काठमाडौं– सोमबार साँझ मैतिदेवीदेखि सेतोपुलतर्फ जाने सडकको दायाँतर्फ फुटपाथमा तरकारी व्यापारीको निकै ठूलो मेला लागेको थियो। कसैले फुटपाथ पूरै ओगट्ने गरी तरकारी राखेर बेचिरहेका थिए।
कसैले थोरै मान्छे हिँड्न बाटो राखेर बेच्दै गरेको देखिन्थे। ‘काउली सस्तो– सस्तो’ चर्को आवाजमा कराउँदै थिए। कोही तरकारी किनिरहेका थिए त कोही फुटपाथमा ठेलमठेल गर्दै हिँडिरहेका थिए।
यहाँ दैनिकजसो यस्तै भीड हुन्छ। धेरै पहिलेदेखि नै फुटपाथमा तरकारी व्यापार भइरहेको छ। यहाँ वरिपरि कतै व्यवस्थित तरकारी बजार छैनन्। ज्ञानेश्वर, रातोपुल, घट्टेकुलोदेखि ग्राहकहरु तरकारी यहिँ आइपुग्छन्।
फुटपाथको एकछेउमा एकमिटर जति लामो प्लास्टिक विच्छ्याएर हरियो भटमास, टमाटर र थोरै कागती राखिएको थियो। क्यारेट घोप्ट्याइएको थियो। क्यारेटमाथि रायोको साग, फर्सिको मुन्टा, कर्कलो राखेर एउटी महिला बेचिरहेकी थिइन्।
ती हुन् काभ्रे पनौतीकी ४७ वर्षीय तारादेवी कुँवर। उनी विगत पाँच वर्षदेखि यही फुटपाथमा तरकारी बेच्दै आएकी छन्। बिहान सबेरै उठेर तरकारी लिन तिनकुने लाग्छिन्। तीनकुनेको तरकारी बजारबाट होलसेल मूल्यमा तरकारी ल्याउँछिन्। बिहान ६ बजे आएर महानगरका प्रहरी नआएका बेला दाउ छोेप्छिन्।
साँझ पनि ६ बजे महानगर प्रहरीसँग भागदौड गर्दै बेच्छिन्। ‘पहिला धेरै बिक्थ्यो। तरकारी बेचेर नै दिनमा १५ सयदेखि दुई हजारसम्म कमाई गर्थेँ। अहिले एकैछिनमा नगरपालिकाको प्रहरी आउँछ। धेरै समय बेच्न दिँदैन। त्यति धेरै कमाइ नै छैन,’ उनले भनिन्।
तारा एक्लै छैनन्। घरमा उनकी बुढी आमा पनि छन्। फुटपाथमा तरकारी नबेचे उनको छाक टर्दैन। ‘जीविकोपार्जन गर्ने अरु कुनै बाटो छैन। तरकारी नबेचे मैले आमालाई भोको राख्न पर्छ’, उनले भनिन्।
उनी थप्छिन्, ‘अन्त ठाउँ नभएर यहाँ फुटपाथमा बेचिरहेकी छु। व्यवस्थित तरकारी बजारको लागि स्टलहरु बन्दैछन्। तर, त्यहाँ हामीलाई लास्टै महंगो छ। एउटा स्टलको भाडा महिनामा सात हजार बुझाउनुपर्छ। स्टल सानो छ। त्यसमा तीन आइटम पनि अट्छ कि अट्दैन, त्यहि पनि पहिला ३० हजार तिरेर किन्नु पर्ने रे! स्टलमा राखेपछि अरु नयाँ फुटपाथमा आएर बेच्न थाले भने फेरि व्यापार नभएर हामी फुटपाथमै आउन पर्ने पो हो कि।’
अहिले महानगरले फुटपाथमा तरकारी बेच्न नदिने भनेको छ। त्यहाँको फुटपाथलाई व्यवस्थित गर्न तरकारी बजार व्यक्तिगत रुपमा स्टल खोलि भाडामा लगाइएका छन्। ताराले पनि त्यहि फुटपाथ नजिकै खुल्न लागेको तरकारी बजारभित्र स्टल लिएकी छन्। आउँदो भदौ एक गतेबाट स्टलमा राखेर बेच्ने उनले बताइन्।
अर्का व्यापारी ४६ वर्षीया सिन्धुपाल्चोककी ईश्वरी खत्री ढुङ्गेल हुन्। उनी विगत १० वर्षदेखि फुटपाथमा तरकारी बेच्दै आएकी छन्। उनले तिनकुनेबाट होलसेल मूल्यमा तरकारी किनेर ल्याउँछिन्। बिहान ६ बजे देखि ८ बजेसम्म तरकारी बेच्छिन्।
‘आफूलाई अलिकति फाइदा राखेर बेच्छु। दिनमा सात सयदेखि एक हजारसम्म कमाइ हुन्छ। दुईजना छोरालाई पढाउनै पर्यो। कोठा भाडा महंगो छ श्रीमानको कमाइ पनि धेरै छैन,’ उनले भनिन्।
दिउँसो पुतलीसडकमा त्रिवेणी कम्प्लेक्सकमा चिया पकाउने काम गर्छिन्। चिया पकाएबापत उनले मासिक पन्ध्र हजार कमाइ गर्छिन्। साँझ ६ बजेदेखि तरकारी बेच्छिन्।
ईश्वरीका दुवै छोरा स्नातक तहमा पढ्दैछन्। श्रीमान् त्यहि फुटपाथ अगाडि फर्निचर पसलमा काम गर्छन्। ‘नगरपालिकाले एक्छिन् राख्न दिँदैन। जतिखेर पनि लखेटिहाल्छ। नगरपालिका प्रहरी आए भने त्यहि श्रीमानकोे अफिसमा लगेर लुकाउने गर्छु,’ उनले भनिन्।,
दोलखाकी एलिना खत्री पनि एक वर्ष पहिलादेखि मैतीदेवीको फुटपाथमा तरकारी बेच्न थालेकी हुन्। उनले पहला अरुको घरको काम गर्थिन्। कोरोनाको दोस्रो लहरको बेला उनी कामबाट निकालिइन्। गरिखाने बाटो हरायो। त्यसपछि उनले फुटपाथ तरकारी व्यापार गर्न थालेको बताइन्।
एलिना एक्लै छैनन्। उनका श्रीमान् र तीन जना साना छोरी पनि छन्। छोरीलाई स्कुल हालेकी छन्। यहि फुटपाथको व्यापारले उनको घर धानेको छ।
‘नगरपलिकाले बेला–बेला लखेटिरहन्छ। अब त यहाँ राख्न पनि नदिने रे। स्टल लिनुपर्ने भन्छन्। ३० हजार तिरेर म त लिन सक्दिनँ। तीस हजार भाको भए त सटर लिन्थेँ। श्रीमान्को पनि केहि काम छैन। तरकारी बेचेर दिनमा १२ देखि १५ सयसम्म कमाइ हुन्छ। यहि तरकारीले घर व्यवहार धानेको छ,’ उनले भनिन्।
डडेल्धुराकी भावना पाण्डे विगत ७ वर्षदेखि मैतीदेवीको फुटपाथमा तरकारी किन्दै आएकी छन्। उनी घट्टेकुलोमा डेरा गरेर बस्छिन्। उनी भन्छिन्, ‘घट्टेकुलोतिर तरकारी पसलहरु छैनन्। किराना पसलमा पाइने तरकारी सडेका हुन्छन्। आफूलाई किन्न मन लागेका तरकारी रोजेर किन्न पाइँदैन। यहाँ रोजीरोजी पाइँन्छ त्यसैले आउँछु।’
रातोपुल बस्दै आएकी तारा क्षेत्री तरकारी किन्न रातो पुलदेखि हिँडेरै तरकारी किन्न मैतिदेवी आइपुग्छिन्। उनको नजिकमा कुनै तरकारी बजार नभएकाले यहाँसम्म आउन परेको उनी बताउँछिन्।
यस्तै रामेछापकी मैयाँ खड्का ३० वर्षदेखिको अनुभव सुनाउँछिन्। ‘यहाँ बसेको पनि ३० वर्ष भयो, तरकारी किनेको पनि उत्ति नै भो। अरु तरकारी बजार नै छैन। खाली बाहिर राखेर बेच्छन्। अहिले नगरपालिकाले लखेट्ने भएर मात्र, नभए पाइला टेक्ने ठाउँ हुने थिएन।’
मैतीदेवीकी ६४ वर्षीय मीना अधिकारी भन्छिन्, ‘यहाँ फुटपाथमा व्यापार गर्नेलाई सरकारले व्यवस्थित स्थान देखाइदिए हुने। बाटोमा व्यापार राख्नाले हिँड्नलाई निकै गाह्रो भाको छ। हामीलाई त यस्तो गाह्रो छ। झन् बुढाबुढी मान्छेलाई हिँड्न कति गाह्रो भाको होला?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।