काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत संसारका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपण अभियान सुरु भएको छ। सो अभियानअन्तर्गत ५ हजार बिरुवा रोपिने बताइएको छ।
अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गरे। अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोतसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २ सय ५० बिरुवा रोपिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रवीण ढकालले जानकारी दिए।
रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ। एउटा बिरुवा हुर्काउन ११ हजार १ सय १४ रुपयाँ बराबरको खर्च लाग्ने उनले बताए। पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाँठलगायत शुभ अवसरमा वृक्षारोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ।
यसै हप्ता युरेसिया रेयुकाईले ३ सय बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।