काठमाडाै– साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेकाे छ।
सेयर बजार आज अन्तिम अवस्थामा आएर ०.१४ अंकले घट्दै २६८३.८६ बिन्दुमा पुगेर बन्द भएकाे हाे।
सेयर बजार झिनो अंकले गिरावट भएसँगै कारोबार रकम खुम्चिएको छ। साेमबार कुल ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्ब ५७ कराेडकाे मात्रै सेयर कारोबार भएको हो।
फाइनान्स समूह सबैभन्दा धेरै १.२५ प्रतिशत बढ्यो। त्यस्तै विकास बैंक ०.४१, हाइड्रोपावर ०.५९, लगानी ०.०८, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.३८ प्रतिशत बढे।
बैंकिङ ०.३७, होटल तथा पर्यटन ०.०१, अन्य ०.७७, निर्जीवन बीमा ०.३७ प्रतिशत घटे। जीवन बीमा स्थिर रह्यो।
आज बुटवल पावरको मूल्य सबैभन्दा धेरै ८.२१ प्रतिशत बढ्यो। पिपुल्स हाइड्रोपावरको ५.९६, रिभर फल्स पावरको ४.६९, ग्रिन डेभलपमेन्ट बैंकको ४.६२ तथा सयपत्री हाइड्रोपावरको ४.०७ प्रतिशत मूल्य बढ्यो।
रसुवागढी हाइड्रोपावरको मूल्य आज सबैभन्दा धेरै ५.०८ प्रतिशत घट्यो। मंगलबार बिहानको बाढीका कारण सो कम्पनीले बनाएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना क्षति भई विद्युत् आपूर्ति बन्द भएपछि सेयर मूल्यमा नकारात्मक प्रभाव परेको हो।
त्यस्तै भूगोल इनर्जीको ३.९२ तथा माथिल्लो मैलुङखोलाको ३.१४ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक संस्थापक, राधि विद्युत् क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।