डडेल्धुरा-डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १११५५ नम्बरको जीप आइतबार बिहान १ बजेतिर महाकाली राजमार्गअन्तर्गत अमरगढी नगरपालिका ७ पोखरा खानेपानी मोडमा दुर्घटना भएको हो।
जीप अनियन्त्रित भई सडकभन्दा करिब २०० मिटर तल खस्दा त्यसमा सवार ८ जना नै घाइते भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
घाइते हुनेमा बझाङ केदारसिउ गाउँपालिका ४ बागथलाका ३२ वर्षीय बिभुप्रकाश भट्ट, सोही ठाउँका ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल र १२ वर्षकै विवेक मल्ल छन्। यस्तै सोही ठाउँकी ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल र बझाङकै बुङ्गल नगरपालिका ४ का जीप चालक ३२ वर्षीय अम्मर विक पनि घाइते भएको डीएसपी न्यौपानेले जानकारी दिए।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। अन्य घाइतेहरूको डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यसअघि शनिबार बिहान हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।