डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिका–३ का गम्वीर बोहरा भारतको सिमलामा काम गर्थे। कोरोनाको महामारीले उनलाई घर फर्कन बाध्य बनायो। उनी जेठ ११ गते डडेल्धुरा पुगे। उनलाई स्थानीय शिद्धनाथ आधारभूत क्वारेन्टाइनमा राखियो।
बिहीबार आरडीटी टेष्ट गर्दा नतिजा ‘नेगेटिभ’ आएपछि उनलाई गाउँपालिकाले एक सातासम्म होम क्वारेन्टाइनमा बस्नू भन्दै घर पठायो। तर उनी घर गएनन्। उनी गाउँकै क्वारेन्टाइनमा बसे। उनले घरबाटै ओढ्ने ओछ्याउने मगाएर बसेका छन्।
'घरबाटै रासन पानी मगाए खाना आफैं पकाएर खान्छौं', त्यही बस्ने अर्का स्थानीय ज्ञयराज भट्टले भने, 'शनिबार १४ दिन पुगेको छ। घर जाने सोच थियो एक जना साथी बिरामी भए।'
उनका अनुसार त्यहाँ बस्ने एक जनालाई झाडापाखला लागेको छ भने वान्ता पनि गरिरहेका छन्।
उनीहरुले बिरामीलाई अस्पताल लैजान वा औषधि उपचार गर्न समस्या भएकाे गुनासो गरेका छन्। बिरामी भएर थला परेका उनको श्रीमती १ घण्टाको पैदल दूरीमा रहेका भद्रपुर स्वास्थ्य चौकीमा औषधि लिन पुगेका छन्।
उक्त विद्यालयमा १० जना अगाडि पुगेका र एक जनापछि पुगेका गरी ११ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन्। ‘घर सानो छ, छोराछोरीहरु छन्, जति जोगिन चाहे पनि छोराछोरीहरु आइहाल्छन्,’ लक्ष्णम बोहराले भने, ‘त्यसैले आफू र समाजलाई सुरक्षित राख्नका लागि हामी आफैं क्वारेन्टाइनमा बसेका हौं।’
उनी छोराछोरीको मायाले आफूहरु भावनामा बग्न सक्ने डरले छुट्टै बसेको बताउँछन्।
यसबारे गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले भने, 'उनीहरु होम क्वारेन्टाइनमा बसेका छन्। बिरामी छन् भन्ने आएको छ। घरबाट मान्छे पठाऊ भने पठाएनन्। अहिले हामी औषधि पठाउदैछौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।