काठमाडौं– मध्यदिनको चर्को घाम। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटैमा एक हुल मानिस बसेका छन्। प्रायका खुट्टाभरि ठेला उठेका देखिन्छन् भने केहीका खुट्टाका ठेला फुटेर घाउ छ।
‘ए तपाईंहरु यहाँ नबस्नुस् त। उता भृकुटीमण्डप जानुस्, माइतीघरतिर जानुस्’, त्रिपुरेश्वरमा खटिएका प्रहरीले ती मानिसलाई भन्छन्। सबैको प्रतिनिधित्व गर्दै रुबि खान बोल्छिन्, ‘हामी उताका (आन्दोलन गर्ने) मान्छे होइनौं। नेपालगञ्जबाट पैदल यात्रा गरेर यहाँ आएका छौं, हामी यहाँ बस्न नपाउने? यहाँ न्याय खोज्न आएका हौं।’
नेपालगञ्जबाट असोज १ गते हिँडेका रुबिसहित १४ जना देशको संघीय राजधानीसम्म न्यायको खोजीमा आएका हुन्। स्थानीय सरकार, प्रहरी प्रशासनदेखि मुख्यमन्त्रीसम्म गुहार्दा पनि आफूहरुले न्याय नपाएपछि उनीहरु प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष न्यायको माग गर्न २० दिन पैदल यात्रा गरेर काठमाडौं आएका छन्।
बाँकेको जानकी गाउँपालिका– २ मा ननकुन्नी धोबी र निर्मला कुर्मीको हत्या भएको दाबी गर्छन् उनीहरु। दुवैको मृत्युलाई लिएर आवश्यक अनुसन्धान हुनुपर्ने माग राख्दै उनीहरु काठमाडौंसम्म आइपुगेका हुन्।

१० वर्षअघि आफ्नी दिदीले आफूभन्दा ७ वर्ष जेठा रामकुमार धोबीसँग विवाह गरेको बताउँछन् ननकुन्नीका भाइ माताप्रसाद धोबी। २१ वर्षको उमेरमा विवाह गरेकी ननकुन्नी रामकुमारकी तेस्री श्रीमती थिइन्। भाइ माताप्रसाद भन्छन्, ‘अघिको एक जनाको मृत्यु भएको थियो, एक जना माइत गएर बसेकी थिइन्।’
विवाह गर्दा ‘सन्तान नचाहिने, घर सम्हालिदिए हुने’ भनिएको थियो। तर, पछि सन्तान नजन्मिएको भन्दै आफ्नी दिदीमाथि हिंसा हुन थालेको बताउँछन्, भाइ माताप्रसाद। आफ्नो घरमा हिंसा भएपछि ननकुन्नी केही समय बहिनीकोमा बसिन्, केही समय माइतीमा बसिन्। श्रीमान आएर अब मिलेर बस्ने भनेकाले उनी फर्किएर जान्थिन्। तर, गत साउन ५ गते भने उनको मृत शरीर घरमा भेटियो। घरको दलिनमा झुन्डिएकी अवस्थामा उनलाई पाइएको थियो।
नेपालगञ्जबाट पैदल काठमाडौंसम्म आइपुगेकी सकिना तेली भन्छिन्, ‘असार ७ गते हिंसा भयो भन्दै उनी आएपछि हामीले श्रीमानसँग छलफल गरेर घर पठाएका थियौं। १५ दिनपछि पनि हिंसा भयो भन्दै आइन्। साउन ५ गते त उनी मृत भेटिइन्।’
तेली राष्ट्रिय महिला अधिकार मञ्च बाँकेकी सदस्य समेत हुन्। उनी थप्छिन्, ‘गत मंसिरमा बेपत्ता भएकी निर्मला कुर्मीलाई पनि प्रहरीले मृत्यु भएको भनिदियो। तर, आवश्यक अनुसन्धान गरेन्। हामी दुवैको मृत्युको अनुसन्धानको माग गर्दै यहाँ आएका हौं।’
दाइजो नदिएको भन्दै भिनाजुले आफ्नी दिदीलाई मारेको दाबी गर्छन्, भाइ माताप्रसाद। उनको परिवारलाई ‘रामकुमारले दाइजोमा मोटरसाइकल दिनू’ भनेका थिए। तर, परिवारले दाइजो दिन नसकेका कारण दिदीको हत्या भएको माताप्रसाद बताउँछन्। भन्छन्, ‘हामीलाई दाइजोमा मोटरसाइकल दिनु भनेका थिए। दिन नसकेपछि दिदीको हत्या गरिदियो।’
भाइ माताप्रसाद र तेलीसहित १४ जना नेपालगञ्जबाट दिनरात नभनी यात्रा गरेर काठमाडौं आइपुगेका छन्। यहाँ उनीहरुको 'न बस्ने छानोको टुंगो छ, न खाने ठाउँको।' तर, आफूले न्याय नपाउँदासम्म सबैतिरका ढोका ढकढक्याउने संकल्पसहित उनीहरु आएका छन्।
‘हामीले बाँकेमा प्रहरीदेखि जिल्ला अधिकारी सबैसँग अनुसन्धान गरिदिन माग गर्यौं,’ तेली भन्छिन्, ‘जिल्ला प्रहरी कार्यालयदेखि मुख्यमन्त्रीसम्म सबैतिर हामीले धायौं। तर, हाम्रो कुरा कसैले सुनेन्। हामी यहाँ न्याय खोज्न आएका छौं।’
धोबी मृत्यु हुँदा मुद्दा दर्ता गर्न लामो समयसम्म धर्ना बसेका थिए, उनीहरु। १९ दिनसम्म धर्ना बसेपछि मात्रै उनीहरुको कुरा प्रसाशनले सुनेको थियो। उजुरी सुनियो। पैदल यात्रा गरेर काठमाडौं आउन सुरु गरेपछि मात्रै आरोपितहरुलाई पक्राउ गरिएको तेली बताउँछिन्। भन्छिन्, ‘हामी यता आउन सुरु गरेपछि पहिले ननकुन्नीको श्रीमान र पछि जेठाजुलाई पक्राउ गरेको छ।’
तर, कुर्मी बेपत्ता भएको विषयमा भने प्रहरीले कुनै पनि अनुसन्धान नगरेको उनी बताउँछिन्।
२० दिन लामो पैदल यात्रा गरेर आएका उनीहरुको खुट्टाहरु चिरिएका छन्। ठेला नउठेका पैताला देख्न गाह्रो छ। तर, उनीहरुमा आफ्नो अधिकार र न्यायको लागि लड्ने अठोट भने उत्तिकै छ, जति हिजो यात्रा सुरु गर्दा थियो। समूहको प्रतिनिधित्व गरेकी रुबि खान भन्छिन्, ‘हामी थाकेका छौं। तर, रोकिदैंनौं।’

समूहले रिले अनसनदेखि र्यालीसम्म गर्ने तयारी गरिरहेको छ। राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रहरीका प्रमुख, मानव अधिकार आयोगका प्रमुखसम्मलाई भेटेर आवश्यक छानबिन गरेर न्याय दिन माग गर्ने बताउँछिन रुबि। ‘तपाईंहरुको लागि हाम्रो २० दिनको यात्रा सामान्य २० दिनजस्तो लाग्छ होला, तर यो यात्राको प्रत्येक सेकेण्ड हाम्रा लागि पीडाको यात्रा थियो,’ खान भन्छिन्, ‘हाम्रो देशमा महिला महामहिम राष्ट्रपति हुँदा महिलामाथि भएको हिंसा, हत्याको लागि न्याय माग्दै हामी आएका छौं। तर, उहाँहरु चैनको निन्द्रा सुत्नु भएको छ।’
आफूले गरेको पैदल यात्रामा देशकै राष्ट्रपति महिला हुँदा पनि कुनै किसिमको सम्बोधन नभएकोमा आफूलाई खिन्नता महसुस हुने खान बताउँछिन्। महिला भएकाले महिलाको पीडा बुझ्नुपर्नेमा राष्ट्रपति पनि मौन बसिदिँदा आफूलाई थप पीडा भएको उनी बताउँछिन्।
‘हामी न्यायका लागि यहाँ आएका हौं,’ रुबि भन्छिन्, ‘हाम्रो माग ठूलो छैन्। दुई हत्यामा रहेका अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गर्न र आवश्यक सजाय दिन भनेका हौं। सबैले मौन बसिदिनु भएको छ। तर, जस्तै अवस्था आएपनि हाम्रो यात्रा रोकिदैंन। हामी न्यायको लागि निरन्तर संघर्ष गर्छौ।’
उनीहरु काठमाडौं आउँदा पनि लुम्बिनीका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। तर, त्यहाँबाट पनि आवश्यक छानबिन भएन। समितिमा मात्रै सिमित भएको थियो।
स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म कतै पनि आफ्नो कुरा सुनुवाइ नुहँदा उनीहरु काठमाडौं आइपुगे। तर, के केन्द्र सरकारले उनीहरुको माग सुनिदिन्छ होला? रुबिलाई हामीले प्रश्न गर्यौं।
जवाफमा उनी भन्छिन्, ‘हाम्रो माग केन्द्र सरकारले नसुने कसले सुन्छ? हाम्रै कुरा सुन्न यहाँ बस्नु भएको छ उहाँहरु। हामीले न्याय मागेका हौं। केन्द्रमा पनि न्याय पाइएन् भने हामी अनसन बस्छौं। बरु, प्राण त्याग्छौं तर ,न्याय चाहन्छौं।’
चर्को घाममा तातेको सडकमा बसेका उनीहरुलाई प्रहरीले पटक पटक त्यहाँ नबस्न भनिरहेको थियो। सार्वजनिक स्थल भएकाले भेला हुन नमिल्ने भन्दै उनीहरुलाई माइतीघर वा भृकुटिमण्डपतर्फ जान निर्देशन दिइरहेको थियो प्रहरी। रुबि र उनको समूह दशरथ रंगशालाको गेटबाट उठेर छेवैमा रहेको पेट्रोल पम्पमा गएर बसे।
जाँदा जाँदै रुबिले भनिन्, ‘न्याय नपाएको पीडा त छँदै छ, यति लामो यात्रा पनि हामीले गरेका थिएनौं। न्यायको लागि पनि लड्नुपर्ने कस्तो देश हो? नेपालगञ्जबाट सिंहदरबारसम्म आएका छौं। यहाँ त कसो न्याय नपाइएला र।’
यहाँ बस्न नपाएपछि माइतीघर मण्डलमा गएर धर्ना बसेका उनीहरुलाई शुक्रबार त्यहाँबाट पनि धरपकड गरेर लखेटिएको छ, केहीलाई पक्राउ गरिएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।