दाङ– गढवा गाउँपालिकाको वडा नम्बर ५ गढवा बजारदेखि थोरै दक्षिणपूर्व कुमाल बस्ती छ। भालेको डाँकोसँगै माटोका भाँडाकुँडा बनाउन तम्सिन्छन् धनराज कुमाल।
एका बिहानै उठ्नु, माटो भिजाउनु र तयार भइसकेको माटोलाई चक्रमा राखेर आकार दिनु धनराजको दैनिकी नै हो। उनले यो पेशा पुर्खाबाट विर्ता पाएका हुन्। बाबु–बाजेले गर्दै आएको पेशालाई धनराजले पनि रोजीरोटीको माध्यम बनाए।
माटोका भाँडाकुँडा बनाएरै उनले १६ जनाको परिवार पालेका छन्। महिनामा कति कमाइ हुन्छ भन्ने हिसाब त धनराजले अहिलेसम्म राखेका छैनन्। तर, धेरथोर भएको आम्दानीले परिवारका लागि एकसरो लत्ताकपडा र दुई छाक खाना भने जुटाएका छन्।
उनले माटोका मट्का, ठेकी, गमला, खुत्रुके र घैंटाजस्ता समाग्री बनाउँदै आएका छन्। तयार भइसकेपछि मट्का २५० रुपैयाँसम्म, ठेकी १५० रुपैयाँ, गमला एक सय रुपैयाँ, खुत्रुके सानो ५० र ठूलो एक सय रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाइ छ।
1659169698.jpg)
‘हामीबाट लैजाँदा व्यापारीले सस्तोमा लैजान्छन्। यीनै सामग्री बजारमा गएर किन्न हो भने हामीबाट लिएको रकमभन्दा दोब्बर मूल्य पर्दछ’, उनी भन्छन्, ‘बजारभाउ खोजेर कहाँ पाउनु। यहि पनि बिकेन भने गलेर जान्छन्। त्यसैले पनि हामीले सस्तोमा बेच्ने गरेका छौं।’
उनको परिवारमा कुमालेको काम गर्ने उनी अन्तिम हुन् सायद। उनका भाइछोरा यो पेशाबाट निकै टाढा छन्। उनका भाईछोराहरु कोही मजदुरी गर्न भारत पुगेका छन् भने कोही अन्यत्र जिल्लामा। माटोका भाँडा बनाएरै गुजारा चल्नेबाहेक धेरै आम्दानी नहुने भएपछि नयाँ पुस्तामा पेशाप्रति वितृष्णा जागेको धनराज बताउँछन्।
एक दशकअघिसम्म धनराज बुबाको साथमा माटोका भाँडा बनाउँदा विभिन्न जिल्लामा चहार्थे। दाङको घोराही, तुलसीपुर, बाँकेको नेपालगन्ज, कैलाली र कञ्चनपुरसम्म पनि पुग्थे।
‘त्यसबेला माटोका भाँडा खुबै बिक्थे। तर, अहिले त्यसरी जाँदा कोही पनि खरिद गर्न आउँदैनन्। यही स्थानीय बजारकै लागि भए पनि घरमै बसेर थोरै बनाउने गरेको छु’, उनी भन्छन्।
धनराजको घरमा पुग्दा आँगनभरी माटोका भाँडाहरु असरल्ल राखिएका थिए। घरभित्र राख्ने ठाउँ नभएपछि बाहिरै राखिएको र पानीले सबै भिजाएर काम नलाग्ने बनाएको धनराजकी पत्नीले भनिन्। ‘अब यीनी बिक्री हुने अवस्थामा छैनन्। भित्र राख्ने ठाउँ नभएपछि बाहिर राखेका थियौं। तर, सबै पानीले भिजायो। सबै मिहेनत खेर गयो’, उनले भनिन्।
धनराज मात्रै होइनन्, यहाँका अधिकांश कुमालहरुको दैनिकी यही हो। जहाँ बाह्रै महिना माटोका भाँडा बनिरहेका हुन्छन्। करिब एक सयजति परिवार यहाँ बस्छन्। यहाँ बनाइएका माटाका भाँडाकुँडा दाङका मुख्य सहर घोराही, लमही, तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्युठान, नेपालगन्ज, कैलाली र कञ्चनपुरसम्म पुग्छन्।
तर, पछिल्लो समय बजारका प्लास्ष्टिकका भाँडाकुँडा प्रशस्तै पाइन थालेपछि भने कुमालको पेशा मात्रै संकटमा परेन, उनीहरुको आम्दानी पनि घट्यो। फलस्वरुप नयाँ पुस्ता भाँडा बनाउने पेशाप्रति लगाव राख्नै छाडे।
धनराजका छिमेकी चौकु कुमाल माटोका भाँडा बनाउनका दक्ष कालिगढ हुन्। उमेरले ४७ पुगेका उनले अहिलेसम्म माटोकै भाँडा बनाएर पाँच जनाको परिवार पालेका छन्। उनका एक छोरा र एक छोरीले स्नातक तह पास गरिसकेका छन्। अर्की छोरी भने कक्षा १२ को परीक्षा दिएर बसेकी छन्। यता आफूले बनाउने माटोका भाँडा बिक्न छाडेको र हुर्केका छोराछोरीले रोजगारी नपाएकोप्रति चौकु चिन्तित छन्।
1659169697.jpg)
‘अहिले जेनतन मैले मेरा बच्चा त पढाए। उतिबेला हामीले पढ्न पाएनौं। बुबाको संगतमै भाँडा बनाउन सिकेँ। बजारमा प्लास्टिकका भाँडा नआउँदासम्म राम्रै व्यापार हुन्थ्यो। तर, अहिले थोरै बनाएका भाँडा पनि बिक्दैनन्’, उनी भन्छन्।
लामो समय त उनले भक्तपुरमै भाँडा बनाएर बिताए। भक्तपुरको ठिमीमा रहेको कृष्ण आर्टस सेरामिल कम्पनीमा कालिगढको काम गरेको उनी बताउँछन्। ‘आफ्नै गाउँमा गएर केही गर्छु भनेर फर्किएँ। तर, यहाँ आएपछि सोचेजस्तो काम भएन’, उनी भन्छन्, ‘भाँडा बनाउन आवश्यक माटो र दाउरामै सामुदायिक वनले प्रतिबन्ध लगाइदिए। त्यसपछि त झन् दैनिकी चलाउनै समस्या भयो।’

केहीले त घरमसम्मै आएर पनि विभिन्न भाँडाकुँडा किन्ने गरेको चौकु बताउँछन्। दशैं तिहारको समयमा भने उनीहरुले बनाएका भाँडाकुँडाको व्यापार राम्रै हुन्छ। उमेर ढल्किसकेकाहरु भाँडाकुँडा बनाउनमै लागे पनि नयाँ पुस्ता भने भिन्न छ। उनीहरु पढलेखमा व्यस्त छन्।
‘हामीले पढ्न पाएनौं। तर, बालबच्चाले त पढ्न पाउनुपर्यो नि,’ उनी भन्छन्, ‘अब भाँडा बनाएर जिविका चल्दैन। नढेसम्म कतै काम पाउन पनि गाह्रो हुन्छ। यहि पेशाबाट आम्दानी नहुने भएपछि मैले गरेजस्तो दुःख बालबच्चाले गर्नु नपरोस भनेर उनीहरुलाई पढ्न लगाएँ।’
नयाँ पुस्ता पढलेखमा व्यस्त हुँदा खुसी भएका धनराज र चौकु पुर्खादेखि गर्दै आएको पेशा संकटमा पर्न लागेकोप्रति चिन्तित पनि छन्। पढलेख गरेर अन्य पेशा व्यवसाय अपनाउनु राम्रो भए पनि पुख्र्यौली पेशालाई कसले जोगाइदिन्छ भन्ने चिन्ता थपिएको धनराज बताउँछन्।
कुमाल समुदायको पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको माग छ। स्थानीय सरकारले योजना बनाएर भाँडा बनाउने पेशामा संलग्न हुन चाहनेलाई यहीबाट जिविका चलाउने आधार तयार पार्नुपर्ने चौकु बताउँछन्।

केही दिनअघि मात्र उनीहरुले गढवा गाउँपालिका वडा नम्बर ५ को कार्यालय र गाउँपालिकामा आफ्ना मागसहित ज्ञापनपत्र बुझाएका थिए। दशकौंदेखि माटोकै भाँडाकुँडा बनाएर जिविका चलाउँदै आएका कुमाल समुदाय र उनीहरुको पेशाको संरक्षणका लागि आफू तयार भएको वडा नम्बर पाँचका अध्यक्ष लेखबहादुर कुमालले बताए।
‘पुर्खादेखि अंगाल्दै आएको पेशाप्रति सरकार गम्भीर बन्नुपर्छ, कुनै समुदायले हामीले हाम्रो पहिचान, संस्कृति, रितिरिवाज जोगाउनुपर्छ भनेर कुरा उठाउँछ भने त्यसलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व हो। कसरी हुन्छ हामी त्यस मागलाई सम्बोधन गर्ने पक्षमै छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।