काठमाडौं- काठमाडौंको कपनबाट अपहरण गरिएको चार वर्षीय बालकलाई भारत पुर्याएको पाइएको छ।
अपहरणकारीले ती बालकलाई भारतको बिहारमा पुर्याएको पाइएको प्रहरी उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
अपहरण परेको भनेपछि भारतीय प्रहरीसमेतको सहयोगमा खोजी गर्ने क्रममा बिहार पुर्याइएको पाइएको स्रोतको भनाइ छ।
भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका छोरा पियुसको सोमबार दिउँसो साढे ४ बजे अपहरण भएको थियो। प्रहरी उच्च स्रोतका अनुसार पियुसको सोमबार ठूलोबुवा मिठु शर्माको टहराबाट अपहरण भएको हो।
उनीहरुसँगै अर्को टहरोमा बस्दै आएका शंकर दासले बालक अपहरण गरी लगेको देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ। बालकलाई भारत पुर्याउने दासलाई नियन्त्रणमा लिएर नेपाल ल्याइ अनुसन्धान गरिने स्रोतले बताएको छ।
अपहरणमा परेका बालक र अपहरणमा संलग्न भनिएका दास दुवैको घर भारत रहेको प्रहरीले जनाएको छ। बालकको भारत बिहार मधुवनी घर हो भने दासको बिहार वैशाली हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।