डडेल्धुरा-नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पिसीआर मेसिन डडेल्धुरामा जडान गरिएको छ। ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरामा जडान गरिएको हो।
‘धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुनः परीक्षण भईरहेको छ,’ डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले भने, ‘आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउनेछ।’
उनका अनुसार डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशाला ईञ्चार्ज रमेश शाही र काठमाडांैबाट आएका ईञ्जिनियरसहितको टोलीले पिसीआर मेसिनको गुणस्तर परीक्षण गरिहेको हो।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईरहेको बताए। ‘धनगढीमा परीक्षण गरिएका स्वाबको पुनः परीक्षणपछि डडेल्धुरामा संकलित स्वाब परीक्षण गरिनेछ,’ उनले भने, ‘डडेल्धुरामा परीक्षण गरिएका स्वाबको नमूनालाई धनगढीस्थित प्रयोगशाला पुनः परीक्षण गरिनेछ।’
उनले आजदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए। पिसीआर मेसिन सञ्चालनमा आएको खबरले अत्यन्त उत्साही भएको ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए। उनले भने, ‘आज हाम्रो एउटा मिसन पुरा भएको छ। यसले कोरोना परीक्षणबाट वञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ।’
पिसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु परीक्षणबाट वञ्चित भईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सुरु गरेको थियो।
यो अभियानमा विश्वका विभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूरपश्चिम समाजहरुले साथ दिएका थिए। करीब ९६ लाख रुपैँयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वाबको नमूना परीक्षण गर्ने बताइएको छ। मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउण्डेसनले व्यहोर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।