभाग, साविकको सहकारी डिभिजन कार्यालय र तालुकदार मन्त्रालय मात्र नभई गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म धाइरहेका छन्।
तर उनले न्याय भने पाएका छैनन्। कीर्ते करार सम्बन्धमा भन्दै गृह मन्त्रालयले समेत अध्ययन गर्न पत्र काटेको देखिन्छ। गृह मन्त्रालयले नै २०७५ असोज २ गते सहकारी मन्त्रालयलाई पत्राचार गर्दै वास्तविकता बुझ्न भनेको छ। तर मन्त्रालयले भने यस विषयमा केही कारबाही गरेको देखिँदैन।
यो पनि : सहकारी दिवसकै दिन सिंहदरबारमा न्यायको भिख माग्दै सहकारीपीडित
गृह मन्त्रालयले सहकारी मन्त्रालयलाई काटेको पत्रमा भनिएको छ,‘के–कति कारणले न्यायिक कारबाही हुन नसकेको हो? प्रेसित कागजातहरुमा जालसाझी भएको देखिँदा पनि न्याय ढिलाइ हुन गएको अवस्था छ। सो सम्बन्धमा स्पष्ट कारणसहित पत्र प्राप्त भएको मितिले ७ दिनभित्र नीतिगत तथा कानुनी कारबाही गरी जानकारी यस कार्यालयलाई र निवेदकलाई समेत दिनुहुन अनुरोध छ।’
बोधार्थका रुपमा सहकारी विभाग र स्युचाटार सहकारी संस्थालाई भन्दै उल्लेख गरिएको उक्त पत्र हालसम्म पनि कार्यान्वयन हुन सकेको देखिँदैन।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साललाई पनि गत असोज १० गते पत्र पठाउँदै स्युचाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कीर्ते गरी ठगी गरेको भन्ने रवी क्षेत्रीले गरेको उजुरीमा अध्ययन गर्न पत्र काटेको देखिन्छ। तर, त्यसको अध्ययन भने प्रहरीले अझैसम्म सुरु गरेको देखिँदैन।
कुन निकायको कस्तो चासो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।