मण्डला थिएटरमा सोमबार मञ्चन गरिएको नाटक ‘युद्धका घाउहरु’ को दृश्य। तस्बिर सौजन्य : मण्डला काठमाडौं– मण्डला थिएटरले सञ्चालनमा ल्याएको ‘द मण्डला ड्रामा स्कुल’को पहिलो ब्याचका विद्यार्थीले लेखन तथा निर्देशन गरेको नाटक ‘युद्धका घाउहरु’ १४ भदौ साँझ मञ्चन भयो। तर, नाटक हेर्न दर्शकले मण्डला थिएटर पुग्नु परेन, न टिकट नै काट्नु पर्यो। मण्डला थिएटरको आधिकारिक युट्युब च्यानल र फेसबुक पेजमार्फत भर्चुअल रुपमा नाटक प्रस्तुत गरिएको थियो।
मण्डलाका कलाकारले विभिन्न चार वटा लघु नाटक मञ्चन गरेका थिए। भर्चुअल माध्यमबाट ती नाटक हेर्ने दर्शकको संख्या सात सय पुगिसकेको छ।
करिब डेढ वर्षअघि कोरोना महामारी सुरु भए यता मन्डलामा नाटक प्रदर्शन भएको छैन। गएको महिना शिल्पी थिएटरमा सीमित दर्शक राखेर नाटक मञ्चन गरिएको थियो। डेढ वर्षपछि थिएटरमा देखाइएको त्यो पहिलो नाटक थियो।
महामारीका कारण थिएटर बन्द हुँदा भर्चुअल माध्यमबाट नाटक मञ्चन हुन थालेको छ। ११ चैत २०७६ बाट लकडाउन भएपछि रंगकर्मी केदार श्रेष्ठले भिडियो बनाएर राखिएका नाटक ‘फेसबुक लाइभ’मार्फत प्रदर्शन गरेका थिए। १६ दिन चलेको भर्चुअल प्रदर्शनमा देश विदेशका विभिन्न २० नाटक देखाइएको थियो।
‘आफू संलग्न भएको नाटकसँगै अन्य नाटक पनि अभिलेख बनाएको थिएँ,’ श्रेष्ठ भन्छन्, ‘ती नाटकलाई फेसबुकमार्फत प्रदर्शन गरिएको थियो।’ श्रेष्ठ र उनको समूहले देश विदेशका अन्य रंगकर्मीसँग पनि उनीहरुका नाटक प्रदान गर्न आह्वान गरेको थियो।
त्यसपछि शिल्पी, मण्डला, कौसीलगायत थिएटरले भर्चुअल रुपमा नाटक मञ्चन गरेका थिए। सात वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘मितज्यू’ निषेधाज्ञाको बेला गएको ३१ वैशाखमा भर्चुअल प्रदर्शन भएको थियो।
कौसीले पनि भर्चुअल रुपमा ‘प्लेब्याक’ थिएटर आयोजना गरेको थियो। लकडाउनको बेला हरेक बुधबार जुम मार्फत गरिएको प्लेब्याक थिएटरमा दर्शकको अनुभव सुनेर त्यसैमा अभिनय गरिन्थ्यो।
रंगकर्ममा भएको नयाँ प्रयोगका कारण रंगमञ्च चलायमान थियो। भौतिक उपस्थिति हुन नपाए पनि दर्शकले नाटक हेर्न पाएका थिए। मन्डलासँग आबद्ध रंगकर्मी सोमनाथ खनाल भर्चुअल माध्यमबाट भएका प्रदर्शनले नाटकलाई विस्थापन हुन र दर्शकर्लाइ नाटक सम्झाइ रहन टेवा पुर्याएको बताउँछन्। नाटक जुनसुकै रुपमा भए पनि यसले रंगमञ्च र नाट्य क्षेत्रलाई ठप्प हुन नदिएको उनको बुझाइ छ।
खनाल भन्छन्, ‘दर्शकले स्टेजमा बसेर हेर्दा जस्तो आनन्द अरु माध्यमबाट हुँदैन। तर, भौतिक रुपमा स्टेजमा उपस्थिति हुन नसकेको बेला भर्चुअल रुपमै पनि नाटकलाई दर्शकसम्म जोड्न सकिएको छ।’
भर्चुअल र थिएटरका दर्शक एकै हुन्?
पहिलो लकडाउनमा आफूले भर्चुअल रुपमा गरेको नाटक प्रदर्शनको ‘लाइभ स्ट्रिमिङ’ पाँच लाखसम्म दर्शकले हेरेको रंगकर्मी श्रेष्ठ सम्झिन्छन्। ‘हामीले गरेको काममाथि बहस हुनै बाँकी छ’, उनी भन्छन्, ‘भर्चुअल रंगमञ्च कति सफल भयो र यसले रंगमञ्चलाई न्याय गर्यो कि गरेन भन्ने विषयमा बहस हुनुपर्छ। तर, हामीले गरेको प्रयासले दर्शकमाझमा रंगमञ्चलाई भने चिनाएको छ।’
थिएटरमा महिनाभरि एउटा नाटक प्रदर्शन हुँदा औसतमा चार हजारसम्म दर्शक हुन्छन्। तर, भर्चुअल रुपमा भएको नाटक भने एकै दिनमा लाखौं दर्शकले हेर्ने श्रेष्ठको भनाइ छ। सीमित मान्छे माझमा मात्रै परिचित रंगमञ्चलाई भर्चुअल माध्यमले धेरै दर्शकमा पुर्याएको उनी बताउँछन्।
भर्चुअल प्रदर्शनमा देखिएको उत्साहले थिएटर खुलेपछि भौतिक रुपमा पनि दर्शक बढ्ने श्रेष्ठको आशा छ। ‘हाम्रा थिएटरमा भर्चुअल माध्यममा जस्तै दर्शक आउने हो भने हरेक रंगकर्मीले राम्रोसँग आफ्नो जीवन चलाउन सक्नुहुन्छ,’ श्रेष्ठ भन्छन्, ‘दर्शक बढे भने एउटै नाटक लामो समय मञ्चन हुन्छ। तर, भर्चुअल माध्यमका सबै दर्शक भौतिक रुपमा पनि उपस्थिति हुन्छ नै भन्ने सुनिश्चित भने छैन।’
रंगकर्मी खनाल पनि भर्चुअल प्रदर्शनमा देखिएको दर्शकको उत्साहले आशा जगाएको बताउँछन्। ‘युट्युब र फेसबुकमा आएका प्रतिक्रियाहरु हेर्दा धेरै दर्शकले रंगमञ्चबारे थाहा पाउनु भएको छ,’ उनी भन्छन्, ‘उहाँहरु सबै कुरा सामान्य भएपछि रंगमञ्चमै आएर नाटक हेर्ने बताउनुहुन्छ। त्यसैले म आशावादी छु।’ तर, अहिले भर्चुअल रुपमा हुने नाटक हेर्ने ठूलो जमात विदेशमा पनि छ। त्यो समूह भने भौतिक रुपमा उपस्थित हुन नसक्ने उनी बताउँछन्।
विदेशमा बस्नेले नेपाली नाटकबारे जानबारी पाउनु पनि उपलब्धि भएको उनको भनाइ छ। भर्चुअल माध्यममा हेर्ने सबै जना थिएटर आउन संभव पनि नभएको उनी बताउँछन्।
यसकारण नाटकको व्यवस्थित अभिलेखीकरण आवश्यक
रंगकर्मी श्रेष्ठसँग उनले निर्देशन गरेका पुरानै नाटकहरुको भिडियो थिए। उनले ती नाटक नै भर्चुअल माध्यममा प्रदर्शन गरे। उनले लकडाउनमा नाट्य क्षेत्रलाई चलायमान मात्र गराएनन्, नयाँ संभावना पनि खोजे। ‘हामीसँग पुराना नाटकको अभिलेख थियो र लकडाउनमा लाइभ स्ट्रिमिङमार्फत प्रदर्शन गर्न सकियो,’ श्रेष्ठ भन्छन्, ‘अन्य क्षेत्रमा जस्तै नाट्य क्षेत्रमा पनि अभिलेखीकरणको समस्या छ।’
नाटकको अभिलेखीकरणको पाटोमा नेपाली रंगमञ्च कमजोर भएको श्रेष्ठ बताउँछन्। रंगकर्मीलाई यस पटक भने आफ्ना नाटकहरु कुनै न कुनै रुपमा अभिलेखीकरण गर्नुपर्ने आवश्यकता महसुस भएको हुनुपर्ने उनको तर्क छ।
मण्डला थिएटरले युट्युबमार्फत गत वैशाखमा प्रदर्शन गरेको नाटक ‘मितज्यू’ सात वर्षअघि प्रदर्शनमा आएको थियो। तर, त्यसको अभिलेख कमजोर थियो। उक्त नाटकलाई दयाहाङ राईले पुनः निर्देशन गरेर भिडियो खिचेर भर्चुअल रुपमा देखाइयो। रंगकर्मी खनालका अनुसार सामान्य रुपमा खिचेर राखिएको हुनाले उक्त नाटक प्रदर्शनयोग्य थिएन।
रंगकर्म त्यसै पनि खर्चिलो र कम आम्दानी हुने विधामा पर्छ। कलाकारहरु पूर्णरुपमा नाट्यविधामा नै बाँधिएर काम गर्न पाउँदैनन्। कतिपय चलचित्र र सानो पर्दामा काम गर्छन् र थिएटरलाई कम समय दिन्छन्। कतिपय त अन्य पेसा वा व्यवसायमा छन्। ‘कलाकारलाई नै राम्रोसँग पैसा दिन नसकेको बेला हामीले व्यावसायिक रुपमा अभिलेख गर्न सक्दैनौं,’ खनाल भन्छन्, ‘एउटा नाटकको अभिलेखका लागि सामान्य रुपमा खिचेर राख्न पनि ३०/४० हजार खर्च हुन्छ।’
थिएटरहरुले केही वर्ष यता नाटकलाई अभिलेख त गरेका छन्, तर भिडियोको रुपमा प्रदर्शन गर्न योग्य हुनेगरी ती नाटक खिचिएको छैन। मुख्यतः ध्वनिको पाटोबाट नाटकको अभिलेख कमजोर छन्। तर, अहिले भएको भर्चअल प्रदर्शन र त्यसले रंगमञ्चमा पारेको प्रभावका कारण अब आउने दिनमा व्यवस्थित अभिलेख हुने आशा गर्न सकिने खनाल बनाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।