दार्चुला- दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल दार्चुलामा भदाै १२ र १४ गते गरिएको परीक्षणमा ३ जना महिला तथा २ जना पुरुषमा स्क्रब टाइफस भेटिएको अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए।
स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल आएका उनीहरुको आरडीटी परीक्षण गर्दा संक्रमण देखापरेको उनले बताए।जिल्लाको महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जनामा पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको हो ।
उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको छ भने एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ। बाँकी तीन जनामा रोगका सामान्य लक्षण भएका कारण उनीहरुलाई डिस्चार्ज गरिएकाे छ। परजीवी जातको भुसुना (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने स्वास्थ्यकर्मीले बताए।
संक्रमण भएमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखापर्ने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, मांसपेशी दुख्ने, पाचन प्रक्रियामा गडबडी हुनेलगायतका लक्षण देखापर्ने गर्छ ।
रोगको संक्रमण रोक्न किटाणु सार्ने माइटको सम्पर्कबाट टाढा रहनु नै प्रमुख रोकथाम भएको भट्टले बताए। किर्नाको टोकाइबाट बँच्न घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने, लामो बुट लगाउने, हातमा पन्जा लगाउने र त्यहाँ बस्नुपर्दा केही ओछ्याएर मात्रै बस्नुपर्ने सूचना अधिकारी भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।