दार्चुला-नेपाली सेनाको टोली दार्चुला-तिंकर सडक निर्माणका लागि जिल्ला आइपुगेको छ। चालु आर्थिक वर्षबाट दार्चुला-तिंकर सडक निर्माण कार्यकाे जिम्मेवारी पाएसँगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्रीसहित जिल्ला आइपुगेको हो।
नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सैनिककाे टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए।
नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्रीसहित सेनाको टोली सदरमुकाम खलंगा आइपुगेको हाे। महासेनानी गुरुङका अनुसार सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अवलोकन गरेर सोहीअनुसार बन्दोबस्ती र व्यवस्थापन गरिने छ। भदौबाट सडक निर्माणको कार्य थाल्ने उनले बताए।
गत बैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले ब्याँस गाउँपालिका २ घाँटिबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणकाे जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।
२०६५/६६ बाट निर्माण दार्चुला–तिंकर सडक निर्माण सुरु भएकाेमा हालसम्म ४० किलोमिटर ट्याक खोलिएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट नेपाली सेनालाई याे सडक निर्माणको जिम्मेवारी दिएकाले नेपाली सेनाको टोली जिल्ला आइपुगेको हो।
घाँटीबगर क्षेत्रमा नेपाली सेनाको टोलीले ४ सय ५० मिटर घोडेटो बाटोसमेत निर्माण गरिरहेको छ। घोडेटो बाटो निर्माणको कार्य करिब आधा भइसकेको जनाएको छ। तल्लो क्षेत्रमा घोडेटो निर्माण भइरहेको छ भने माथिल्लो क्षेत्रमा सडक निर्माण थाल्ने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।